अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

थ्याङ्कसगिभिङ्गको इतिहास

राजेश कोइराला २०७९ मंसिर ८ गते ९:४६ मा प्रकाशित

नोभेम्बरको चौथो बिहीबार अमेरिकामा थ्याङ्कसगिभिङ्ग मनाइन्छ । सन् १८६३ देखि औपचारिक पर्व बनेको थ्याङ्कसगिभिङ्ग सार्वजनिक बिदाको दिन (यस वर्ष नोभेम्बर २४) हो । थ्याङ्कसगिभिङ्ग दुई ठुला पर्वहरू- क्रिसमस र नयाँ वर्षकै हाराहारीको पर्व हो । यो पर्व परिवार, इष्टमित्र र साथीभाइको भेटघाट गर्ने पर्व पनि हो । यो पर्वमा टर्की चराको मासु खाने भएकाले यसको बढी चर्चा हुने गर्छ ।

कसरी मनाउन थालियो ?
पहिलो थ्याङ्कसगिभिङ्ग सन् १६२१ मा मनाइएको इतिहास छ । अमेरिकामा यहाँका रैथाने अमेरिकीहरू मात्र बस्थे । सन् १६२१ अघि युरोपबाट केही मानिस यहाँ आए । ती आगन्तुकले, ‘आफूलाई नयाँ सुरक्षित संसारमा ल्याइपुर्‍याएकोमा ईश्वरप्रति धन्यवाद-ज्ञापन गर्न’ पहिलो थ्याङ्कसगिभिङ्ग ३ दिन मनाइयो ।

पहिलो थ्याङ्कसगिभिङ्गमा ५३ आगन्तुक र ९० रैथाने अमेरिकी थिए । उनीहरूले आफूलाई पुग्ने खाना जुटाएका थिए । खानामा विभिन्न जातका माछा, सिपी भएको जल-जन्तु (घुँगी, झिँगेमाछा आदि), जंगली चरा (हाँस, टर्की आदि), मृगको मासु, फलफूल, तरकारी (केराउ, फर्सी, सखरखण्ड, प्याज), गहुँ, जौँ, मकै आदि थियो ।

उनीहरू किन आए ?
युरोपेलीहरू धार्मिक स्वतन्त्रताको खोजीमा त्यहाँबाट हिँडेका थिए । पहिले उनीहरू निदरल्यान्ड्स गए । अनि आफ्नो बस्ती बसाउन उनीहरू सन् १६२० मा उत्तर अमेरिका आए । सामुद्रिक-यात्रामा धेरैले ज्यान गुमाए । उनीहरू आएको त्यो ठाउँ म्यासाच्युसेट्स राज्यको प्लिमिथका नामले चिनिन्छ ।

उनीहरूको सामुद्रिक-यात्रा कठिन थियो । अमेरिका आइपुगेको पहिलो महिना पनि उत्तिकै कठिन रह्यो । करिब एक सय युरोपेली शरद ऋतु सकिएर जाडो सुरु हुने बेलामा यहाँ आइपुगेका थिए । जाडो सुरु भयो, आधा मानिसको ज्यान चिसोले लग्यो ।

जब वसन्त ऋतु आयो, उनीहरूले बालीनाली लगाए । स्क्वान्टो नामका एक रैथाने अमेरिकीले उनीहरूलाई सहायता गरे । गर्मी सकियो, मकै र जौँ राम्ररी उब्जियो । जाडोलाई पुग्ने खाना भयो । उनीहरू खुसी भएर थ्याङ्कसगिभिङ्ग मनाउने निर्णय गरे ।

उनीहरूका अगुवा विलियम ब्राडफोर्डले पर्वको मिति तय गरे । नजिकै बस्ने रैथाने अमेरिकीहरूलाई पनि बोलाए ।

युरोपबाट मान्छे आउँदै गर्दा बस्ती बाक्लिदै गयो र थ्याङ्कसगिभिङले व्यापकता भयो ।

पर्वलाई औपचारिकता
त्यतिअघि देखि मनाएको भए पनि यो पर्व औपचारिक पर्व थिएन । सन् १८२० मा सराप जोसेफा हेल नामकी लेखिकाले यो पर्वलाई औपचारिक पर्व बनाउन आवाज उठाइन् । सन् १८६३ मा अमेरिकामा उत्तर र दक्षिणका राज्यहरूबिच गृहयुद्ध चलिरहेको थियो । राष्ट्रपति अब्राहम लिङ्कनले यसलाई औपचारिक पर्वका रूपमा राष्ट्रिय दिवस (त्यस बेला नोभेम्बर २६) घोषणा गर्नुभयो । त्यसपछि धेरै राष्ट्रपतिका पालासम्म यस पर्वलाई नोभेम्बरको अन्तिम बिहीबार मनाइयो ।

सन् १९३९ मा राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजबेल्टले यो पर्व पाँचौँ बिहीबारको सट्टा चौथो बिहीबार मनाउने घोषणा गर्नुभयो । त्यसपछि यो चौथो बिहीबार नै कायम छ ।

(अमेरिकामा निस्कने नेपाली न्युज लेटर ‘अक्षरिका’ को ४० औँ अंकबाट, सौजन्य: राजेश कोइराला: www.koirala.com.np)