अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

हरिवंश आचार्य सानो छँदा

राजेश कोइराला २०७४ पुष २ गते २०:२३ मा प्रकाशित

पातका ती लुगा
हरिवंश आचार्य चर्चित कलाकार हुनुहुन्छ । उहाँ २०३१ सालदेखि हास्यव्यङ्ग्य कलाकार, गायक, नायक आदिका रूपमा देखिनुभएको छ । आचार्यको जन्म २०१४ साल कात्तिक २७ गते काठमाडौंको गैरीधारामा भएको हो । पाँच दिदी जन्मेपछि घरमा ‘हरिवंश पुराण’ लगाएर जन्मिएका आचार्यको नाम त्यही पुराणकै नामबाट लिएको हो । तर उहाँको न्वारानको नाम ‘छत्रनाथ’ हो । सुरुमा रंगमञ्चमा मात्र देखिएका आचार्य २०३८ सालपछि ‘मह’ जोडीका रूपमा मदनकृष्ण श्रेष्ठसँग रंगमञ्च, टेलिभिजन, ठूलो र सानो पर्दाका चलचित्रमा उदाउनुभयो । ‘पन्ध्रगते’, ‘दसैँ’, ‘वनपाले’, ‘कान्तिपुर’, ‘लक्ष्मी’, ‘सुर-बेसुर’ जस्ता २५ टेलिचलचित्रमा एवं ‘यमलोक’, ‘विज्ञापन’, ‘दुई सय पाँच’, ‘बोसे आन्द्रेई भुँडी’ लगायत ३२ नाटकको लेखन, निर्देशन र अभियन गर्नुभएको छ । ‘बलिदान’, ‘के घर के डेरा’, ‘लोभी पापी’, ‘सिन्दूर’, ‘फिलिम’ आदि १५ चलचित्रमा उहाँले अभिनय गर्नुभएको छ । उहाँका दुई छोरा : त्रिलोक र मोहित छन् । यसपटक आचार्य सानो छँदाका केही सम्झना:

मेरो बुवाले ५३ वर्षको हुँदा १३ वर्षकी बालिकासँग विवाह गर्नुभएको थियो । यसबेला भए सानी नानीसँग बिहे गरेको भनी प्रहरीले समातेर लान्थ्यो । १८/२० नभई छोरीको बिहे गर्नु हुँदैन । हामीले पनि बुझ्ने कुरा हो । बुवा ७३ वर्षको हुँदा म जन्मेको हुँ । बुवा पण्डित भएकाले मलाई पनि संस्कृत पढाएर पण्डित बनाउने इच्छा थियो । पण्डित नै विद्वान् हुन् भन्ने मान्यता थियो । म ६ वर्षको हुँदा बुवाको निधन भयो । बुवाकै इच्छाअनुसार मलाई आमाले ठमेलस्थित वेद वेदाङ्ग विद्यालयमा भर्ना गरिदिनुभयो । गैरीधाराबाट सानो मान्छे एक घन्टासमेत लगाएर म पढ्न पुग्थें । म एक्लै हिँड्थे । मोटर त थिएनन् नै । ठमेल ४ वर्ष धाएपछि म दरबार हाइस्कुलमा पढ्न थालें । त्यहाँ पनि संस्कृत नै पढ्नुपर्थ्यो ।

मेरा साथीहरू अंग्रेजी स्कुल जान्थे । मलाई पनि अंग्रेजी पढ्ने रहर थियो । टुपी पाल्नुपर्थ्यो । मलाई भने टुप्पी नराख्न र बंगाली कट कपाल काट्न मन लाग्थ्यो । सधैं टोपी लगाएर हिँड्नुपर्थ्यो । सबै कुरा मेरो इच्छाअनुसार थिएनन् । घरमा गोलभेडा, लसुन र प्याज खानु हुन्न भन्ने मान्यता थियो ।

बिहान भात खानुअघि चण्डीको किताब पूरै पढ्नुपर्थ्यो । किताब मोटो थियो । फुच्चे केटाका निम्ति त्यो कठिन थियो । मैले एक एक गर्दै बीचका पाना च्यात्दै गएँ । किताब निकै पातलो भयो । पछि त आमाले थाहा पाउनुभयो । २/३ थप्पड लगाउनुभयो ।संस्कृत पढ्दा माधव भन्ने साथी थिए । एउटा घटना छ । माधवको संगतले गर्दा म चकचक गर्न जान्ने भएको थियो । त्यसबेला पाँच पैसा भर्खर निस्केको थियो । खबटा घोटेर त्यही पाँच पैसाको आकारको बनाउँथ्यो । चुरोटको बट्टाभित्रको टल्कने कागजमुनि सक्कली पैसा राखेर रगट्दा पैसाको छाप बस्थ्यो । त्यो छापपट्टि राखेर खबटा बेर्थ्यो । हेर्दा ठ्याक्कै पाँच पैसा बन्थ्यो । पसलमा गयो । त्यो नक्कली पैसा हातमा नदिएर कन्तुरमा फ्याँकिदिंदै भन्यो, ‘ए साहुनी पाँच पैसाको पुष्टकारी दिनु त ।’ साहुनीलाई यसरी ठगेर धेरै कुरा किन्ने गर्थ्यो । त्यस्तै बाटामा हिँड्दा नचिनेको मानिसलाई पनि ‘के छ ? ठीक छ ?’ भन्थ्यो । ती मान्छेले, ‘बाबुलाई त मैले चिनिनँ’ भन्थे । माधव, ‘पछि चिन्नुहुन्छ’, भनेर गफ गर्थ्यो ।

म ११ वर्षको भएपछि आमा पनि बित्नुभयो । आमा बितेका बेला नातागोताका मान्छे आउँथे । सान्त्वना दिन्थे । माया गरेकाले रमाइलो लाग्थ्यो । १३ दिन भएपछि मान्छे आउन कम भयो । शून्य लाग्दै गयो । त्यसपछि मात्र आमा नभएको महसुस भयो । अनि म आमा सम्झेर रुन थालें । दिदीहरूले आमाको जस्तो माया दिनुभयो । मेरा दिदीहरूमा विन्दु अधिकारी, जानुदेवी अर्याल, सप्तरूपा शर्मा, गीता ढकाल र गायत्री भूर्तेल हुनुहुन्थ्यो । म र विन्दु दिदीको उमेर डेढ वर्षमात्र फरक थियो । दिदी जानुदेवी पनि मेरो सहयोगी हुनुभयो । साहिँली सानिमा कमलालक्ष्मी ढकालले धेरै भरथेग गर्नुभयो । हेरविचार गर्नुभयो ।

आमाको निधनपछि म बढी स्वतन्त्र भएँ । मेरो अंग्रेजी पढ्ने इच्छा पूरा हुने भो जस्तो लाग्यो । म पद्मोदय स्कुलमा कक्षा ५ मा पढ्न थालें । आफैं गएर भर्ना भएँ । वर्षभरिको ‘फी’ पनि पसलमा बाँकी राखेजस्तो राख्न मिल्थ्यो । उधारोमा पढें । पास भएँ । स्कुल नै छाडें । शान्ति विद्यागृह गएँ । सरहरूले के-के सोधेर कक्षा ६ मा पढ्न मिल्छ भन्नुभयो । त्यहाँ पनि ‘फी’ नतिरी उधारोमा पढें । कक्षा ६ मा पास भएँ । पद्मोदयका साथीहरूको सम्झना आयो । कक्षा ७ देखि पद्मोदयमा नै पढें । २०३२ सालमा पद्मोदयबाट एसएलसी दिएँ । २०३५ मा थर्ड डिभिजनमा पास भएँ । पद्मोदयमा पढ्दा नवराज पौडेल, जनार्दन, जयसिंह शाह, प्रदीप जोशी, सुशील अधिकारी, राजेन्द्र अधिकारी मेरा साथी थिए । पढ्ने र नपढ्नेको ‘ग्रुप’ थियो । म, जनार्दन, जयसिंह, प्रदीपचाहिँ नपढ्ने अनि सुशील र राजेन्द्रचाहिँ पढ्ने थिए ।

मचाहिँ दुवैतिर मिल्थें । पद्मोदय पढ्दा चकचके भएँ । स्कुलबाट भाग्थें । कक्षामा जान्नथें । एकदिन हेडसर ईश्वरराज अर्यालले २/३ थप्पड हानेर थुनिदिनुभयो । मलाई थुनेको कोठामा थोत्रा डेस्क, बेन्च, कुर्सी थिए । स्टोरजस्तो थियो । त्यो दोस्रो तलामा थियो । मचाहिँ पाइप समात्दै तल उत्रेर भागें । फिल्ममा त्यसरी भागेको देखेको थिएँ । त्यसपछि मैले पनि सरलाई पिट्छु भन्ने सोचें । म त्यसबेला १४/१५ वर्षको थिएँ । उहाँ पनि गैरीधारा बस्नुहुन्थ्यो । उहाँको सधैंको रुटिन मलाई थाहा थियो । उहाँ घरबाट होन्डा मोटरसाइकलमा निस्कनुहुन्थ्यो । नजिकैको गणेशस्थानमा लगेर रोक्नुहुन्थ्यो । देवतालाई ढोगेर स्कुलतिर जानुहुन्थ्यो । म भने भोलिपल्ट नै सर त्यहाँ आउने बेलामा गणेशको मूर्तिपछाडि लुकें । ढोग्ने बेलामा आक्रमण गर्छु भन्ने सोचें । मुटु त खुब काम्यो । बाहिर निस्केला झैं गर्योक । बालुवामा खुट्टा उचालेको मात्र के थियो, खोस्याक्क गरेको आवाज आयो । सरले पुलुक्क हेर्नुभयो । ‘के गर्छस् ?’ भन्नुभयो । मैले भनें, ‘सरले मलाई हिजो कुट्नुभयो नि ।’ उहाँले, ‘हिजोमात्र के ? आज पनि कुट्छु,’ भन्दै दुई थप्पड लाएर हिँड्नुभयो ।

मैले गीत गाउन थालेको धेरै पछि हो । तर गैरीधारामा हुँदा म गाग्रोमा मुख राखेर आवाज भित्र पार्दै गीत गाउँथें । मुख छिराएर गाउँदा मेरो स्वर चर्को भएको हो । त्यसबेला नारायणगोपाल, बच्चु कैलाश, पुष्प नेपाली, कुमार बस्नेतका गीत चर्चित थिए । मैले ‘उकाली ज्यानको चिप्लेटी ढुंगा…’, ‘भो भो नरोउ जूनेली चरी…’ खुब गाएको छु । घरमा रेडियो थियो । बिहान खोलेको रेडियो रातिमात्र बन्द हुन्थ्यो । पहिलेको पुरानो रेडियोपछि एक/डेढ सयमा अर्को रेडियो किनेको थियो । साना ब्याट्री धेरै टिक्दैनन् भनेर काठको बाकस बनाएर ठूला ब्याट्री छुट्टै राखेर बजाइन्थ्यो ।

उसबेला पिङ त त्यति देखिएन । मचाहिँ गुच्चा खुब खेल्थें । दिदीका एक जोर चप्पल थिए । चप्पलको पैतालातिर प्वाल थिए । म त्यही चप्पल लाएर जान्थें । गुच्चा खेलेको ठाउँमा गएर चप्पलले टेक्थें । गुच्चा अड्कन्थ्यो । ३/४ वटै हुन्थ्यो । सबै गुच्चा हरायो भनेर कराउँथे । म घर आएर सिन्काले कोट्याएर गुच्चा निकाल्थें । यसरी झेली गरेर मैले हर्लिक्स बोतलका ३/४ बोतल गुच्चा बटुलेको थिएँ । एक रुपैयाँमा १५ वटासम्म बेच्थें ।

गैरीधारामा पर्खाल अग्लो थियो । म १०/११ वर्षको थिएँ । एकपटक पर्खालमुनि साँढे बसेको थियो । मैले साँढेको ढाडमा हामफाल्ने विचार गरें । हामफालें । साँढे उफ्र्यो । मैले घाँटी समातें । छाड्दै छाडिनँ । साँढे थाक्यो । टोलका सबैले देखे । सबैले गाली गरे । धेरै बेरपछि साँढे थाकेछ । चुप लाग्यो । म उत्रेर भागें ।

गैरीधारामा मासु किन्न पाइन्नथ्यो । मासु किन्न नक्साल पुगिन्थ्यो । ६० पैसा र पछिपछि तीन सुका पाउ मासु पाइन्थ्यो । घरमा मासु ल्याएपछि त्यसको वास्नाले तान्थ्यो । भान्सामै बस्यो । वास्ना सुँघ्यो ।

आमा बितेपछि अलि अप्ठ्यारोमा पर्दै गएँ । गैरीधारामा सगोलको घर थियो । बेच्नुपर्योो । म त्यसबेला १७/१८ वर्षको थिएँ । एकजनाले मलाई जग्गा/घर दिन्छु भनेर ५९ हजार रुपैयाँ लग्यो । उसले केही दिएन । मुद्दा पर्योु । म र विन्दु दिदी भने त्यही झगडियाका घर नक्सालमा गएर बस्यौं । एघार वर्ष मुद्दा धाएँ । बुवाआमा नभएको ठिटोलाई हेपेको बल्ल मैले थाहा पाएँ ।

हाम्रो पुर्ख्यौली थलो काभ्रेपलाञ्चोकको शंखु हो । त्यहाँ हाम्रो जग्गा थियो । अहिले पनि छ । घरवारविहीन भए पनि त्यहीँको चामल, गहुँ ल्याएर खायौं । त्यसले ठूलो भरोसा भयो ।

अधिकारीले मलाई जागिर दिलाइदिनुभयो । म रत्नराज्य स्कुलमा एकाउन्टेन्ट भएँ । महिनाको १ सय ३५ रुपैयाँ तलब पाउन थालें । यो २०३२ को कुरा हो । विन्दु दिदी टंगाल स्कुलमा पढाउनुहुन्थ्यो । उहाँको तलब १ सय ७५ रुपैयाँ थियो । मचाहिँ घर खर्च भनेर १ सय रुपैयाँ दिदीलाई दिन्थें । ३५ रुपैयाँ आफैं खर्च गर्थें । रत्नराज्यमा एक वर्ष काम गरें । दिउँसो रत्नराज्यमा काम गरेर साँझ भैरवबहादुर थापाको भैरव नृत्य दलमा पुग्थें । मलाई पनि नृत्य गर्ने इच्छा थियो । उक्त दलमा जैनेन्द्र लामा, खेलबहादुर लामा र कृष्णबहादुर लामा हुनुहुन्थ्यो । उहाँहरूले नाच्न लानुभयो । म सार्हैछ दुब्लो थिएँ । नाच्न सुहाउँदैन भनेर मलाई झाँक्री नृत्यमा बिरामी र पद्मसम्भव नृत्यमा लाभा फुक्ने काम दिइयो । त्यहाँ पैसा पाइँदैनथ्यो । दलमा काम गर्न पाउनु नै ठूलो कुरा थियो ।

नक्साल बस्दाको कुरा हो । नाटककार जितेन्द्र महत ‘अभिलाषी’ सधैं नक्सालमा हिँड्नुहुन्थ्यो । उहाँलाई भेटेर नाटकमा खेलाउन आग्रह गरें । उहाँले नाचघर लानुभयो । त्यहाँ मैले नाटक खेल्न थालेँ । त्यहाँ मलाई तलब १ सय ७५ रुपैयाँ दिन थालियो । नाचघरमा जान थालेपछि भैरव दल छाडेँ । नाचघरमा राजारानी र राजपरिवारका सदस्य नाटक हेर्न आउँथे । नाचघरमा मैले ‘अमरसिंह’ नाटकमा गोली लागेको अभिनय गरेँ । राजाका सचिव नारायणप्रसाद श्रेष्ठले नाचघरका मुख्य प्रबन्धक इन्द्रप्रसाद काफ्लेलाई, ‘यो केटो को हो ? निकै राम्रो अभिनय गर्दो रहेछ,’ भन्नुभएछ । मुख्य प्रबन्धक काफ्लेले मेरो तलबमा एक सय थपिदिनुभयो । त्यसपछि ‘हाम्रो पनि कथा छ’ भन्ने नाटकमा हाँस्यपात्र बने । मेरो अभिनय रानी ऐश्वर्यलाई खुब हाँस उठेछ । यो देखेर मुख्य प्रबन्धक काफ्लेले मेरो तलबमा फेरि एक सय थपिदिनुभयो । तलब ३ सय ७५ पुग्यो ।

नक्सालमा बस्दा फुटबलको मज्जा अर्कै थियो । सानो गौचरणमा एकपटक चावहिल र नक्सालको फुटबल भयो । हामीले हार्यौं । चावहिलका केटाहरूलाई कुटेर खेदायौं । उनीहरूले ख्याल गरिरहेका रहेछन् । केही समयपछि चावहिल र नक्सालबीच भत्क्यापुलमा हामी पौडी खेल्न गयौं । चावहिलका केटाले हामीलाई देखे । पिट्न त पिटेनन् । लुगा सबै खोलामा फालिदिए । हामी नाङ्गै भयौं । साँझ परुन्जेल लुक्यौं । अँध्यारो भएपछि कर्कलोको पातले शरीर ढाकेर साथीका घर पुग्यौं । सुरुवाल मागेर लगायौं र घर गयौं ।

नक्सालमा बस्दा मैले मुद्दा खेपें । ती दिन दुःखका थिए । लक्ष्मीप्रसाद अधिकारी, जितेन्द्र महत ‘अभिलाषी’ जस्ता ठूलाको सहयोगमा काम पाएँ । अनि संघर्ष गरे । ती दिनले जीवन सार्थक बन्यो ।

(२०६४ मंसिर १४ मा कान्तिपुर दैनिकको बालकोसेली कोपिलामा प्रकाशित)