अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

टेबुल महिमा

राजेश कोइराला २०७५ भदौ ४ गते २२:३८ मा प्रकाशित

२०५२ सालमा दाजु सहयोग पोखरेल (सानिमाको छोरा) ले, ”मेरा एक जना साथी छन् । उनी सामान्यज्ञानको पत्रिका निकाल्न चाहन्छन्,” भन्नुभयो । म नेपाल वातावरण पत्रकार समूहबाट तालिम लिएको काँचै अवस्थाको पत्रकार थिएँ । त्यहाँ मैले आधा दर्जन तालिम लिएको थिएँ । ‘वातावरण’ रेडियो कार्यक्रम र ‘आँखी-झ्याल’ भिडियो-पत्रिकामा थोरै काम गरेको थिएँ । हामीलाई ‘रेडियो सगरमाथा’ खोल्ने भनेर तयार पारिएको थियो । ‘रेडियो सगरमाथा’ खुल्न ढिलो भएपछि यताउता लागेका धेरैजसोमध्ये म पनि हुँ ।

सहयोग दाजुको आग्रहमा मेरो भेट कवि अर्जुनप्रसाद पराजुलीसँग भयो । अर्जुनजी, म र एक जना सरकारी जागिरे मित्र द्वारिकाप्रसाद ढकाल (धादिङ, पछि काठमाडौँ, उहाँको निधन भइसक्यो) मिलेर एउटा पत्रिका ‘विश्वज्ञान मञ्च’ निकाल्यौँ । म उक्त पत्रिकाको सम्पादक थिएँ । एउटा कार्यालयको खाँचो थियो, अनि एउटा टेबुलको । बागबजारको कन्या क्याम्पसको सामुन्ने ‘पायोनियर ल फर्म’ को एउटा कोठा ‘विश्वज्ञान मञ्च’ को भयो । ‘विश्वज्ञान मञ्च’ का तीन दर्जन अङ्क निस्किए । त्यसमा एउटा सुन्दर टेबुल मेरो । मलाई टेबुल जति मनपर्छ । कुर्सीले मेरो मन खिच्दैन ।

२०५६ मा मैले कान्तिपुर पब्लिकेसन्स प्रवेश गरेँ । म पाँच महिना २४ दिन विदेश पृष्ठको काममा लागे । त्यसपछिको करिब साढे चार वर्ष रात्रि डेस्क । २०६० चैत १ देखि औपचारिक रूपमा बाल कोसेली ‘कोपिला’ का लागि खटिएँ । मलाई छुट्टै कोठा र टेबुल दिइएको थियो । यसका लागि कान्तिपुर पब्लिकेसन्सलाई धन्यवाद दिनुपर्छ, म टेबुलको शौखिन हुँ ।

कान्तिपुरमा हुँदा एउटा नयाँ काम सुरु भयो । मेरो सामान्य ज्ञान, समसामयिक जानकारीप्रतिको भोक ‘विश्वज्ञान मञ्च’ले जगाएको थियो । २०५९ मङ्सिरदेखि ‘सर्वज्ञान मञ्च’ निकाल्न थालियो । प्रकाशक पनि म आफैँ बसेँ । श्याम खड्का दाइले व्यापारिक काम जिम्मा लिनुभएको थियो । यो पनि धेरै चलेन । ४० वटा जति अङ्क निस्केर बन्द भयो । यसको काममा मेरो ‘विश्वज्ञान मञ्च’को टेबुल र कोपिलाकै कोठाको टेबुलले निकै काम दिए ।

सिफलमा डेरा गरेर बसेका बेला एउटा पुरानो ल्यापटप थियो, ज्वाइँ सतन आचार्य नेपाल फिर्दा ल्याएको । मैले किनेको थिएँ । जेठानलाई भनेर उहाँले सस्तोमा दिएको हुनुपर्छ । यो ल्यापटप त्यही ‘विश्वज्ञान मञ्च’को टेबुलमा हुन्थ्यो । आफू कान्तिपुरमा जागिरे थिएँ । नानीहरू खेल्दा माथिबाट थिचेछन् । त्यसको स्क्रिन र सिस्टम जोड्ने तार टुटेछन् । ल्यापटपभन्दा महँगोमा मर्मत गर्नुपरेको थियो । यसको पिडाले मैले कपनमा घर बनाएर बस्दा एउटा ल्यापटप जस्तै ढक्कन खुल्ने टेबुल बनाउन लगाएको थिएँ । यसको ढक्कन खोलेर भित्तामा अड्यायो । ल्यापटप खोल्यो, काम गर्योय । काम सकेपछि ल्यापटप बन्द गर्योट, अनि टेबुलको ढक्कन ।

ठूली छोरीलाई गणितको अभ्यास गराउन अर्को टेबुल तयार पारियो । यसको माथिको भाग ‘ह्वाइट बोर्ड’ को थियो । हिसाब गर्दै मेट्न मिल्ने । यो मेरो सोचमा बनाइएको होइन । तर टेबुलप्रतिको मेरो लगाव थियो । ल्यापटपको ढक्कनवाला टेबुल र ‘ह्वाइट बोर्ड’ भएको टेबुल मैले एकराज सुवेदीलाई दिएँ । सुवेदी, मैले त्यस बेला सम्पादन गरेको ‘अटो नेपाल’ का उपसम्पादक थिए । मैले टेबुलसँगै सम्पादकको पद पनि उनैलाई सुम्पिएर आएँ । उनी नेपालको अटो क्षेत्रकै पत्रकारिता गर्दछन् ।

२०६७ (सन् २०१०) मा अमेरिका आएपछि ‘अक्षरिका’ निकाल्दाको रोचक प्रसङ्गमा ज्वाइँ सतन-बहिनी ताराको म्यानचेस्टर, न्यु ह्याम्सरको भान्साको टेबुलको कुरा गर्नै पर्छ । भान्साको टेबुलमा काम गर्ने अमेरिकी चलनले एक्कासि प्रभाव पारेको थियो । फराकिलो, जति जे फिजाँए पनि हुने ।

ज्वाइँ सतन सन् २००५ मा डाइभर्जिटी भिसामा सपरिवार अमेरिका आउनु भयो । केही महिना न्यु योर्क बसेपछि उहाँ न्यु ह्याम्सर सर्नुभयो । न्यु ह्याम्सरको म्यानचेस्टरमा ‘म्यानचेस्टर कम्युनिटी रिसोर्स सेन्टर’ मा काम गर्नुभयो । यो सेन्टरले नेपाली–भाषी भुटानीहरूलाई पुनर्स्थापनाका लागि तालिम आदि दिन्थ्यो । म्यानचेस्टर आइपुग्ने नेपाली–भाषी भुटानीहरूलाई सतनजीको ठुलो साथ मिलेको थियो । मान्छेपिच्छे आफूले जानेको कुरा भन्नुभन्दा उहाँले नेपालीमा केही सामग्री हुन सके कति राम्रो हुन्थ्यो भन्ने लाग्यो । तर यसलाई कसरी बनाउन सकिएला भन्ने चाहिँ गाह्रो थियो । उहाँ आफू बजार–व्यवस्थापनमा राम्रो अनुभव भएको व्यक्ति यो पत्रकारिताका काम सहज थिएन, तथापि बहिनी ताराले रत्न राज्य क्याम्पसबाट पत्रकारितामा स्नातक गरेकी थिइन । तर ‘प्रिन्ट’ जर्नालिज्ममा केही अनुभव लिन मात्र पाएको थियो । बिहे भयो । यी पाठ्य–सामग्रीको अवधारणालाई मूर्त दिन उनले भ्याइनन्, सकिनन् । यसबिचमा सतनजीले पत्रकारिता जान्ने नातेदारहरूलाई नभन्नु भएको होइन । ती नातेदारमध्ये म पनि थिएँ । तर एक पटक पनि अमेरिका नपुगी, त्यहोका बारेमा थोरै नजानी काम गर्न सजिलो थिएन ।

सन् २०१० जुनमा म न्यु योर्क आएँ । अगस्त १५ देखि ‘अक्षरिका’ निस्कन थाल्यो । कुनै पनि सामग्री अनुवाद गरेर फटाफट बाँढ्नुभन्दा न्युजलेटरका रूप दिँदा राम्रो हुने ठानेर यसलाई चार पृष्ठको न्युज लेटर बनाइयो । यसको नाम भने मज्जाले जुराइयो । अक्षरिका नामकरण अक्षर र अमेरिकाको संयोजनबाट भयो । त्यसैले यसको उद्देश्य अमेरिकामा बस्ने नेपाली–भाषी समुदायलाई शिक्षा, जानकारी, हौसला दिनु र सक्षम बनाउनु तोकियो ।

यसलाई सुरुमा पाक्षिक गरियो । सन् २०११ मा मलाई एउटा सहयोगी–किताब (नेपाली–अङ्ग्रेजी गाइड बुक) संयोजन गर्ने मौका मिल्यो । सन् १९६० को दशकको अन्त्यतिर नेपालमा पिसकोर स्वयंसेवक भएर फिरेका डगलस हलले उक्त किताबका प्रस्ताव ल्याउनुभयो । उहाँ नै ‘अमेरिकामा बसोबास’ नामक उक्त किताबको अंग्रेजीतर्फका संयोजक हुनुभयो ।

अक्षरिकाको नाम र एउटा सिङ्गो किताबका धेरै काम फत्ते पार्ने गरिएको त्यो टेबुल, स्थानीय ‘वव फर्निचर’ को थियो । पैसा परेअनुसारको गतिलो नभएको कुरा भइरहन्थ्यो । त्यसका खुट्टा हल्लिरहन्थे, पेच-किल्ला कसिरहनुपर्थ्यो । तर टेबुलले ठुलो गुन लाएको छ ।

अहिले मसँग कुनामा राख्ने अङ्ग्रेजी ‘एल’ आकारको टेबुल छ । सँगैको कुर्सी घुम्ने छ । क्यार-क्यार कराउँछ । चित्त बुझ्छ । कुर्सीप्रति मेरो केही लोभ छैन । नहोस् पनि । तर मेरो टेबुल मलाई बेला-बेला सानो लाग्छ । मलाई ठुलो टेबुल होस् भन्ने अझै लाग्छ । कुनै दिन त होला नि एउटा विशाल टेबुल । अझै धेरै काम गर्न पाइयोस् ।

(राजेश, ‘अक्षरिका’ नेपाली न्युजलेटरका सम्पादक हुन् । उनका केही लेख www.koirala.com.np मा पढ्न सकिन्छ ।)

प्रयास २०१८ मा प्रकाशित