अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

लेखौँ न पत्रकार साथी हो केही लेखौँ

राजेश कोइराला २०७७ चैत ३० गते १४:२३ मा प्रकाशित

एसएलसी दिँदा मसँग एउटा चाइनिज कलम थियो । एक जना साथी भनौँ वा दाइ भनौंले मागे । मैले दिएँ । उनले फर्काएनन् । मैले एसएलसी दिएको चार दशक भइसक्यो । म कलम किन्न नसक्ने अवस्थामा छैन । सक्छु । तर त्यो कलमको याद आइरहन्छ । लेखेर लामो समय बित्यो, त्यो पनि हातले । त्यसमा पनि बाल्यकाल वा किशोर अवस्थामा कलमले लेखेर धेरै समय बिताएकाले होला, कलम प्यारो लाग्छ । अहिले कलमका हजारौँ रूप छन् । त्यही चाइनिज कलम ‘विङ् सङ्’ वा भारतको ‘टेको’ कलम सम्झिन्छ, बेलाबेला ।

अहिले कलम चाहिँदैन । हामीलाई लेख्न मन लागे, धेरै उपाय हाम्रा सामु छन् । मनमात्र चाहियो, लेख्न । के सबैले लेख्नुपर्छ ? म भन्छु, लेख्नुपर्छ । लेख्नु एउटा थेरापी पनि हो । मान्छेहरू केही नलेखे दैनिकी नै भए पनि लेख्छन् । सामान किन्न जाँदा किन्नुपर्ने सामानको सूची बनाउँछन्, लेख्छन् । आजको, भोलिको, महिना, ६ महिना, वर्षको योजना बनाउँछन्, लेख्छन् । लेख्न पत्रकार नै हुनुपर्ने होइन ।

धेरै थोरै पढेका । धेरै थोरै जानेका । धेरै थोरै काम गरेका । जे जसो गरेका भए पनि नेपाली पत्रकारहरू परदेश भासिएका छौँ । नेपाली पत्रकारहरू नपुगेको देश होलान्, तर महादेश छैन । हामी लेख्न जान्ने छौँ नै पक्कै । अब त कलम र कागज खोजीरहनु पर्ने जमाना रहेन । बोलेरै लेखिने प्रविधि पनि आएको छ । कलम वा त्यस्तै खोज्नुहुन्छ भने अहिले फालाफाल पाइन्छ, यो परदेशमा ।

बोलेरै लेख्ने कुरा । एक जना नेपाली भाइ प्रभातले ‘टेक टक विद प्रभात’ भनेर यसको सहयोगका लागि युट्युबमा भिडियो नै बनाएका छन् । यी हेर्नुभयो भने सहायता पुग्छ- मोबाइलमा बोलेरै नेपाली टाइप गर्नुहोस्, र ल्यापटपमा बोलेर नेपाली टाइप गर्नुहोस् । मैले प्रभातको मात्र कुरा गरेँ । यस्ता अरू भाइहरूले पनि भिडियो बनाएर युट्युबमा राखेका छन् ।

नेपालीमा लेख्नका लागि के सजिलो उपाय होलान् भनेर मलाई यो प्रश्न मनमा आइरहन्थ्यो । तर अहिले यति सजिला उपायहरू हामीले पाउने गरेका छौँ । त्यसैले अब हामीले लेख्ने गर्नुपर्छ । यस्ता उपाय हुँदाहुँदै पनि हामीले लेखेनौँ भने हाम्रो सिप बेकारमा खेर जानेछ । त्यसैले हामी लेख्ने काम गरौँ । रोकेको भए, थालौँ । जागौँ, साथी हो ।

हामीले समाचारै लेख्नुपर्ने भन्ने पनि त छैन । हामीले ब्लग लेखन पनि त देखेका छौँ । पढेका छौँ । त्यसैले त मनको ढोका खोलेर लेख्न सकिने विषय र प्रसङ्ग पनि त कयौँ छन् । म एउटा के सल्लाह दिऔँ है त । एउटा सानो कपि वा डायरी लिनुहोस् । यो साता गर्ने कामको सूची बनाउनुहोस् । अनि दिनहुँ गर्ने कामको सूची बनाउनुहोस् । ४ साता बितेपछि तपाईँको कामको सूचीले एउटा सन्दर्भमा लेख्ने विषय पक्कै दिन्छ ।

काम अरूथोक गर्नुपर्ने बाध्यता धेरैको छ । पढ्ने समय निकालौं । अरूका लेखन पढौं । अरूले लेखेको देख्दा यत्तिको त म पनि लेख्छु जस्तो लाग्छ नि ! लाग्छ भने सकिन्छ । अनि लेखौँ । सुख लेखौँ । दुःख लेखौँ । कोरोनाको सताइ लेखौँ । घाम लाग्यो, पानी पर्‍यो, हिउँ झर्‍यो – जे भए पनि मिलाएर लेखौँ, पुराना सम्झना जोडौं । सन्तुष्टि लेखौँ, असन्तुष्टि लेखौँ । पीडा लेखौँ ।

कसले पोस्ट गरिदेला चिन्ता भएन । धेरै न्यूज साइट छन् । कसलाई के भनिरहनु जस्तो लाग्छ भने ब्लगस्पट होस् वा वर्डप्रेस, आफ्नै वेबसाइट खोलौं । परिचय हराउनुभन्दा पहिले केही गरौँ । किनभने यहाँ नानाथरीका मानिस पत्रकार बनेका छन् । पत्रकारको बिल्ला लिन र लेख्न आतुर छन् । हामी-तपाईंले त लेखनको गन्ध राम्रै पाएका छौँ । किन नलेख्ने !?

नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) छ, नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) छ । सयौँ सदस्य छन्, यी संस्थामा । यसको सदस्यता लिन मात्रमा पत्रकारिताको कर्म निर्वाह हुँदैन । बिल्ला कसैको भिर्नै पर्दैन । यस्ता संस्थामा आबद्ध नभएर पनि लेख्न सकिन्छ । आफू भएर उभिन सकिन्छ भने आफू भएर लेखौँ । लेखौँ न पत्रकार साथी हो केही लेखौँ ।

(कोइराला, अमेरिकाबाट निस्कने ‘अक्षरिका’ नेपाली न्युजलेटरका सम्पादक र बिआरटी, नेपालका सल्लाहकार हुन् । उनका लेखहरू www.koirala.com.np पढ्न सकिन्छ ।)