अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

कोलोराडोमा भिंतुना कार्यक्रम सम्पन्न, खलःको अध्यक्षमा भूषणलाल श्रेष्ठ (फोटो फिचर)

बिआरटीनेपाल २०७९ कार्तिक १९ गते १३:३५ मा प्रकाशित

ब्रुमफिल्ड, कोलोराडो । नेपाल संवत् ११४३ को अवसरमा कोलोराडो, अमेरिकामा ने.सं. ११४३ कछलाथ्व षष्ठी तिथि(अक्टोबर ३०) आइतबारका दिन भिंतुना(शुभकामना) आदानप्रदान गरेर नयाँ वर्ष मनाइएको छ ।

लङमन्टका सिटी काउन्सिल सदस्य शिकिता यारबोरोले पानसमा दीप प्रज्वलन र अध्यक्ष प्रेम काजी श्रेष्ठले नेपाल सम्बतका प्रणेता नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाको तस्बिरमा फूलमाला चढाएर संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । साथै प्रमुख अतिथि यारबोरोले कोलोराडो नेवा: खलःको कुताक्षर अक्षरमा लेखिएको लोगोको पनि विमोचन गर्नुभएको थियो ।

नेपाली/नेपाल भाषाका वाङमय शताब्दी पुरुष स्वर्गीय प्रा. डा. सत्य मोहन जोशीको स्मृतिमा एक मिनेट मौनधारण गरिएको उक्त समारोहमा नेपाल सम्बतका प्रणेता तथा नेपालका राष्ट्रिय विभूति शंखधरको भिडियो प्रस्तुत गरी नेपाल सम्बतको बारेमा जानकारी गराइको थियो ।

सविशा श्रेष्ठको नृत्य एवं सुरेश चन्द्र प्रधानले बॉंसुरीको धुन बजाइ दर्शकलाई मनोरञ्जन गराएका थिए । त्यसै गरी कोलोराडो नेवा: खलःका आजीवन सदस्यहरू तथा तपसिलका नयॉं कार्यसमितिका सबैलाई प्रमुख अतिथि यारबोरोले प्रमाणपत्र प्रदान गरेका थिए –
१. अध्यक्ष – श्री भूषण लाल श्रेष्ठ
२. निवर्तमान अध्यक्ष – श्री प्रेमकाजी श्रेष्ठ
३. उपाध्यक्ष – श्री मनोज काजी तुलाधर
४. महासचिव – श्री सञ्जय शाक्य
५. सचिव – श्री नारायण प्रसाद दुवाल
६. कोषाध्यक्ष – श्री मोहन काजी श्रेष्ठ
७. सांस्कृतिक सचिव – श्री सुरेन्द्र महर्जन
८. इभेन्ट अफिसर – श्रीमती सुनन्दा डंगोल
९. पब्लिक रिलेसन अफिसर – श्रीमती विनिशा श्रेष्ठ
१०. सदस्य – श्री सुरेश श्रेष्ठ
११. सदस्य – श्री सुरेन्द्र अवाल
१२. सदस्य – श्री जोशन श्रेष्ठ
१३. सदस्य – श्री अनिल बज्राचार्य

१२ वर्षअघि नेपाल संवत् ११३० मा प्रेम काजी श्रेष्ठको अगुवाइमा कोलोराडो नेवा: खल: गठन भएको थियो । ने. सं. ११४३ तथा १३औँ वर्ष प्रवेशको समारोहमा सहभागीहरूलाई टीका सँगै अण्डा सगुन दिएर लसकुस(स्वागत) गरिएको थियो । खलःका महासचिव मनोज काजी तुलाधरले सम्पूर्ण आगन्तुकहरुलाई स्वागत मन्तव्य दिएका थिए भने विनिशा श्रेष्ठले उद्घोषण सम्हालेका थिए । स्थानीय संस्थाहरूका तर्फबाट गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष विष्णु पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका राजु सिटौला, नेपाली घरका अध्यक्ष जगदीश चन्द्र ढकाल, रक्की माउन्टेन फ्रेण्ड्स् अफ अमेरिकाका टिका पौडेल र हेल्पिङ ह्याण्ड्सका अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।

भिंतुना समारोहमा नव गठित कार्यसमितिका अध्यक्ष भूषण लाल श्रेष्ठले नेपाल भाषा, नेवा: संस्कृतिको संरक्षण तथा विकासमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै निवर्तमान अध्यक्ष प्रेमकाजी श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरेका थिए भने महासचिव सञ्जय शाक्यले सबैलाई शुभकामनाको साथै धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको अन्त्य भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया