अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हरायो

बिआरटीनेपाल २०७९ कार्तिक १२ गते ६:५४ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको छ । अष्ट्रेलियाको सिड्नीमा न्युजिल्याण्डले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको श्रीलंका चार बल बाँकी छँदै एक सय दुई रन बनाउँदा अलआउट भयो ।

श्रीलंकाका लागि दासुन सनाकाले ३५ र भानुका राजापाक्षेले ३४ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार तथा मिचेल सान्टनर तथा इश सोधीले २/२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले सात विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । उसका लागि ग्लेन फिलिपले एक सय ४ रन बनाए । उनी अहिले चलिरहेको विश्वकपमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन् ।

बलिङतर्फ श्रीलंकाका कसुन रजिताले दुई तथा लाहिरु कुमारा, वनिन्दु हसरंगा, धनञ्जय दि सिल्भा र महिस थिकसनाले एक/एक विकेट लिए । समूह ‘१’ मा न्युजिल्याण्ड तीन खेलमा पाँच अंक जोडेर शीर्ष स्थानमा छ । श्रीलंका तीन खेलमा दुई अंकसहित पाँचौ स्थानमा छ ।

विश्वकप क्रिकेटका धेरै खेल वर्षाले रद्द भएका छन् । हिजो पनि अफगानिस्तान र आयरल्याण्ड तथा अष्ट्रेलिया र इंल्याण्डबीचको खेल रद्द भएका थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू