अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

युएफा च्याम्पियन्स लिग फुटबल- लिभरपुल, एफ.सी पोर्टो र इन्टर मिलान अघिल्लो चरणमा प्रवेश

बिआरटीनेपाल २०७९ कार्तिक ९ गते २१:३५ मा प्रकाशित

लिभरपुल, एफ.सी पोर्टो र इन्टर मिलान युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेका छन् । सदाबहार उपाधि दावेदार बार्सिलोना भने यसपटक समुह चरणबाटै बाहिरिएको छ । गएराति भएको समुह ‘ए’ को खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई ३–० ले हराउँदै इंग्लीश क्लब लिभरपुल नक आउट चरणमा प्रवेश गर्‍यो । यही समुहको अर्को खेलमा स्कटल्याण्डको रेन्ज्र्सलाई ३–० ले हराएको इटालीको नापोली पनि नक आउट चरणमा प्रवेश गरिसकेको छ ।

समुह ‘बी’ को खेलमा यसअघि नैं नक आउट चरण्मा उक्लिसकेको बेल्जीयमको क्लब ब्रुजलाई ४–० ले हराउँदै पोर्चुगलको एफ.सी पोर्टो पनि राउण्ड अफ सिक्स्टिनमा पुगेको छ । गएराति स्पेनको एट्लेटिको मड्रिड र जर्मनीको बायर लिभरकुजेनले भने २–२ गोलको बराबरी खेलेका छन् ।

समुह ‘सी’ को खेलमा चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई ४–० ले हराउँदै इटालीको इन्टरमिलान नक आउट चरणमा पुगेको छ । यही समुहको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखसँग ३–० ले पराजित भएपछि स्पेनको बार्सिलोना भने समुह चरणबाटै बाहिरिएको छ ।

समुहका ५ खेलबाट १५ अंक जोडेको बायर्न म्युनिख तथा १० अंक जोडेको इन्टर मिलान नक आउट चरणमा पुगेका छन् । एक खेल बाँकी छँदा बार्सिलोनाको भने ४ अंक मात्रै छ । समुह ‘डि’ को खेलमा पोर्चुगलको स्पोर्टीङसँग १–१ गोलको बराबरी खेलेको इंग्लीश क्लब टोटनह्याम शिर्ष स्थानमा छ । ५ खेलबाट उसको ८ अंक छ । समान खेलबाट ७–७ अंक जोडेका स्पोर्टीङ र जर्मनीको फ्र्याङ्कफर्ट पनि अघिल्लो चरणमा प्रवेश गर्ने होडमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू