अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

फसाद

गोपीराम भण्डारी 'बटुवा' २०७९ साउन २९ गते १६:४३ मा प्रकाशित

लघुकथा
दाजु नमस्कार ! आशीर्वाद भाइ,सबैलाई सन्चै छ नि ?रवीन्द्रले कतारबाट भिडियोकलमा भाइ रमेशलाई सोध्यो । “यता त सबै ठिकै छ, हजुरलाई कस्तो छ कुन्नि” ? रमेशले प्रतिप्रश्न गर्‍यो । “चर्कैघाममा पनि मलाइ त आरामै छ बाबु तर तिम्रो भाउजूले फोन नै उठाइनन् । कतै बिरामी पो परिन कि ? अरू नै केही समस्या पो पर्‍यो कि, खर्चपर्च पो सकियो कि” ? उसले चिन्ता व्यक्त गर्‍यो । कोठा सरेर गएपछि मेरो नि खासै भेट भएको छैन ।भेटेर, बुझेर खबर गरुँला नि ! फेरि फोन सम्पर्क गर्ने गरी छुट्टिए ।

भाउजू, ए भाउजू ! रमेशले ढोका ढकढकायो । भित्रबाट कुनै उत्तर आएन । दाजुले भने जस्तै तलमाथि केही पो भयो की ? ऊ अत्तालियो । उसले छिमेकीहरूलाई बोलायो । लात्ताले हानेर ढोका फुटाए । सिलिङ र कोठाको कुराकानी नियाले तर केही देखिएन । फेरि खाटतिर हेरे । सबैको होस उड्यो । छोड्नुहुन्न भन्दै सिरक ताने । निर्वस्त्र माछाजस्तै उनीहरूलाई हेर्न सकेनन् । के हेरेको ? कपडा लगाओ भन्दै ढोकातिर मुख फर्काए । अब त हेर्न लायक भए होलान् भनी फर्किएर हेरे । खाटमा रमेशकी भाउजू मात्रै थिइन । झ्यालको पल्ला हल्लिरहेको थियो । कपडा लगाउँदै हतार हतार मोबाइलको भिडियो डिलिट गर्न खोज्दा हतपतको काम लतपत, गलत बटन थिचियो । रबिन्द्रको म्यासेज बक्समा भिडियोको म्यासेज टुङ्ग बज्यो । रवीन्द्रले खुसिहुदै भिडियो खोल्यो । उसलाई विश्वास लागेन दोहोर्‍याइ दोहोर्‍याइ नायक नायिकाका अनुहार हेर्‍यो । ऊ छाँगाबाट खस्यो । ऊ जिउँदै मर्‍यो । थुचुक्क भुईँमा बस्यो ।

फोनमा भाइले “हलो दाइ” मात्रै भनेको थियो । उसले भन्यो “भाइ केही नभन्नु, कुटपिट नगर्नु, माइती सबै अस्ट्रेलियामा छन् । पुलिसको रोहबरमा जिम्मा लगाउनु तर उनलाई केही नहोस्,भन्दै फोन काट्यो” । फोन सँगै उसको जीवनको भरोसा अनि विश्वास पनि काटियो ।

घोसे मुन्टो लगाएकी उनलाई एउटीले सोधिन: ओए को हो त्यो केटा ? कता भगाएकी ? भगाएर सुख पाइन्छ ?” त्यो ता मैले नि खासै राम्रोसँग चिन्दिन । फेसबुकबाटै चिनजान हुँदा हुँदै यस्तो भयो । फोन नं र फोटो यही हो” । उनले मोबाइल प्रहरीलाई दिइन । फोटो हेरिरहेको प्रहरीले भन्यो । सर त्यो त प्लेब्वाय हो । थुप्रै सन्तानको बाबु बनेको, उसकै बिरुद्घ उजुरी लिएर उनीहरू दुई जना पनि आएका छन् । उसले प्रतीक्षालयतिर औँला तेर्सायो । सबै कुरा सुनिरहेको अधिकृतले पुर्पुरोमा हात लगाउँदै भन्यो, “हे भगवान् यो कस्तो फसाद, कारबाही गर्दा पनि पीडित, नगर्दा झनै पीडित, यो टेक्नोलोजीको दुरुपयोगले निम्त्याएको फसाद कतिले कतिन्जेल भोग्नुहोला ! गल्ती गर्ने एक, सजाए भोग्ने अनेक” टाउकोमा हात लगाएर खै के सोचेर ऊ घोप्टो परिरह्यो । सबै जनाले उसैलाई हेरिरहे । लाग्थ्यो संसारै मौन छ ।