अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

बगैँचे

युवराज मैनाली २०७९ साउन १९ गते २१:४६ मा प्रकाशित

लघुकथा

या दिक्कलाग्दो ! अहिलेको निवास निवासजस्तो भएन । वर्षामा पानी र सवारी जस्तै रसाएर चुहिरहन्छ, हिउँदमा त्यहीबाट चिसोले कुस्ती खेल्छ,अब यस्ता घरमा बसेर हुन्न । ऊ पर खाली जमिन छ,आधुनिक सुविधा सम्पन्न घर भवनको नक्सा बनाउनोस् डी.इसाहेव । कसरी राम्रो होला ? यो हाम्रो निवास, एउटा नमुना बनोस् है त ।

प्रजिअका कुरा सुनिरहेका डी.इ विष्णुप्रसाद अक्क न बक्कमा परे । भनौँ, आफ्नै बेइज्जत, नभनौँ भनेको गर्ने क्षमता नै कहाँ ? मुख रातो भयो बोटमा पाकेका गोलभेँडा जस्तो । पसिना चिट्चिट् बग्न लागे बिहानीपख दुबोको पातबाट झरेको शीतजस्तो । ‘होइन, कुरा सुन्नु भएन ? कि नचाहेको ? खै जवाफ ?? दिनुहुन्न त ।’

डी.इ यही अनुहारमा यही भिजाइमा हतार हतार बोले ‘हस् हजुर ! हस्, तुरुन्त प्रजिअसँग बिदा भएर उनी निस्के । । भोलिपल्ट प्रजिअले पिएलाई भने—‘तुरुन्त डी.इलाई बोलाउनोस् ।’ डी.इ काँप्दै प्रजिअ कक्षमा पुगे । धनुष्टङ्कार उनही हो टक्र्याएर उभिए थुर्थुरमै ।’ नक्सा भएन अहिलेसम्म ? प्रजिअ कड्किए । ‘मेरा आभर्सियर, इन्जिनियर बिदामा छन्, अजुर ! उनीहरू आएपछि टक्र्याउँछु ।’ मलिन आवाजमा उत्तर दिए डी.इले । ‘मेरो आज्ञाको अवज्ञा गर्ने ? अरूका भवन भए टन्न कमिसनका धोक्रा बज्थे अनि कान ठाडा हुन्थे काम पनि तुरुन्त । यी प्राविधिक कर्मचारीहरू कामै लाग्दैनन् ।’ प्रजिअ एकोहोरो ओठको बोली बोलिरहे । मनमा त उनलाई पनि थाहा छ आफू पनि त उही हो । डी.इचाहीं थर्थरी काँपेका आवाजमा हजुर.. हजुर मात्र । ‘तपाईँलाई म सारिदिन्छु । विभागमा कम्प्लेन गर्छु’ प्रजिअले भन्ने बित्तिकै उनी निस्के ।

डी.इले इञ्जिनीयरलाई तुरुन्त बोलाएर प्रजिअको भवनको नक्सा बनाउनका लागि उनैकहाँ पठाए । ‘होइन इन्जिनियर साहेब ! डी.इ त मलाई पनि टेर्दा रहेनछन् त । निवासको एउटा नक्सा बनाऊ न भन्दा तपाईँलाई पो पठाए त ।’ ‘कुरा त्यसो होइन हजुर ! उनी इमान्दार छन् सोझा र भलाद्मी पनि । हजुरले भनेको त जिल्लामा इन्कार कसले गर्छ र ! उनी हुप्रबाट यस पदमा आएका हुन् । उनलाई इञ्जिनीयरिङ्को इ ज्ञान पनि छैन । उनी माली हुन् बगैँचाका । राजाको सवारी हुँदा मन्त्रालय परिसरका सुन्दर बगैँचा देखेर कसले बनाएको सोधपुछ हुँदा लहडी राजाले उनलाई यो पद दिएका हुन् । गणतन्त्र आएपछि एक तह पदोन्नति भएर यसमा छन् ।’ सुनेर प्रजिअ छक्क परे भने —‘बगैँचेलाई ड.इ राम ! राम !! घनश्याम, हाम्रा विष्णुका अवतार मानिने महाराजाहरु, हाम्रा जनोत्थान र देशोत्थानका मिया ठानिने गणतन्त्र नायकहरू !! ल, चिटिक्क परेको भवनको नक्सा बनाउनु होस् है त… !