अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 10:02

आज साउने संक्रान्ति पर्व मनाइँदै

बिआरटीनेपाल २०७९ साउन १ गते ८:१५ मा प्रकाशित

साउन महिनाको पहिलो दिन एवं साउने सक्रान्ति पर्व आज (आइतबार) मनाइँदै छ ।सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने संक्रान्ति पर्व आइतबार देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरू हुन्छ ।

असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । हिलोमाटोमा काम गर्नुपर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन समेत रहेकाे छ ।

परम्परा अनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नास्पाति आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पती राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन समेत रहेकाे छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास समेत गरिन्छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड समेत लाग्ने गर्छ ।

प्रतिक्रिया