अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

बुधबारदेखि नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु हुने

बिआरटीनेपाल २०७८ फागुन १० गते ७:१५ मा प्रकाशित

नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ ।विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो ।यस अघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो । यसअघिका अनौपचारिक बैठक अनलाइनमार्फत आयोजना भएकोमा यस पटक भौतिक रुपमा हुन लागेको हो ।

बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुने छन् । यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ ।बुधबारको बैठकमा सहसचिवस्तरीय समितिले एजेण्डा तय गरी बिहीबार सचिवस्तरीय बैठक बस्ने बताइएको छ । बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको जनाइएको छ ।

विद्युत प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८ सय ५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो । निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ । यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया