अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

चैतदेखि एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी

बिआरटीनेपाल २०७८ फागुन १० गते ७:१० मा प्रकाशित

नेपाल प्रहरीले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन केन्द्रित सुरक्षा समिति गठन गरेको छ । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको हो । समितिले आवश्यक कामहरू सुरु गरिसकेको डीआईजी धानुकले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । दुई महिना बराबरको तलब सुविधा दिने गरेर म्यादी प्रहरी भर्नाको तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसका लागि आवश्यक बजेट सरकारसँग माग गर्ने तयारी समेत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आउँदो चैतमा म्यादी प्रहरीका लागि भर्ना लिइने सम्भावना छ ।

भर्नामा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ । अवकाशप्राप्त सेना, प्रहरीसँग अनुभव हुने भएकाले उनीहरूलाई परिचालन गर्न सहज हुने सुरक्षा निकायको बुझाइ छ । गृह मन्त्रालयले समेत पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

प्रहरीले विस्तृत सुरक्षा कार्ययोजना गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । उक्त निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो ।

 

प्रतिक्रिया