अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

आँसुका दुई कुण्ड

आँसुका दुई कुण्ड - रश्मि भट्ट २०७८ भदौ २५ गते ८:३४ मा प्रकाशित

कथा

न्यु योर्क आएर बसेको दुई वर्ष बित्दा पनि कतै घुम्न जाने अवसर मिलेको थिएन । सधै काम, थोरै पैसा, खटाइ धेरै, कमाए जति भाडामै सकिने । टाढा टाढा स्टेटको त कुरै छाडौँ, बसेकै वरपर पनि घुम्न पाएकै होइन । संयोगले नजिकका नातेदार घुम्न भनेर बस्ने गरी आउनु भएको मौका पारी म पनि साथी बन्दै बिदा लिएर निस्केँ । पहिलो यात्रा नियात्रा फलबाट सुरु भयो । अमेरिका र क्यानडाको सीमामा जोडिएको नियात्राको सौन्दर्यको वर्णन त यस कथामा के अट्ला र ? त्यसमाथि अगस्टको गर्मीमा पानीको छर्रा र सौन्दर्य । एक रात त्यहीँ बसेर भोलि पल्ट फर्कियौँ । न्युयोर्कमै बसेर पनि तपाईले त कहीँ घुम्नु, डुल्नु भएको रहिन्छ, हामी त घुम्न भनेरै आएको पुरापुर घुमेरै जान्छौँ । म किन, के कति कारणले घुम्न, डुल्न पाउँदिन, सक्दिन उनीहरूलाई सुनाइरहन मनै लागेन । हो भन्या देखे घुमेकी छैन मैले । दुई तीन वटा स्टेट घुमेपछि पाचौं दिनको गन्तव्य न्यु योर्क नै भयो । मेरो खुसीको सीमा रहेन । बिदा सकिएको, भोलि पल्ट काममा फर्की हाल्नु छ र आफ्नो बसाइको नजिक आइपुगियो । उनीहरूले स्ट्याचु अफ लिबर्टी, ट्वीन टावर, वर्ल्ड टावर सेन्टर, ब्रुकलिन ब्रिज घुम्न जाने इच्छा राखे । हुन पनि न्युयोर्कको घुम्ने खास ठाउँ नै यति हो ।बिहान नौ बजेबाट नै सुरु भयो हाम्रो यात्रा ।

घुम्न फिर्न पाए कसलाई नरमाइलो लाग्ला ? झन् यिनीहरू त खुबै रमाउने टोली रहेछन् । मक्ख छन् । म पनि पहिले पल्ट नै यो घुम्दै छु , केही प्रश्न नगरुन् भन्ने चाहन्छु म । उनीहरू सँगै दङ्ग परेर रमाए म पनि । यो गर्मीमा समुन्द्र माथि शेयर के वर्णन गर्नु ? फर्केर फेरी वर्ड ट्रेड सेन्टर हेरियो ।खुब रमाए त्यहाँ पनि उनीहरू , मलाई भने माथि पुगेपछि हल्का रिँगटा लाग्यो । साँझमा ९/११/२००१ सेप्टेम्बरमा ध्वस्त भएको ट्वीन टावरको भू-भाग हेरेर जाने उद्देश्य राखी त्यता लागियो । म्यानहटनमा रहेको ती बिल्डिङको भग्नावशेषमा दुई वटा ठुला ठुला पानीका, कुण्ड बनाइएका रहेछन् । दुई वटै कुण्डको चारै तर्फ डिलभरि मरेका, सनाखत हुन सकेका सबै मानिसहरुको नाम लेखिएको रहेछ । अमेरिकी इतिहासमा कालो दिन भनेर चिनिने यसलाई आशुको आहाल भने अझ राम्रो हुन्छ । उनीहरू तीनै जनाले घुमी , घुमी फोटो खिचे, आनन्द लिए । फोटो खिच्दै गर्दा उनीहरूको मन विचलित भयो भएन, मलाई केही थाहा भएन । मेरो भने त्यस अघि घुमेका सबै रमणीय क्षणहरू रिलमा गए र यो कुण्ड मात्रै रियल भएर घुम्न लागे । दुःख र धेरै पीडा दर्दले आजित भइसकेकी म यस्तो ठाउँ र दृश्य हेर्नै नसक्ने भएकी छु ।के-के सझेरै भावुक भइहाल्यो मन । दश वर्षदेखि हराएको भाइ, देशमा द्वन्द्वले मारिएका सत्र हजारको आशुले कुण्ड बनाउने हो भने कत्रो होला त त्यो कुड ? हे! भगवान् मान्छे नमरेको कुन ठाउ होला ? गीत को बोल जस्तै —मर्ने कसैलाई रहर हुँदैन, मान्छे नमर्ने सहर हुँदैन ।

मेरो आँखाबाट बर्रबर्ति आशु बग्छन्, म थाम्नै सक्दिन । तपाइहरू घुम्दै गर्नुस्, म एक छिन बस्छु भनेर उता फर्कँदै रुमालले आशु पुस्छु । म किन यहाँ आए, रुवाइ त मसँग नै प्रशस्त छ । द्वन्द्वकलामा हत्या, हिंसा मात्र देखे भोगेकी र सुनेकी र त्यसबाट विक्षिप्त भएको मेरो मन अझै केही यस्तो देख्दा नसम्हालिने नै रहेछ । जानी नजानी यस्तो ठाउँमा किन घुम्न आए म ? घुम्न त यस्तो ठाउँमा पर्छ, जहाँ घुमेर मनमा आनन्द र शान्ति मिलोस् । आफूसँग भएका सम्पूर्ण दुःख दर्दहरू पनि हराएर जाउन् । कतिका आमा बाबु, दिदी बहिनी, छोराछोरी, दाजुभाइ, प्रेमी, प्रेमीका परे होलान् ? संसारभर आशुका भिन्न, भिन्न कहानी छन् तर यही बसेर कर्म गरेकोले होला, कति नराम्ररी चिमोट्यो यसले मलाई । हाइस्कूलमा पढिरहेका मेरो छोरीहरू हरेक वर्ष सेप्टेम्बर एघारको दिन यस्तो भएको हो रे, उस्तो भएको हो अरे भन्दै गफ सुनाउँछन् । थोरै भावुक पनि बन्छन् । आफ्ना गुरु र साथीहरूबाट उनीहरूले सुनाएको एक प्रसङ्ग — घटना भएको दिन राष्ट्र पति जर्ज बुस फ्लोरीडाको एक इलेमेन्ट्रि स्कुलमा बसेर साना बच्च्हरूसॅग पढाउँदै थिए र कसैले कानमा आएर केही भन्यो तर उनले दुःखी नभए जस्तो , हतप्रभ नभए जस्तो गरी निस्के रे । त्यसपछि दुःखको ठुलो सास फेरे रे । भगवानले जोगाए उनलाई । देशलाई अनन्य क्षति पुगे पनि भाग्यले बाॅच्न सफल भए रे उनी ।यो सारा रक्त रञ्जित षड्यन्त्र सिङ्गो अमेरिका र उनलाई नै सिद्ध्याउने थियो रे । गफ छाँटेको नभन्नुहोला, मैले त सुनेकी मात्र हो । जे थाह छ — देख्ने र भोग्नेलाई नै थाहा छ । मान्छेका हाहाकार , चित्कार त कति, कति के वर्णन गर्नु ? जसले यसरी अरे, अरे मात्र सुन्यो, सुन्नेलाई त यति पीड भयो भने साँच्चै भोग्नेहरूलाई कस्तो भयो होला ? आफन्त गुमाएर त्यहाँ पुग्ने हरूको मुटु यो आशुको कुड देखेर कति भक्कानिएला ? म सहजै अनुमान लगाउन सक्छु । यसका साथै मलाइ नराम्रा समाचार सुन्दा सुन्दा र देख्दा लागेको झस्किने यो रीग कुन देशमा गएर समाप्त होला त भगवान् ?

नियात्रा फल्सको झरना भएर बगेको पानी पनि पानी नै हो । सललल बगेको हड्सन नदीको पानी पनि पानी नै हो । लिबर्टी अफ स्ट्याचुको दुई फन्को घुमाइ पनि समुद्रको पानी भित्रै हो, ती पानीमा त्यस्तो आनन्द आउने, सुखी र मोहित हुने तर यो पानी देख्नासाथै विचलित भइहाल्ने मान्छेको मन, त्यसमा पनि मेरो मन किन यति कातर ? हे: भगवान् । जीवन सुख दुःख हो, घटना प्रतिघटनाको सगम हो, मिलन हो, बिछोड हो, तर यो अप्राकृतिक, असामयिक, बीभत्स घटनाहरूको दृश्य कहिल्यै सुन्न, देख्न, भोग्न नपरोस्, कहीँ कसैले, कुनै राष्टले । जीवनमा हसो खुसी थोरै र दुःख दर्दका पाटो धेरै छन् भने मानिस यस्तो अवस्थामा छिटै दुःखी हुने रहेछ । म माओवादी चरम द्वन्द्व कालमा हराइरहेको मेरो भाइलाई सझन्छु, आज दश वर्ष भयो, मरे बचेको पत्तो भएन । ती पानीका दुई पोखरी नै मेरो आँखा भित्र पसेर बर्सन्छ तर केही गर्न सक्दिन म । फेरी हिन्दीको एक भनाइ सझन्छु – “सुख त आति जाती हे, दु;ख त हमारा साथी हे” । मानिस सुखका कुरा भुसुक्क बिर्सन्छ, दुःखका कुरा सम्झी, सम्झी रुन्छ, यस्तै छ संसार ।

हामीले यस घटनामा अत्यन्तै अकल्पनीय, अमानवीय क्षति बेहोरेका छौँ, यो यहाँ मर्ने हामी सबैले र सिङ्गो राष्ट्रले बगाएको आशु हो भनेर जुगौंजुगको स्मरणको लागि सरकारले बनाएको हो भन्ने कुरा यो हेरेपछि जो कोहीले पनि अनुमान लगाउन सक्दछ । रमाउन सक्नेहरू यसको बिना मतलब झैँ फोटो खिचेको खिच्यै गरेर, अट्टहास हाँस्दै हिँडेको पनि यही आँखाले देखे । रमाउने भनैको यस्तैहरूले हो । के मैले चुहाएको दुई थोपा आशुले यो घटनाको क्षतिपूर्ति हुन्छ र ? अमेरिकी सरकारले यसको अति राम्ररी संरक्षण र सुरक्षा गरेको छ । यसरी द वर्ड टावर पनि घुमिसकेपछि साँझको आठ पनि बजिसकेको छ । म उनीहरूलाई बाइ, बाइ गरेर फर्कन खोज्छु । उनीहरू भने फेरी अरू चार पाचवटा स्टेट घुम्न बुकिङ गरिएका बस र प्लेन समात्न हतारिन्छन् । साँच्चै हो, धन हुनु पनि अत्यन्त राम्रो कुरा हो, नेपालको पैसाले अमेरिका त्यो पनि दुई दुई महीना घुम्न सक्ने हैंसियत राख्छन् यिनीहरू । मलाइ उनीहरूको कमाइको श्रोत के हो, कसो हो केही चाह पनि छैन र म अनुसन्धान अधिकृत पनि होइन । जीवन भरी कमाएर, जोगाएर, यो घुम्ने सपना साकार गरेका हुन सक्छन् । तीनै जना साठी, बैसठ्ठी र पचास उमेरका छन् रिटायर्ड हुन् । मेरो भने यो पाँच दिनमा हप्ता भरीको तलब त गएकै छ, त्यसमाथि पनि भोलि भनेको समय भन्दा पाँच मिनेट ढिलो भए भने पनि जागिरै जाला भन्ने डर । म मात्र हैन धेरैजसो अमेरिका बस्ने प्रवासीको हालत यस्तै छ । अमेरिका बस्ने भन्नु मात्र हो, थोरै कमाइले महँगो अपार्ट भाडा तिर्नको लागि हप्तै भरी जसो काममा हिँड्दा हिँड्दै नै समय सकिन्छ, जुनी जान्छ । बस् अमेरिका बस्या छ भन्यो, गर्व गर्‍यो सकियो । म भने फेरी फेरी घुम्न सके पनि नसके पनि यो रुवाउने र आफ्नो देशको दश बर्से द्वन्द्व कालको सम्पुर्ण पीडा बल्झाउने ठाउँमा घुम्न नआउने वाचाका साथ ट्रेन समातेर घर फर्कन्छु ।

***********

प्रतिक्रिया