अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

ट्रम्पको डि-फ्याक्टो ईम्यूनिटी जनवरी २० पछि डम्प

राम कुमार सुबेदी

राम कुमार सुबेदी २०७७ मंसिर ६ गते १९:५३ मा प्रकाशित

अमेरिका जे हुन्छ अचम्मै हुन्छ l जे हुनुपर्छ त्यो हुँदैन, जे हुनु हुँदैन त्यही हुन्छ l नोभेम्बर ३ म चुनाव भो l विजयी बन्न जनताको लोकप्रिय मत बढी आएर हुँदैन इलेक्टरल कलेज भोट कम्तीमा २७० आउनु पर्छ l त्यो भन्दा बढी ३०६ इलेक्टरल भोट पाएर डोनाल्ड ट्रम्प २०१६ मा राष्ट्रपति बने जबकि लोकप्रिय मत हिलारी क्लिन्टनलाई गएको थियो l अहिले जो बाईडेनले २०२० मा त्यति नै इलेक्टरल भोट ३०६ नै पाए दुई हप्ता भयो परिणाम आएको तर ट्रम्प सत्ता छोड्न वा सत्ता हस्तान्तरणको प्रकृयाको सुरसार नै गर्दैनन् l

धेरैले धेरै अनुमान गर्छन् किन उनी सत्ता छाड्न तयार भएका छैनन् l कोही राजनैतिक पण्डित भन्छन्, “उनी रिपब्लिकन पार्टीलाई २०२४ मा आफै वा आफ्ना छोराछोरी मध्ये एक जनालाई राष्ट्रपतिका रूपमा उम्मेदवारको रूपमा उभ्याउनलाई घुर्क्याउँदै छन् l” कोही भन्छन्, “सत्ताको तख्ता पलटको तयारी गर्दै छन् त्यसैले पेण्टागन प्रमुख सहित अरू धेरैलाई हटाएर आफ्ना हनुमानहरूलाई ल्याए l” चुनाव हेर्ने एफविआई प्रमुखलाई हटाए, र सिआईए र एफविआई निर्देशकलाई हटाउने वा व्हाईट हाउसमा भएको तिनीहरूको बैठकमा तिनै प्रमुखहरूलाई नराखी गर्दै छन् l” चुनावी मुद्दालाई सुप्रिम कोर्टमा लगेर आफ्नो पराजित परिणामलाई पल्टाउन चाहन्छन् l त्यसबाट असफल भए निर्वाचन प्रमाणित गर्ने समयलाई डिसेम्बर १४ बाट कटाएर संवैधानिक सङ्कट निम्त्याई १८७६ वा २००० को चुनाव जस्तै केही राज्यहरूको ईलेक्टोरल कलेज भोट बदर गराई आफू अनुकूल गभर्नर र राज्य सांसदहरूबाट छनोट गरी आफूलाई विजयी बनाउन चाहन्छन् l”

कोही भन्छन्, “उनी, उनको परिवार माथि र उनको व्यवसायको विरुद्धमा २ दर्जन भन्दा बढी मुद्धाहरु परेका छन् र जनवरी २० अघि नै माफी, मिनाहा र उन्मुक्ति दिंदैछन वा आफैँले दिन नैतिक, राजनैतिक र व्यवहारिक रूपमा नमिल्ने देखेर जो बाईडेनसगँ त्यसका लागि बार्गेन गर्दै छन् l” मलाई पनि लागेको यही हो l राष्ट्रपतिमा रहिरहने उनको सम्पूर्ण हतियार भुत्ते र काम नलाग्ने भइसकेकोले जनवरी २१ पछि जेल जानु पर्ने देखेर जालझेल र तालमेलको जाल फाल्दछन् किनकि धेरैले अनुमान गर्दछन्, बाईडेनले शपथ खाएकै भोलिपल्ट नै ट्रम्पलाई हतकडी लगाइनेछ l जनवरी २० २०२१ पछि ट्रम्पले धेरै मुद्धाहरुको सामना गर्नु पर्ने देखिन्छ l ती मुद्धाहरु राष्ट्रपति हुनुपूर्ब वा राष्ट्रपति भएपछि दायर गरिएका दर्जनौँ मुद्धाहरु निलम्बित, स्थगित वा रोकिएका छन् किनकि अमेरिकाको इतिहासमा राष्ट्रपति पदमा बहाल रहेकै बेलामा महाअभियोगको मुद्दा संसद्मा चल्न सक्छ तर अदालतमा आपराधिक मुद्दा चलेको छैन l संविधान यस विषयमा बोलेको छैन तर अमेरिकी प्रचलन, अभ्यास, परम्परा र मान्यता हेर्ने हो भने कार्यकालभित्र राष्ट्रपतिलाई डि-फ्याक्टो ईम्यूनिटी दिएको छ l त्यही विशेष अधिकार प्रयोगले उनी जनवरी २० सम्म बच्न सक्ने स्थिति देखिन्छन् l त्यसपछि उनलाई यो कानुनी छुटकारा मिल्ने छैन राष्ट्रपति हुँदा मिलेको झैँ l जब बाईडेनले व्हाईट हाउस सम्हाल्न पुग्छन् र पूर्व एटर्नी जेनेरल कमला ह्यारिसले ट्रम्पको फाइल पल्टाउन थालेपछि उनको मुद्धाहरु ब्युँतिने वा थाँती राख्ने निर्णय हुनेछ l तर जनदबाब वा जनताप्रतिको ज्यादतीलाई पनि आँखा चिम्लिन सक्ने अवस्था छैन बाईडेन-ह्यारिस प्रशासनलाई l

राष्ट्रपति ट्रम्पलाई फाइदा छ व्हाईट हाउसमा जनवरी २० सम्म तर २१ मै उनी विरुद्धको आपराधिक मुद्धाहरु ब्युँताएर न्यु योर्क राज्यका एटर्नीले दोषी ठहर गर्न सक्छ l हुनसक्छ, लगत्तै सबै मुद्धाहरु एकै पटक नआउलान् ती मुद्धाहरु बिस्तारै आएर बर्षऔँ ट्रम्पले यी मुद्धाहरु खेप्नु पर्ने वा तर्सिनु पर्ने देखिन्छ l जनवरी २१ पछि उनले सिभिल वा क्रिमिनल केसहरूको सामना गर्नुपर्ने देखिन्छ l यी मुद्धाहरु मध्ये कतिमा त उनको विरुद्ध फैसला भए ट्रम्पले कारावासको सजाय भोग्नु पर्ने पनि हुनसक्छ l किनकि उनका पूर्व सहयोगीहरूलाई यी र यस्तै मुद्धाहरुमा जेलको सजायको निर्णय भएको छ l उनी विरुद्धको सबैभन्दा ठुलो र चर्चित मुद्दा न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट कोर्टमा विचाराधीन रहेको छ र सबैभन्दा पहिले त्यही मुद्दा ब्युँझिने देखिन्छ l जुन मुद्दामा ट्रम्पका पुराना मित्र, सहयोगी वा कानुन व्यवसायी माइकल कोहेनले आफूलाई अपराधी स्वीकार गरिसकेका छन् l र उक्त कार्य ट्रम्पको सल्लाह, सहमति, समन्वय र निर्देशनमा गरेको भनेर न्यायालयलाई भनेका छन् l त्यसमध्ये एडल्ट् फिल्म स्टार स्ट्रोमी डेनियल लगायत धेरै महिलालाई विगतमा गरेको यौन सम्बन्ध र बलात्कारका विषयहरू सन २०१६ को चुनावताका बाहिर नआओस् भनेर ती महिलाहरूलाई चुप लगाउन इलिगल हश मनी भुक्तानीको मुद्दा सुरुमै आउने सम्भावना छ l

जस्टिस डिपार्टमेन्टको पोलिसी अनुसार, सिटिँग प्रेसिडेन्टलाई दोषी प्रमाणित गर्न सकिन्न l तर म्यानह्याटन डिस्ट्रिक्ट कोर्टले जनवरी २१ कुरिरहेको छ l ट्रम्पले उनको व्यवसायमा गरेको वित्तीय धोकाधढी, छलकपट र बैङ्क, र बिमा सम्बन्धी अनियमिततालाई उजागर गरी कारबाहीको दायरामा ल्याउन ट्रम्पलाई डिसीबाट न्यु योर्क आउन निम्तो दिएर कुरिरहेको छ जब उनी मरोलोगो नगएर म्यानह्याटन आउँछन् सोझै म्यानह्याटन कोर्टमा लैजाने सम्भावना छ l यसमा विशेष गरेर कर छलेको, कर नतिर्न वा न्यून तिर्न छोरी ईभांकालाई सल्लाहकार शुल्क भनी झन्डै आठ लाख डलर रकम दिएकोलाई अनुसन्धान भित्र राखिएको छ l ट्रम्पले दशकौँ वर्षसम्म ट्याक्स रिटर्नलाई सार्वजनिक गरेका छैनन्, म्यानह्याटन कोर्टले त्यसप्रति चासो गरिरहेको छ l किन ट्रम्पले ट्याक्स रिटर्न जनता सामु देखाउन हिचकिचाई रहेछन् त्यसमा केही गडबडको शङ्का म्यान्ह्याटन कोर्टले गरिरहेको छ l यी वित्तीय छलकपट र बिमा सम्बन्धी अनियमिततामा सुपिना (अदालतमा उपस्थित हुने आदेश) जारी हुँदा समेत सर्वोच्च अदालत गएर वा अनेक बहाना बनाएर वा राष्ट्रपतीय विशेष अधिकार प्रयोग गरेर अनुपस्थित भइरहेका छन् जनवरी २१ पछि ट्रम्पलाई यो विशेष अधिकार प्राप्त हुनेछैन l

अर्को, न्यु योर्क स्टेट एटर्नी लेटिसिया जेम्सले ट्रम्पको व्यवसाय ट्रम्प अर्गनाईजेसनले ऋण लिन वा बिमा कम तिर्न वा कर छल्न आफ्नो चल, अचल सम्पत्तिको मूल्यलाई घटबढ त गराएका छैनन् भनेर अध्ययन, अनुसन्धान र छानबिन गरिरहेकी छिन् l ट्रम्पलाई रियल्टर व्यवसायको मोगुल भनेर प्रचार गरिन्छ तर एटर्नी जेम्सले कहीँ ट्रम्पले रियल्टर व्यवसायको बृहत् आकार र आम्दानी देखाई बैङ्कबाट ऋण लिई बैङ्किङ व्यवसायलाई त धराशायी बनाएका थिएनन् भनेर छानबिन समेत गर्दैछिन् l ट्याक्स छल्ने स्मार्ट हो र म त्यही हुँ भनेर उनीले २०१६ को राष्ट्रपतिका बहसमा स्वीकार समेत गरेका थिए l न्यु योर्क टाईम्सले केही समय अघि ट्रम्पले राष्ट्रपति बन्न अघिपछि शून्य कर तिरेको वा ७५० डलर मात्रै तिरेको भनेर एक्स्क्लुसिभ ब्रेकिँग न्युज प्रकाशित गरेको थियो l न्यु योर्क म्यानह्याटन कोर्टले कर छलेको विषयमा समेत मुद्दा हेरिरहेको छ l

ट्रम्पको कानुनी झमेला वित्तीय मुद्धाहरुमा मात्रै सीमित छैन, उनी व्यक्तिगत आचरण र व्यवहारका मुद्धाहरुबाट पनि घेरिएका छन् l झन्डै दुई दर्जन महिलाहरूले ट्रम्प विरुद्ध बलात्कार र यौन शोषण गरेको मुद्धाहरु परेका छन् र ती मध्ये दुई महिलाले मानहानि र क्षतिपूर्ति सम्बन्धी मुद्दा दायर गरेकोमा त्यसको फैसला चाँडै आउने देखिन्छ l यस मुद्दाले उनी जेल जानु पर्ने देखिन्न तर इज्जत र धन धेरै जाने देखिन्छ l

मनी लन्ड्रिङ् र चुनावमा धाँधली, निर्वाचनमा विदेशी हस्तक्षेप विशेष गरी रसियाबाट भएको र त्यसबाट लाभ लिएको वा सरकारी अनुसन्धान र छानबिनबाट पनि प्रमाणित हुँदा पनि कारबाही नगरेको बरु प्रशंसा गरेका मुद्धाहरु पनि एफविआईमा थाँती रहेका छन् l डिसीमा रहेको ट्रम्प होटेलमा आफू राष्ट्रपति भएको प्रभाव पारी विदेशी सरकारी अतिथिलाई राखेर वा वैदेशिक वा स्वदेशी सरकारी कार्यक्रम गराई अनुचित लाभ त लिई रहेका छैनन् भनेर समेत मुद्दा परेको छ l

आफ्नै भतिजी मेरी ट्रम्पबाट उनी विरुद्ध पारिवारिक व्यवसायमा आफूलाई तल पारेको र भएको मुनाफा र आम्दानी आफूलाई नदिएको भनी क्षतिपूर्तिको मुद्दा दायर गरेकी छिन् l ट्रम्प युनिभर्सिटीमा भएको अवैधानिक कारोबार, क्रेड्न्सियल सम्बन्धी मुद्धाहरु, सन २०१६ मा भएको राष्ट्रपतिको निर्वाचनमा रसियाको हस्तक्षेप र अनुचित प्रभावलाई लिएर जस्टिस डिपार्टमेन्टले ट्रम्पलाई कानुन मिचेको मुद्दा पनि ब्युँताउने प्रबल सम्भावना छ l

यी यस्ता मुद्धाहरु छन् जसले ट्रम्पको नीद हराम र जीवन हैरान बनाएको छ l त्यसैले उनी व्हाईट हाउस बाहिर निस्कन सकेका छैनन् l राष्ट्रपति भवनको बङ्करमा बसेर राष्ट्रपतिको कुर्सी जोगाउन सकिएला भनी दिवा-स्वप्न देखिरहेका छन् l मोरोलागोको थ्याँक्स गिभिँग कार्यक्रमलाई रद्द गरेका छन् l प्रत्येक दिन झन्डै दुई लाख अमेरिकन संक्रमित हुन्छन् र प्रत्येक दिन झन्डै दुई हजारकै ज्यान लिई रहेको छ कोरोनाले l तर उनी दिनहुँ भर्जिनियामा गल्फ खेल्न गैरहेका छन् l कुनै बेला ओबामा गल्फ खेल्न गए भनेर धेरै आलोचना गर्ने ट्रम्प महामारीको बेला जी ८ सम्मेलनमा प्यान्डामिक बारेको छलफललाई छोडेर गल्फ खेललाई महत्त्व दिई रहेका छन् l धेरैले ट्रम्प मूर्ख ठानेका छन् तर उनी मूर्ख हैनन् धूर्त हुन् l गल्फ खेलेर माइनस सात ल्याउने हैन, बाईडेनलाई सत्ता माइनस गर्ने उपाय खोजी रहेका छन् l यी यस्ता उपायहरू कमजोर भए भने र व्हाईट हाउसबाट कारावास जानु पर्ने देखियो भने उनी जनवरी २० अघि नै हुनसक्छ वा नोभेम्बरको अन्त्यसम्म वा डिसेम्बर १४ अघि नै राजीनामा दिनेछन् र माइक पेन्सलाई राष्ट्रपति बनाई उनी, उनको परिवार, उनको व्यवसाय र आचरण विरुद्धको सबै मुद्धाहरु एटर्नी जेनेरल बार मार्फत फिर्ता लिन लगाउनेछन् वा ती मुद्धाहरुमा माफी, मिनाहा र उन्मुक्ति राष्ट्रपति पेन्स मार्फत गराउनेछन् l