अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

फ्रन्ट लाईनर डक्टर एड्लिन फागनप्रति श्रद्धा सुमन

राम कुमार सुबेदी

राम कुमार सुबेदी २०७७ असोज ९ गते २२:५४ मा प्रकाशित

प्रसव पीडा भए पनि नवजात शिशु जन्मिएपछि आमाको अनुहारमा औधी खुसी झल्किन्छ र छचल्किन्छ l अझ पहिलो बच्चामा बढी व्यथा होला तर आनन्दको अनुभूति अर्कै सुखद हुन्छ l यो तस्बिरमा बच्चा बोक्ने नारी, नवजात शिशुको आमा अवश्य हैनन् र उनीले सन्तान सुखको महसुस नै गरेकी थिइनन् l तर पनि यिनी औधी खुसी छिन् किनकि डाक्टर भएर प्रसव महिलाबाट पहिलो बच्चा जन्माउने प्रसूति कक्षमा आफैले अगुवा गरिन् l रेजिडेन्सीमा रहँदा प्रसव अवस्था रहेकी महिलाबाट नवजात शिशुलाई जन्माउन सफल हुनु विद्यार्थीको लागि अन्तिम परीक्षामा सफल हुनु हो तर यिनको यो सफलताको हाँसो दैवले दिगो हुन दिएन l महामारी कोरोनाको प्रकोपका कारण ह्युस्टनको अस्पतालमा कोभिड बिरामीको चाप अत्यधिक बढेको कारणले उनी ईआर र डेलिभरी दुबैमा काम गर्थिन् l अस्पताल प्रशासनले उनी लगायत धेरै डक्टरहरूलाई कोरोना संक्रमित बिरामीहरूको उपचारमा संलग्न गरायो र त्यही बेला अस्पतालको जरुरी कक्षमा कोभिड संक्रमितको उपचार गर्दा गर्दै उनी आफू पनि कोरोना संक्रमित बनिन् l धेरै कोभिड बिरामी अरूलाई बचाइन् तर आफू बच्न र बाँच्न सकिनन् l कोभिडसँगको दुई महिनाको लामो लडाइँमा आफ्नो जीवनको लामो यात्रालाई अट्ठाइस बर्षमै पूर्ण बिराम दिन बाध्य भइन् l

उनी हुन्, न्यूयोर्कमा जन्मेर ह्युस्टनको एक अस्पतालमा रेजिडेन्सीमा दोस्रो वर्षमा रहँदा कोभिड बिरामीहरूको उपचार गर्दा आफू पनि संक्रमित भई कलिलो उमेरमै निधन भएकी डाक्टर एड्लिन फागन l दम र श्वासप्रश्वासकी रोगी एड्लिनलाई सास फेर्न मुस्किल भो l निमोनिया भयो, ज्वरो आयो, सुखा खोकी लगातार लागी श्वासप्रश्वासमा झन् अप्ठ्यारो बनेपछि अस्पतालले भेन्टिलेटरमा राखी उपचार गर्‍यो केही दिन सन्च पनि भइन् तर कोरोनाले अति च्यापेर मस्तिष्कमा धेरै रगत श्राब हुन गई उनले देहत्याग गरिन् l पुरानो कुनै गम्भीर रोग लागेको छ भने मस्तिष्कमा रक्त श्राव भएमा त्यो बिरामीलाई बचाउनु असम्भव त हैन सम्भव हुँदैन, दश लाख त्यस्ता बिरामी मध्ये एक जनालाई बचाउन सकिन्छ भन्छन् डक्टर र अनुसन्धानकर्ताहरू र एड्लिनलाई पनि बचाउन गाह्रो भो भन्छन् उनको उपचारमा संलग्न डक्टर l

सधैँ हाँस्ने एड्लिन वाह, सोह्र वा चौबीसै घण्टा होस् वा सातै दिन काम परोस् घर आउँदा सधैँ हाँसेर आउँथिन् र उनी आएपछि घर नै उज्यालो हुन्थ्यो उनी एक दिदी मौरिन फागन भन्छिन् l उनी थप्छिन्, “आज अर्को बच्चालाई जन्माउन मद्दत गरेँ कहिले भन्थिन् त कहिले कोभिड बिरामीहरूको व्यथा सुनाउँथिन् l उनले उपचार गरेको बिरामीको निधन भएको दिन बाहेक न उनी उदास देखिन्थिन् नत थकित l” उनका पिता ब्रान्ट फागन भन्छन्, “पाँच सात वर्षकी थिइन् होला डाक्टरले घाँटीमा झुन्ड्याउने स्टेथिस्कोप देखेर बजारबाट किनेर ल्याई दिनु भनेर कर गरिन् केटाकेटीले खेलाउने स्टेथिस्कोप खेलौना किनेर ल्याई दिएँ दिनहुँ घरका सबैलाई जाँच्थिन् यहाँसम्म कि घरको कुकुरलाई समेत l अनि भन्थिन् म ठुलो भएपछि डक्टर बन्छु l” एघार वर्षकी हुँदा उनी साह्रै बिरामी भैईन् र उनलाई व्हील चेयरमा राखेर डाक्टरमा लगेँ डाक्टरको कुरा, काम र सेवा भावबाट प्रभावित भएर उनी ’पछि म पनि डाक्टर भएर सेवा गर्छु’ भन्थिन् पाँच वर्षको हुँदा नै स्टेथिस्कोप लाएको र एघार वर्ष हुँदा डाक्टरबाट प्रभावित भएकी मेरी छोरी भविष्यमा डाक्टर हुन्छे भन्ने लागेको थियो l” बच्चामा खेल्दा मलाई जाँच्ने मेरी छोरी ठुली भएर साँच्चै डाक्टर बनेपछि र म साँच्चै बिरामी भएपछि … “ कुरा नसकिँदै भक्कानिए l एड्लिनकी अर्की बहिनी नताली भन्छिन्, “सानी हुँदा नै डक्टर बन्छु भन्थिन्, ठुलो भएपछि पढिन्, अध्ययनको लागि ठुलो र लामो लडाइँ लडिन्, सीएनए बनिन् डक्टर पढ्नका लागि, हामी न्यूयोर्कका बस्थ्यौँ, रेजिडेन्सीका लागि ह्युस्टन गइन् l अन्ततः लक्ष्यमा पुगिन्, लडाइँ जितिन् तर कोरोनासँगको हारिन् l”

उनकी आमा भन्छिन्, “मेरी छोरी साह्रै तर्सेकी थिइन् र थकित l कहिले नडराउने र नथाक्ने मेरी छोरीको अनुहारमा त्रास र थकान थियो l छोरी कोभिडको बिरामी भएकाले भेट्न जान पाइँदैन थियो l दमको कारणले उनी बोल्न सक्दिन थिइन् तर उनको सेलफोन र हाम्रो सेलफोनबाट हामी र उनी एक अर्कालाई दिनभर अघाउँजी हेर्थ्यौं l फोनमा यसरी जोडिँदा हामी उनीसँगै छौँ भन्ने छोरीलाई महसुस होस् भन्ने लागेर हामी हरपल उनीसँग फोनमा सबै सधैँ सँगै हुन्थ्यौँ l मृत्यु हुनु केही दिन अघि छोरीसँग हेराहेर भो, मैले आफूलाई चिन्तित, दुखित र भयभीत बनाइन उनले पनि आँखाको इसारामा आफूलाई केही हुँदैन भनेर मलाई सान्त्वना दिइन् l त्यो पन्ध्र मिनेट भेट मेरो लागि अन्तिम बन्यो l यो टाढाबाटको छोरीको बिदाइ मलाई कति पीडादायक भयो होला म बयान गर्न सक्दिनँ” यद्यपि उनलाई ढाडस् दिन मैले एक थोपो आँसु झारिनँ बरु हाँसिरहेँ” उनी भन्छिन् l यो बिमार लागेपछि बाँचिन्जेल पनि आफन्त नगीच लाँदैन सान्त्वना दिन र मरेपछि पनि अन्तिम संस्कारमा अन्तिम दिन सँगै हुन दिँदैन समवेदना र श्रद्धाञ्जली दिन l” यति नभन्दै उनले आफ्नो आँसु रोक्न सकिनन् तर बोली रोकियो l

उनका पिता ब्रान्ट फागन भन्छन्, “श्रद्धाञ्जली दिने वा उनलाई सम्झिने हो भने यहाँहरूले यति मात्रै गर्दा हुन्छ, “मास्क लाउनु, सोसल डिस्टेन्समा बस्नु l यो यहाँको लागि उचित र आवश्यक नहोला तर अरूको लागि जरुरी र महत्त्वपूर्ण बन्छ किनकि ती हुलाकी हुन सक्छन्, कोही डक्टर वा नर्स वा तिम्रै छिमेकी पनि हुन सक्छन् l”

बहिनी नताली फागन भन्छिन्, “मास्क लाउने र सोसल डिस्टेन्स जस्ता साधारण दुई चीज गर्दा सयौंको ज्यान बच्न, बचाउन र आफू पनि बाँच्न सकिन्छ l यहाँ होक्स ठान्नु हुन्छ यो अन्तिम सत्य हो मेरी दिदी एड्लिन रहिनन् कोभिडका कारण अतः यो होक्स हैन रियल हो l” पिता ब्रान्ट फेरि भन्छन्, “ट्विटर, फेसबुक र अन्य सामाजिक सञ्जालमा मास्क र मास मीटिङबारे पक्ष-विपक्षका कुरा उठ्छन् औषधी र खोप पत्ता नलागिन्जेल र वितरण नभइन्जेल यो मास्क र सोसल डिस्टेन्स नै एक अन्तिम उपाय हो l”

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन्, “कोभिडका कारण अमेरिकनहरूको निधन संसारका अरू मुलुकभन्दा सबैभन्दा कम मृत्युदर हो l” जुन दिन भनेका थिए त्यही दिन अमेरिकामा दुई लाख जनताले ज्यान गुमाएको सङ्ख्या पुगेको थियो l त्यही दिन हो उनले चुनावी आम-सभामा भनेका थिए, “साँच्चै भन्ने हो भने युवा पुस्तालाई कोरोनाले लाने त परै जाओस् छुन पनि सक्दैन l” र त्यही दिन अट्ठाइस वर्षकी डक्टर एड्लिनको कोरोनाका कारण निधन भयो l “युवाहरूको भित्री शक्ति यति छ उनीहरूलाई कोभिड हुँदैन “l हजारौँ बुढा मरेका छन्, लाखौँ पाका मरेका छन् तर कुनै कुनै राज्यमा कुनै पनि युवा संक्रमित भएका छैनन् नत मरेका छन् l” ट्रम्प थप्छन् l वेवमेडको तथ्याङ्क अनुसार अहिले कोभिडका कारण निधन भएकाहरू मध्ये बिस प्रतिशतभन्दा बढी युवाहरूको निधन भएको छ l यो बिस प्रतिशत धेरै अघिको हो र अहिले युवाहरू बढी संक्रमित हुने र निधन हुने विभिन्न सूचना र सूचांकहरुले देखाउँछ l भर्खरै निस्केको एक अत्यास लाग्दो तथ्याङ्कले भन्छ, “अहिले झन्डै चालिस प्रतिशत युवाहरू संक्रमित छन् र यो सङ्ख्या यसरी नै बढ्ने हो भने अरू उमेरकाभन्दा बढी विशेष गरेर बुढापाकाभन्दा युवाहरू बढी संक्रमित हुने देखिन्छ l यसको कारण प्रदर्शन र सभामा युवाहरूको बढी सहभागिता, कलेज, विश्वविद्यालय खुल्नु, मनोरञ्जनका स्थानहरू खुल्दै जानु, समरले सागर र सहरमा युवा सागर जुट्नु, मास्क र सोसल डिस्टेन्सलाई अस्वीकार गर्नु रहेको छ l

पहिलेको पहिलो, दोस्रो विश्वयुद्धमा र अरू लडाइँमा सेना लडेका थिए, शत्रु सेना र राष्ट्रसँग मुलुक र मुलुकवासीको लागि l यो अहिलेको तेस्रो विश्वयुद्ध सेनासँग सेना नभएर कोरोनासँग मेडिकल प्रोफेसनलहरू आफ्नो मात्रै ज्यानको बाजी लाएर हैन परिवारलाई नै खतरामा राखेर लड्दैछन फेरि मुलुक र मुलुकवासीहरूको लागि l अहिलेसम्म विश्वमा हजारौँ मेडिकल प्रोफेसनलले हाम्रो लागि आफ्नो जीवन आहुति दिई सकेका छन् l अमेरिकामा झन्डै हजार जना मेडिकल प्रोफेसनलहरूले कोभिड बिरामीहरूको उपचार, सेवा, शुश्रूषा र हेरविचार गर्दा आफूमा सरेर आफू पनि संक्रमित भई निधन भइसकेको र लगभग एक लाखको हाराहारीमा संक्रमित भएको अनुमान गरिन्छ र तथ्याङ्कहरूले देखाउँछ l अस्पताल र सरकारले बिरामी सङ्क्रमितबाट संक्रमित हुनबाट रोक्न पर्याप्त श्रोत र साधन उपलब्ध नगराउनु, जति संक्रमित बढ्यो उति मेडिकल प्रोफेसनलहरूलाई संक्रमित हुने जोखिम बढ्नु, सेफ्टी प्रोटोकल पालना नगरिनु, अस्पतालले नै सरकारको गाईडलाइन्सलाई बेवास्ता गर्नु रहेको देखिन्छ l

मुलुक चुनावको सँघारमा छ, चुनावको रन्कोले उम्मेदवार र मतदाताहरूलाई पूर्णतः छोएको छ l अश्वेत र आप्रवासीमा लामो समयदेखि गरिएको सुरक्षा निकाय र सीमित श्वेत समूह दमन, बिषवमन, दुर्वचन, दुर्व्यवहार र हत्या, हिंसाबाट आजित भई सडकमा प्रदर्शनकारीहरू एकातिर छन्, भने अर्कोतिर एमएजिए ह्याट् टाउकोमा लाउने तर मुखमा मास्क नलाउने छ फीट परै जाओस् छ ईन्च पनि सोसल डिस्टेन्स कायम नगर्ने ट्रम्प समर्थकहरू सभामा फोर मोर ईयर्स भन्दै सभामा देखिन्छन्, स्कुल खुलेका छन्, कलेज, विश्वविद्यालय खुलेका छन्, समर लागेको छ, बार, रेस्टुरेन्ट खुलेका छन् अनि आजको तथ्याङ्क अनुसार सत्तरी लाख बिस हजार अमेरिकामा संक्रमित भई सकेका छन् l दुई लाख पाँच हजारको निधन भैसकेको छ l विज्ञ र सोध, अनुसन्धानकर्ताहरुले आउने राष्ट्रपतिको शपथ ग्रहणको दिनसम्म चार लाख अमेरिकनहरूको निधन हुनेछ भन्दैछन् l यी यस्ता भयाभय सूचांकले मेडिकल प्रोफेसनललाई पनि पक्कै भयभीत बनाएको हुनुपर्छ र उनीहरूका परिवार र आफन्तहरूलाई समेत ।