अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

को हुन् अलेहाण्ड्रो मायोर्कास (Alejandro Mayorkas)

राम कुमार सुबेदी २०७७ मंसिर १२ गते १३:५६ मा प्रकाशित

अमेरिकाका नव-निर्वाचित राष्ट्रपति जो बाईडेनद्वारा गृह मन्त्री (Secretary Of Dept Of Home Land Security) मा नामाङ्कित अलेहाण्ड्रो मायोर्कासको जन्म क्युबाको हवानामा भएको थियो l क्यास्ट्रोको अत्याचार सहन गर्न नसकी उनी शरणार्थीको रूपमा अभिभावक सहित अमेरिका आएका थिए l उनी स्पेनी भाषा बोल्ने हिस्पानिक, ल्याटिनो समुदायका हुन् l यो समुदाय र अन्य आप्रवासीलाई ट्रम्प प्रशासनले खास निशाना बनाएको थियो l र यिनैलाई तारो र विरोधमा प्रचार गरेर ट्रम्पले सन २०१६ मा चुनाव लडी विजयी भएका थिए l अमेरिकामा सबैभन्दा बढी ल्याटिनो आप्रवासीहरू रहेका छन् l ट्रम्पले २०१६ मा चुनाव प्रचारको सिलसिलामा अमेरिका र मेक्सिको सिमानामा पर्खाल लाउने भनेका थिए र विजय पश्चात् पर्खाल निर्माणको सुरुवात पनि गरेका थिए l र बैध कागजात नभएका, वा कागजात प्राप्त हुन बाँकी आप्रवासी मात्रै हैन बैध कागजात भएका र यहाँसम्म नागरिक आप्रवासी समेतलाई भय, सन्त्रास र खतरा महसुस गरेका थिए यो चार वर्ष l ट्रम्प प्रशासनले ल्याटिनो समुदायका अभिभावकहरूबाट अबोध बच्चाहरूलाई सिमानाबाट खोसेर केजमा राखेको समाचारले संसारभरिका मान्छेहरूलाई दुखित बनाएको थियो र अझै पनि ५ सय भन्दा बढी ती बच्चाहरूलाई कहाँ राखिएको छ कसैलाई पत्तो छैन l

अहिले बाईडेनले त्यही समुदायबाटै त्यसरी नै शरणार्थीको रूपमा आएका अलेहाण्ड्रोलाई त्यही आप्रवासीको विषय र मुद्दा हेर्ने प्रमुखको रूपमा नियुक्ति दिएका छन् l यो विभाग हेर्ने प्रमुखको रूपमा अलेहाण्ड्रो ल्याटिनो समुदायबाट आउने पहिलो व्यक्ति हुन् l गृह विभागले नै आप्रवासीको समस्याहरूको सम्बोधन गर्ने गर्छ l र आप्रवासीको नीति निर्माणमा अहम भूमिका खेल्छ l अलेहाण्ड्रोको नियुक्तिले ल्याटिनो समुदाय मात्रै हैन, नेपाली र अरू आप्रवासीहरूलाई आशाको किरण र विश्वास र खुसी जगाएको छ र अलेहाण्ड्रोको नियुक्तिलाई सर्वत्र स्वागत गरिएको छ l उनको नियुक्तिलाई सिनेटले अनुमोदन गरेमा उनी गृह, अध्यागमन र आप्रवास विभागको प्रमुखको रूपमा प्रथम हिस्पानिक मात्रै हैन प्रथम आप्रवासी व्यक्तिका रूपमा दर्ज हुनेछन् l बाईडेन-ह्यारिस प्रशासन आप्रवासीको लागि ट्रम्प प्रशासन भन्दा फरक र सकारात्मक रहने अनुमान गरिँदैछ र उनको नियुक्तिको सुरुवातीले शुभ सङ्केत गरेको छ l

अलेहाण्ड्रो ६० वर्षका छन् l उनले गृह विभागको सहायक मन्त्रीको रूपमा पहिले काम सम्हालिसकेको र नागरिकता र अध्यागमन विभागको निर्देशकको रूपमा काम गरिसकेका छन् l उनको यही विभागको कामको पूर्व अनुभव, आप्रवासी भएका कारण र स्वयम् शरणार्थीको रूपमा आएकोले गर्दा आप्रवासीहरूको समस्यालाई सम्बोधन र समाधान गर्न सहज र सरल हुने र शीघ्र कार्यान्वयन हुने अपेक्षा गर्न सकिन्छ l अलेहाण्ड्रोले आप्रवासी ऐन, कानुन र नियममा समयानुकूल संशोधन र आवश्यक भए नयाँ नीति र नियम निर्माण गरी लामो समयदेखि थाँति रहेको अध्यागमन र आप्रवासीको मुद्धाहरुलाई अन्त्य गर्दै निराकरण गर्नेछन् भन्ने विश्वास जगाएको छ l अझ, ओबामा प्रशासनमा रहँदा अलेहाण्ड्रोले ८ मिलियन कागजात हुन बाँकी आप्रवासीहरूको नीति DACA जसले नागरिक बनाउने मार्ग प्रशस्त गर्थ्यो त्यो नीति निर्माण गर्न मुख्य भूमिका खेलेका थिए l

त्यसैले धेरै आप्रवासी भन्छन्, “गैर आवासीय जनताका चाहना र विवशता र बाध्यतालाई यिनले बुझेको र आफैँलाई बिझेको कारणले अब केही होला l” बाईडेनले उनलाई होम ल्यान्ड सेक्युरिटी चीफको रूपमा नियुक्ति गरिसकेपछि उनले एक ट्विट गरेका थिए जसबाट आप्रवासीको आशालाई उत्साहित बनाएको छ l उनको ट्विट यस्तो रहेको थियो, “जब म साह्रै सानो (१ वर्षका थिए उनी) थिएँ, संयुक्त राज्य अमेरिकाले मेरा अभिभावक, मेरा परिवार र स्वयम् मलाई शरणार्थीको रूपमा बस्न र बाँच्न दिएको थियो l अहिले म डिएचएस को प्रमुखको रूपमा नामाङ्कित भएको छु, जसले सबै अमेरिकावासीको सुरक्षालाई हेर्ने गर्छ जो आफू र आफ्ना परिवारका सुखद भविष्यका लागि लुकिछिपी नै किन आएका हुन् l”

अतः लामो समयदेखि गलत बाटोमा गएको अध्यागमन कानुनलाई सही मार्गमा ल्याउन अलेहाण्ड्रोले उच्च प्राथमिकता दिनेछन् l ग्रिन कार्ड र नागरिकता दिने व्यवस्थामा भएको विलम्वतालाई तीव्रता दिनेछन् l स्थगित भएको डाका कानुनलाई पून सुरुवात गर्नेछन् l अमेरिकाको मूल्य, मान्यता, परम्परा र इतिहासलाई पून अभ्यास र पुनर्जीवित गर्नेछन् l क्यालिफोर्नियामा विगतमा एटर्नी भएका कारण, अध्यागमन, आप्रवास र सिमाना सम्बन्धी कानुन निर्माणमा भोलि उनले खेल्ने भूमिकाले बाईडेनले भने झैँ ”अमेरिका ईज ब्याक” भन्ने भावना र विचारलाई सफलीभूत बनाउन सहयोग पुग्नेछ भन्ने म विश्वास गर्छु l