अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

अमेरिकी राष्ट्रपतिको निर्वाचन २०२० मा एसियन मूलका अमेरिकी नागरिकहरूको झुकाव:

राम कुमार सुबेदी २०७७ असोज ३ गते २०:३५ मा प्रकाशित

चुनाव हुन दुई महिना पनि बाँकी छैन मत कसलाई दिन्छौ, बाईडेन वा ट्रम्प? एसियन अमेरिकनहरूको मथिङ्गलमा मतका लागि चौबाटोमा उभिएको ठेगाना थाहा नभएको नव आगन्तुक जस्तै भएको छ कतिलाई । तर कतिले मन र मस्तिष्कमा मत कसलाई दिने पहिल्यै तय गरिसकेका पनि छन् । कतिले अझै तय गर्न बाँकी छ । प्रवृत्ति कस्तो छ त्यसका लागि विगतको झुकावबारे इतिहास खोतल्नु पर्ने हुन्छ ।

म सेप्टेम्बर ईलेभेन पछि लगत्तै अमेरिका आएकोले अरू आप्रवासीहरूले जस्तै मानसिक तनाव र त्रास मैले पनि भोग्नु पर्‍यो । परिचय-पत्र बनाउँदा होस् वा राज्य वा सङ्घीय सरकारी सुविधा वा हक खोज्दा होस् अथवा काम वा कलेजमा भर्ना हुँदा हरेक झन्झट, झमेला, अपहेलना र अपमान सहनु पर्‍यो । पालेको जुँगा चट पार्नु पर्‍यो, चट्ट मिलेको टोपी टिनको बाकसमा राख्नु पर्‍यो केही समयको लागि । कर्कल्यान्डमा राज्यको परिचय-पत्र बनाउन जाँदा यति झमेला र ढिला गर्‍यो आफैँले सेवा गरेको नेपालको प्रशासनमा ढिलासुस्ती छ भन्ने दुर्भावना त्यही दिनदेखि हटेर गयो र त्यो दिन त्यो श्वेत कर्मचारीले भनेको कुरा अझै झलझलती छ, “तिमीहरू जस्ता आएर सेप्टेम्बर ईलेभेन भएको !” ऊबेला नै मैले सोचेको थिएँ, पाँच बर्सपछि म पनि अमेरिकन नागरिक बन्छु, र आउने निर्वाचनमा मेरो मत जर्ज बुसको पार्टीलाई दिन्नँ । नागरिक बनेकै दिन नाम मतादाता सूचिमा चढाएँ र रजिस्टर डेमोक्र्याट बनेँ । ओबामालाई दुईपल्ट नै मत दिएँ तर जब हिलारीको नाम डीएनसी कन्भेन्सनले गर्‍यो स्वतन्त्र बनेँ र दुई खराबहरू छान्दा अलि कम खराब हिलारीलाई मत दिएँ । जीत मिस्टर ट्रम्पको भयो, डोनाल्ड ट्रम्प मेरा महामहिम राष्ट्रपति बने ।

२०१६ को चुनावदेखि ट्रम्पको कार्यकालभर आजसम्म मैले भोगेका पिँडा अधिक आप्रवासीले भोगेका झन्डै समान छन् । मलाई कम दुःख भए होलान् तर चार वर्ष अरू आप्रवासीको बढी तथ्य व्यथा, सत्य कथा र भयलाई नजिकैबाट नियालेको छु । र मजस्ता धेरै एसियन मूलका नागरिक, कागजात भएका नभएकाहरूले ट्रम्प अमेरिकाको चार वर्षको पीडादायक मूल्याङ्कन गरिरहेका छन् । इतिहासमा कुनै चुनावमा डेमोक्र्याट त कुनै बेला रिपब्लिकनलाई समर्थन र मतदान गर्दै आएका छन् एसियन मूलका अमेरिकी मतदाताहरूले । तथ्याङ्क हेर्ने हो भने रिपब्लिकनहरूले एसियन अमेरिकिनहरुबाट फाइदा उठाउँदै आएका छन् । १९९२ मा एसियन अमेरिकनहरू मध्ये एक तिहाइले मात्रै डेमोक्र्याट पार्टीका अति लोकप्रिय उम्मेदवार विल क्लिन्टनलाई मतदान गरेका थिए । एसियन अमेरिकन कम मत परे पनि विल क्लिन्टनले बाजी मारेका थिए l तर उनकै श्रीमती हिलारी क्लिन्टनले २०१६ मा असी प्रतिशत मत पाए पनि पराजय हुनु परेको थियो l तर आन्ध्र, प्रशान्त महासागरमा धेरै पानी बगिसकेको छ र न्यूयोर्कको स्वतन्त्रताकी प्रतिमूर्तिलाई धेरै एसियन आप्रवासीहरूले विगतमा भन्दा धेरै सम्मान, सम्झना र सलाम गर्दै छन् l तथ्याङ्कहरूले एसियन मूलका अमेरिकन मतदाताहरू एघार मिलियन रहेको देखिन्छ र अहिले ती मध्ये पैँसट्ठी प्रतिशत भन्दा बढी एसियन अमेरिकन नागरिकहरूले बाईडेनलाई मतदान गर्नेहरू अनुमान गरिन्छ । तीस प्रतिशत एसियन अमेरिकन मतदाताहरूले ट्रम्पलाई रोज्ने पोलहरूले देखाएको छ ।

पन्ध्र प्रतिशत जति निर्णय गर्न बाँकी मतदाताहरू छन् र उनीहरूको रोजाई बाईडेन वा ट्रम्प कोही एक जना अन्तिममा हुने देखिन्छ । स्वींग स्टेटहरूमा एसियन अमेरिकन मतदाताहरूको मतले परिणाममा प्रभाव पर्ने देखिन्छ । जस्तै विन्सकन्सिनका एसियन मूलका हेमोंग किसानहरू, मिचिगन र पेन्सलभानियाका एसियन मूलका मतदाताहरू । बिल क्लिन्टनले त्यस बेला पाएको एक तिहाइको जस्तै हाराहारी एक तिहाइ नै मत ट्रम्पले पनि पाउने पोलहरूले देखाउँदै छ । यहाँ भुल्नु नपर्ने कुरा के छ भने बिल क्लिन्टनले एसियन अमेरिकनबाट एक तिहाइ मात्रै मत पाउँदा पनि विजय प्राप्त गरेका थिए भने ट्रम्पले पनि किन फेरि बाजी नमार्लान् वा क्लिन्टनले एक तिहाइ मात्रै पाएर पनि जिते भने त बाईडेनले एसियन अमेरिकनहरूको पैँसट्ठी प्रतिशत मत पाए भने त सुनिश्चित जीत नै हुने ठोकुवा पनि गर्लान् । यहाँ अर्को आश्चर्यजनक कुरो के छ भने झन्डै असी प्रतिशत एसियन अमेरिकनहरूको मत हिलारीलाई परे पनि ट्रम्पले विजय हासिल गरेका थिए । तर यसपल्ट ट्रम्पले बनाएको पर्खाल “अमेरिका विरुद्ध तिनीहरू” (यूएस भर्सेज देम) नीतिले ट्रम्पलाई २०१६ मा कम्तीमा त चौबीस प्रतिशत मत खसेको थियो त्यो भन्दा अझ कम वा कतिले त एक तिहाइभन्दा पनि धेरै कम २०२० मा खस्ने अनुमान गर्छन् । लामो समयदेखि धेरै भारतीय अमेरिकनहरूको झुकाव डेमोक्र्याटप्रति थियो र छ । २०१६ को निर्वाचनमा भारतीय अमेरिकन मतदानको नब्बे प्रतिशत हिलारीलाई खसेको थियो ।

अहिले पनि झन्डै सत्तरी प्रतिशत उनीहरूको रोजाई जो बाईडेन रहेको छ यद्यपि यो सङ्ख्या विगतमा भन्दा केही कम हो l त्यसको कारण, मोदीसँग ट्रम्पको सुमधुर सम्बन्ध हुनु, गत साल “हाउडी ह्युस्टन” कार्यक्रममा मोदीसँग ट्रम्पको संयुक्त कार्यक्रम राखिनु र मोदी र भारतीय जनता र भारतीय मूलका आप्रवासीको ट्रम्पले त्यस बेला मुक्त कण्ठले प्रशंसा गर्नु र ट्रम्पको भारत बिशेषगरी गुजरात भ्रमणले भारतीय मूलको मत ट्रम्पले तान्न सक्ने देखिन्छ । साथै, भारतीय मूलकी निकी हेलीले ट्रम्पलाई खुलेर समर्थन गरेका कारणले पनि केही मत ट्रम्पलाई जाने सम्भावना देखिन्छ यद्यपि भारतीय मूलकी कमला ह्यारिस बाईडेनकी रनिंग-मेट उप राष्ट्रपति बनाउनु जस्ता कारणले र परम्परागत रूपमा डेमोक्र्याटलाई जाने मतमा पुरै पहिरो नै जाने सम्भावना देखिन्न । अतः अझै पनि पैँसट्ठी प्रतिशतभन्दा बढी मत बाईडेनलाई नै जाने सर्वेक्षणले देखाउँछ l तर भियतनामी अमेरिकनहरूको मत झन्डै बराबर दुवै उम्मेद्वारहरुलाई जाने पोलहरूले देखाउँछ त्यसको कारण, ट्रम्प र रिपब्लिकन पार्टीले बाईडेन र डेमोक्र्याट दललाई लेफ्टिस्ट, कम्युनिस्ट, मार्क्सिस्ट भनेर उग्र प्रचार गर्दै छन् र भियतनाममा कम्युनिस्ट तानासाहीको पीडा भोगेका, देखेका र सुनेकाहरूलाई यो दुष्प्रचारले प्रभाव पार्ने देखिन्छ । र ती कम्युनिस्ट तानासाही शासनबाट मुक्त र उद्धार गरी अमेरिका आप्रवासीको व्यवस्था मिलाउने काम तत्कालीन रिपब्लिकन पार्टीका राष्ट्रपतिले योगदान पुर्‍याएको भनेर सम्झन पुग्छन् । तर कति भियतनामीहरु यो एक चुनावी नारा मात्रै भएको र ट्रम्पको गलत आप्रवासी नीतिले गर्दा पोलभन्दा फरक मतदान हुनसक्छ र बरु बाईडेनले नै बढी मत पाउने एकथरिले बताउँछन् । २०१६ मा अत्यधिक एसियन अमेरिकन मतदाताहरूको झुकाव डेमोक्र्याट पार्टीतिर रहेको र ट्रम्पको एसियन र अरू आप्रवासीप्रतिको दमन र वचनले शून्य नै छ भन्नू गलत मात्रै हैन मूर्खतापूर्ण हुन्छ । किनकि उनको निर्वाचन सभामा देखिएको श्वेतहरूको भीडमा एसियन मूलका अनुहारहरू पनि छ्यासमिस देखिन्छ । तल्लो तहमा अहिले ट्रम्पको केही गतिविधि देखिँदैछ l चिनियाँहरूको चाइनिज कन्जरभेटिब क्लब, भारतीय मूलका रिपब्लिकन हिन्दु कोलिसन समूहले ट्रम्पलाई मतदान गर्न अपिल र अनुरोध गरिरहेका छन् । विगत लामो समयदेखि चिनियाँ मूलका अमेरिकनहरूको मतको झुकाव डेमोक्र्याट पार्टीलाई नै थियो । सन २०१६ को निर्वाचनमा नै ट्रम्पले धेरै कम मत पाएका थिए ।

यस पटक इतिहासमा नै अहिलेसम्म सबैभन्दा धेरै चीनको अमेरिकासँगको बिग्रेको र यसको दोष चिनियाँ अमेरिकनहरूले ट्रम्पलाई लाउँछन् र ट्रम्पको उग्र चीन विरोधी नीति, थप कर निर्णय, र कंगफ्लू, चाइना भाइरस, जस्ता बचनले थप सम्बन्ध बिग्रेको चिनियाँ मूलका अमेरिकी नागरिकहरू विश्वास गर्छन् । अतः चिनियाँ आप्रवासीहरूलाई रिपब्लिकन र ट्रम्प समर्थकहरूबाट अपमान र अत्याचार गरिएको कारणले यस पटक चिनियाँ अमेरिकनहरूको झन्डै सम्पूर्ण मत बाईडेनलाई जाने अनुमान गर्न सकिन्छ l चिनियाँ मूल मात्रै हैन ताईवानीमूलका अमेरिकन जो ताइँवान्को विषयमा चीनको नीतिको विरोध गर्छन् उनीहरू पनि ट्रम्पलाई मत नहाल्ने मुडमा छन् जसको अगुवा डेमोक्र्याटबाट राष्ट्रपतिमा उम्मेदवार बनेर बाहिरिएका एन्ड्र्यू यांगले लिएका छन् l अमेरिकामा नेपालीमूलक झन्डै पचास हजार मतदाताहरू रहेको अनुमान गरिन्छ l नेपालीहरू अरू मूलका नागरिकहरू भन्दा मताधिकारमा प्रयोगमा सचेत छन् l आफ्नै सामाजिक संस्थाहरूको कार्यसमितिको निर्वाचनमा पनि सकृयतापूर्वक लाग्छन् र मतदानमा पनि राम्रो उपस्थिति देखिन्छ । नेपालीहरूको एक विशेष विशेषता छ अमेरिकन आइडलमा होस् वा सीएनएन हिरोमा होस् मतदानमा अपूर्व रूपमा भाग लिन्छन् भने अमेरिकाको स्थानीय निकाय, राज्य, सङ्घीय निर्वाचनमा मात्रै हैन राष्ट्रपतिकै निर्वाचनमा समेत भाग लिन कदापि भुल्दैनन् l नेपालीहरुसगँ मैले विभिन्न राज्यहरूमा सम्पर्क गर्दा र यसपल्ट चुनावमा नेपालीहरूको मतदाताहरूको अन्तरङ्ग बुझ्दा धेरै नेपालीहरूको विचार बाईडेनलाई मत दिने रहेको छ । निर्वाचनमा उम्मेद्वारहरुको प्रचार र प्रसारमा लाग्नेहरूको राय बुझ्दा पनि बाईडेनलाई नेपालीहरूको मत बढी जाने देखिन्छ l लामो समयदेखि अमेरिकी चुनावलाई गहिरिएर निहालिरहनु भएका र नेपालीहरूको झुकावलाई सुक्ष अध्ययन गर्नु भएका एक व्यक्तित्व भन्नु हुन्छ, “नेपालीमूलक खसेको मतको झन्डै असी प्रतिशत मत बाईडेनलाई खस्नेछ l” अमेरिकामा नेपालीहरूको एमसीसीप्रतिको नकारात्मक धारणा, डिभी खारेज गर्ने ट्रम्पको निर्णय, आप्रवासीप्रति ट्रम्प प्रशासनको अन्यायपूर्ण नीति जस्ता विविध कारणले नेपालीमूलक अमेरिकन मतदाताहरूले ट्रम्पलाई मतदान नगर्ने सोच बनाएको देखिन्छ l

यस पटक एसियन अमेरिकनहरूको मूल मुद्दाहरू र मागहरू रिपब्लिकन र ट्रम्पका नीतिभन्दा फरक वा ट्रम्पले चार वर्षमा नचालेका र नचाहेका कार्यहरूमा समर्थन देखिएको छ l जस्तै बन्दुक नियन्त्रण वातावरण परिवर्तन, शिक्षा नीतिमा सकारात्मक परिवर्तन, अश्वेत र आप्रवासीलाई श्वेतलाई झैँ हक, कागजात नभएकाहरूलाई नागरिकताको व्यवस्थाको बाटोमा लैजाने नीति, शान्ति सुरक्षाको रकम अन्यायपूर्ण दमनमा प्रयोग भएकोले उक्त रकम विकास र शिक्षामा स्थानआन्तरन गर्नु पर्ने र स्वास्थ्य बिमा सबैका लागि भन्ने रहेको छ l यी विषयहरूमा रिपब्लिकन र ट्रम्पले ठोस कदम चालेका छैनन् वा चाहेका छैनन् । यसपल्टको निर्वाचनमा एसियन अमेरिकनहरू झन्डै पाँच प्रतिशत अर्थात् एघार मिलियन मतदाता हुने अनुमान गरिन्छ l कोरोनाका कारण मेल ईन भोट् वा ईन पर्सन भोटबारे बहस हुँदै गर्दा र कम मतदान हुने आशङ्का गरिँदै गर्दा पचासी प्रतिशत एसियन अमेरिकन मतदाताहरू यसपल्ट मतदान गर्न उत्सुक र व्यग्र रहेका पोलहरूले देखाएको छ l ट्रम्प अमेरिकाको चार वर्ष कार्यकालमा एसियन मूलका सिख, मुसलमान, अरबी, साउथ ईन्डियन, हिन्दु मन्दिर र परिवारप्रति आक्रमण अत्यधिक बढेको देखिन्छ, हिन्दु वा मुसलमान आप्रवासीहरू जो एसियन मूलका हुन् तिनीहरूलाई रंगभेद, जातिभेद, धर्म र बर्णबिभेदमा राखेर भौतिक र मौखिक आक्रमण आजसम्म पनि गरिएको छ र ट्रम्प प्रशासनले यस विषयलाई हल्का रूपमा लिएको मात्रै हैन अपराधीलाई कारबाही गर्नु त परै जाओस् ट्रम्प प्रशासनले जोगाई रहेको गम्भीर उनीहरूले आरोप समेत लाउने गर्छन् l

अन्त्यमा, एसियन मूलका प्राय: सबै समूहले डेमोक्र्याट पार्टी र त्यसका उम्मेदवार जो बाईडेनलाई समर्थन गरेको अनुसन्धानहरूले देखाउँछ l भारतीय, नेपाली, चिनियाँ, फिलिपिनो, जापानी, कोरियन, र हेमोंग समुदायको अधिकांश मत जो बाईडेनलाई जाने र थोरै केही मत मात्रै डोनाल्ड ट्रम्पलाई जाने विभिन्न अनुसन्धान र सर्वेक्षणहरूले देखाउँछ l तर कम्बोडियन र भियतनामीहरुको मत झन्डै बराबर जाने अनुमान गरिन्छ l उमेरको आधारमा हेर्ने हो भने पनि सबै उमेरका अधिक एसियन मूलका मतदाताहरूको समर्थन बाईडेनलाई जाने पोलहरूले देखाउँछ र अझै युवापुस्ताको त अरू उमेरकाभन्दा बढी बाईडेनलाई जाने आङ्कलन गर्न सकिन्छ l डेमोक्र्याट राज्य, ब्लु स्टेटका अधिक एसियन मूलका अमेरिकन नागरिकहरूको आबद्धता, सकृयता र समर्थन डेमोक्र्याट पार्टी र त्यसका उम्मेदवारलाई छँदै थियो यसपल्ट बाँकी केही रिपब्लिकन, स्वतन्त्र र निर्णय गर्न बाँकी मतहरू पनि ट्रम्पको विरुद्धमा र बाईडेनको समर्थनमा आएका र आउँदै गरेका छन् l अनौठो त, रिपब्लिकन राज्य, रेड स्टेटमा रहेका रिपब्लिकन समर्थक एसियन मूलका अमेरिकी मतदाताहरू पनि दल परिवर्तन गरी डेमोक्र्याटमा जाने वा त्यही दलमा रहेर पनि बाईडेनलाई समर्थन र मतदान गर्ने निर्णयमा पुगेका देखिन्छन् l

अमेरिकाको अर्थव्यवस्थामा मात्रै हैन राजनीतिमा समेत एसियन मूलका अमेरिकी नागरिकहरूले निर्णय र परिणाममा प्रभाव पार्न थालेका छन् । मतदाता मात्रै हैन राष्ट्रपतिको उम्मेदवारी दिने हैसियत राख्न थालेका छन् l सन २०१८ को मध्यावधि निर्वाचनमा एसियन मूलका मतादाताहरूको मतदान उच्च रहेको थियो र कोभिडको कारण होस् वा प्रदर्शन एसियन अमेरिकनहरूलाई मताधिकार प्रयोग गर्न रोकिने छैन तर यदि चुनावमा कुनै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभावपारी आफ्नो मत दिने हक वञ्चित गरियो वा मत हाल्न कुनै रोकावट गरियो भने मात्रै एसियनहरू मतदानबाट वञ्चित होलान् नत्र एसियनहरूलाई आँधीबेहरी, आन्दोलन, बर्खा र गर्मी कुनै पनि समय, मौसम र व्यवधानले रोक्दैन ।

(लेखक एन आर एन ए अमेरिकाका पूर्व उपाध्यक्ष हुनुहुन्छ । )