अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 00:42

ट्रम्प अमेरिका, किन बाईडेन अमेरिका बन्यो

राम कुमार सुबेदी २०७७ कार्तिक २३ गते १३:२९ मा प्रकाशित

देशदेशावर भन्थे, “ट्रम्पको २०१६ को विजय अमेरिका र अमेरिकी जनताका लागि एक दुःखद दुर्भाग्य र दर्दनाक दुर्घटना थियो l” तर यो भनाई त्यसरी नै गलत साबित भयो जसरी २०१६ मा पोलहरूले उनको पराजय हुन्छ भनेर अनुमान गरेका थिए l किनकि उनले हारेर पनि खसेको मतको ७ करोड, वा ४८ % भन्दा बढी लोकप्रिय मत पाएका छन् र २४ वटा राज्यमा जीत हासिल दर्ज गराएका छन् l सिनेटमा सँख्या घटाएनन् बरु तल्लो सदनमा डेमोक्र्याटबाट केही सिट खोसेका छन् l र बढाएका छन् l अश्वेत, स्पेनिस भाषा बोल्ने समुदायले उनलाई भोट नै दिँदैनन् भन्नेलाई २०१६ भन्दा बढी मत ल्याएर झुटो साबित गरिदिए l उनको आफ्नो रुढीवादी पकड मत बाईडेनमा गएन l २०२० मा उनी धेरै कमजोर साबित हुने राजनैतिक पण्डितहरूको पण्डित्याइँ मिथ्या साबित भएको छ l

ट्रम्प हारे l ट्रम्प अमेरिका अहिलेलाई ओझेलमा पर्यो । उनी धेरै कम राष्ट्रपतिहरू दोस्रो कार्यकालका लागि पराजित भएका मध्येहरूमा उनले आफ्नो नाम पनि लेखाए l अमेरिकाको इतिहासमा उनी समेत ४ जनाले मात्रै दोस्रो कार्यकाल देखेनन्, र दोश्रोपल्ट् ट्रम्पको व्हाईट हाउसको प्रवेश निषेध भयो l बाईडेनले बाई बाई गरिदिए l पहिलोपल्ट उनी वासिंगटन बाहिरका मान्छे, राजनीतिक पृष्ठभूमि वा राजनीति बाहिरका व्यक्तित्व र नाफा मुनाफा हिसाब गर्ने व्यवसायी हुन् भनी राजनीतिबाट वाक्क भएकाले मत दिएर जितेका थिए भन्नु अत्युक्ति हुनेछैन l र जनतालाई आशा थियो हाम्रो आवश्यकता र आस्थालाई निराशामा परिणत गर्नेछैनन् तर उनको ४ वर्ष निराशामा परिणत मात्रै भएन आशा र भरोसा नै शून्य सरी बिलाएर गयो l त्यसका केही प्रमुख कारणहरू यी हुन् l

थोरै उग्र पन्थीहरूले मन पराए पनि अति आक्रामक बन्नु उनका लागि घातक साबित भयो l बढी छलाङ मार्न खोज्दा छालले उनलाई नै किनारा लगाई दियो l उग्र बयान बाजी, तीतो बिषबमन, प्रतिपक्षी विरुद्ध मात्रै हैन आफ्नै दल र पहिले आफ्नै घेरामा रहेकाहरूलाई शत्रुको रूपमा देख्ने मात्रै हैन सैतान मान्नु, भन्नु र त्यस्तै व्यवहार गर्नुलाई धेरै मतदाताले मन पराएनन् l लक्ष्मण रेखा नाघेपछि सीता पनि हरण भएकी थिइन् ट्रम्प हार्नु त अस्वाभाविक नै भएन l महिलाहरूप्रतिको उनको गलत धारणा र दुर्व्यवहारको त लामो इतिहास नै बनेको थियो र अर्को पक्षबाट उठेकी एक अश्वेत र एसियन मूलकी उप-राष्ट्रपतिको उम्मेदवारलाई अति अभद्र र भद्दा भाषा र शब्दमा हरेक सभा, भेलामा आक्रमण गरे र जसको उनकै महिला समर्थकहरूले पनि पचाउन सकेनन्, सुन्न सकेनन्, विरोध गरे र त्यस्ता अभिव्यक्तिबाट कति महिला समर्थकहरू अलग भए र सधैँका लागि अलग्ग l परिणामतः धेरै महिलाहरूको मत बाईडेनको झोलीमा पर्न गर्यो l

रङ्गभेद, जातिभेद, वर्णभेद र नश्लीय भेदको पक्षमा उनको व्यवहार र विचार सुन्न, हेर्न र देख्न नसक्ने गरी लाजमर्दो बनाए ट्रम्पले l धार्मिक स्वतन्त्रता, बाँच्ने अधिकार, शरीर, लिङ्ग र रूप रोज्ने अधिकारको खिल्ली मात्रै उडाएनन् त्यसको खिलाफ, बर्खिलाप र वञ्चितमा निरन्तर लागिरहे l आप्रवासीको हितमा त परै जाओस् अमेरिका र आप्रवासीबिच फलामे वा सिमेन्टको वाल हैन स्वदेशी र आप्रवासी दुईको मुटुमा ठुलो प्वाल र अल्गो पर्खाल खडा गरिदिए l त्यसैले यो चार वर्षको यो उकुसमुकुस र अप्ठ्यारोलाई मतपेटिकामा उनको विरुद्धमा खसालिदिए l

अमेरिकी जनता आन्तरिक राजनीतिमा मात्रै ध्यान दिँदैनन् बाह्य कूटनीतिमा समेत चासो राख्छन् l आफ्ना छिमेकी, एलाईज, मित्रहरूलाई चिढ्याएर उत्तर कोरिया र रसियालाई मित्र देश ठानेकोमा अमेरिकी मतदातालाई पक्कै चित्त बुझेको थिएन तर सार्वजनिक विरोध जनाएनन् र गोप्य मतदानमा विरोध दर्ज गरे l जस्टिन ट्रुडेको विरोध गरेर पुटिनको स्तुति गाउनु, र एंगेला मार्केललाई भद्धामा भाषा अभद्र भन्ने तर किम जोङ उनसँग उनी प्रेममा फसेको जस्ता कुराले मतदातालाई नाक, आँखा, कान र मुख थुन्न त बाध्य बनायो तर हात छेक्न सकेन र मतबाट ट्रम्पको बेइज्जत गरिदिए l

जनमतलाई स्वीकार नगर्ने, अमेरिकी प्रजातन्त्रको लामो इतिहास र विरासतलाई ध्वस्त बनाउने उनको वाक्य र दुष्कार्य अमेरिकी जनतालाई पक्कै स्वीकार्य भएन र अमेरिकाको लोकतन्त्र जोगाउन उनलाई अर्को चार वर्षको लागि अस्वीकार गरिदिए l निर्वाचन, चुनाव प्रजातान्त्रिक प्रणालीको एक सुन्दर पक्ष र अव्वल गहना हो र यसको विधि, अभ्यास, प्रक्रिया र परिणामलाई ट्रम्पले निर्वस्त्र र निरस्त्र गरे र यो नग्नता र नाङ्गो नाचलाई हेर्न सकेनन् र मतद्वारा सुसज्जित, सुशोभित सरलीकृत र सुललित बनाई दिए l

राष्ट्रपति हुनुपूर्बको कुरै नगरौँ, त्यसपछि नै उनले हजारौँ झुट बोले, झुटको पुलिन्दा बनाउने हो भने व्हाईट हाउसमा त परै जाओस् अमेरिकाको कुनै पुस्तकालय वा अभिलेखालयमा थन्क्याउन गाह्रो हुन्छ l झुट माथि, झुट, एक गल्ती माथि अर्को गल्ती र एक भ्रम माथि अर्को भ्रमको क्रम मात्रै बनेनन् सर्म नै लाग्ने भो l देश देशावरले ट्रम्पको अर्को नाम झुट भन्नेसम्म भने l सारा संसारले ट्रम्पले बोलेको हरेक कुरालाई हल्का रूपमा लिए, युएनदेखि इयूसम्म, नेटोदेखि भिटोसम्म, जिएटदेखि मिडलईस्टसम्म ट्रम्प हाँसोको पात्र बने l ट्रम्पको विचार र व्यवहारले रियालिटीलाई रियालिटी सो मा परिणत गरिदियो l जुन काम र कुरालाई अमेरिकी जनता यहीँ र यही समयमा रोक्न चाहन्थे र मतद्वारा विराम लगाई दिए l रियालिटी सो लाई द ईन्ड भनेर पर्दा खसाई दिए l

एउटा जातको पक्षमा उभिनु, एउटा धर्म बाहेक अरू धर्महरूको विरुद्धमा देखिनु र एक्काइसौँ सदीमा चौधौँ सदीको लुई चौधौँ जस्तो बनेको देखेर उनको व्यवसायमा उनले ब्यांकक्रप्ट फाइल गरे जस्तै जनताले उनलाई लस्ट् गरिदिए l ट्विटले शासन गर्नु फिट हैन, राइट हैन भनी भोटद्वारा, ब्याटलेद्वारा फाइट गरे र ट्विटरलाई साइट लगाए र करेन्ट गरे l उनको सफल(?) व्यवसायी चरित्र र अनुभव राजनीतिमा असफल भयो l जनता, मतदाता वाक्क, ब्याक्क, दिक्क भए त्यति मात्रै हैन उनका समर्थक, उनका अनुयायी र उनका घेरामा रहेकाहरूले पनि मरेको जन्तुलाई झिँगाले जस्तै छोड्न थाले वा ओह्रालो लागेको मृगलाई बच्चा र बाछाले लखेटे झैँ लखेटिदिए l

सयौँ वर्षको अमेरिकाको एकता इतिहासमा बादल लाग्यो, विभाजनरूपी चट्याङको गर्जन भो l एक अर्कालाई हेर्ने, देख्ने, सोच्ने र व्यवहार गर्नेमा ठुलो ध्रुवीकरण भयो l कोरोनाले अर्थव्यवस्था तहसनहस मात्रै पारेन इतिहासमा भएका लडाइँ जहाँ अमेरिका लडेको थियो अथवा विगतमा महामारीद्वारा जति अमेरिकनको मृत्यु भएको थियो ती सबै रेकर्डलाई तोड्न पुग्यो र ट्रम्प त्यो रेकर्ड तोडिएको खुसी जस्तै देखिए वा उनले जति अरू कसैले नगरेको र भोलिका दिनमा पनि कसैले गर्न नसक्ने भनेर तीन भित्ता उफ्रिए तर वास्तविकता त्यो भन्दा फरक मात्रै हैन शून्य सत्य साबित भयो, हुँदैछ l कोभिडप्रति ट्रम्पको बारबारको फरक विचार र बेवास्ताले जनता र मतदाता रिसाएन मात्रै अति पीडित पनि भए l आफन्त गुमाए, रोजगारी गुमाए, बन्दब्यापार बन्द भए l स्कुलको बेन्च, कुर्सी, ब्ल्याक बोर्ड खाली र सुनसान भो l समर दूर भो l चाड उनीहरूको लागि पहाड भो l तर ट्रम्प नीरो जस्तो देखिए अनि जनता होप र होममा जिरो हुँदै गए l जनतासँग ट्रम्पसँग लड्ने तागत थिएन मतद्वारा लडे र ट्रम्पलाई लडाए l

वासिङ्टन बाहिर अमेरिका छैन वा अमेरिका हैन भन्ने जनताका भावनालाई ट्रम्पले डिसी बाहिर पनि अमेरिका छ भन्ने भावना अनुभूति गराउलान् भन्ने चाहना र धारणालाई उनले धुली मैदान बनाई दिए l अमेरिकी संसार भन्दा आफ्नो परिवारलाई उनले देखे l जनताको बन्दब्यापार बन्द र बेरोजगार बनेको चिन्ता भन्दा परिवार र आफ्नो व्यापारमा चिन्तित हुने कुराले राजनीतिबाट विचलित बनाई दियो l

कोरोना पूर्व अर्थव्यवस्था मजबुत बनेको थियो वा ट्रम्पले दरिलो बनाएका थिए l बेरोजगारी दर अहिलेसम्मकै कम थियो त्यस बखत l केही विमति र असहमति भए पनि डेमोक्र्याट पनि अर्थव्यवस्था र वित्तीय सुधार र रोजगारमा ट्रम्पको कदमलाई साथ र सह्राना गरेका थिए l उनको यही कर्मलाई लिएर डेमोक्र्याटले ल्याएको बेमौसमको महाअभियोगको प्रस्तावलाई रिपब्लिकन मतदाताले मात्रै हैन डेमोक्र्याट मतदाताहरूले पनि रुचाएनन् र असफल पनि भो l लोकप्रियता पनि बढेर जाँदै थियो l तर महाअभियोग प्रस्ताव परास्त भएपछि ट्रम्पले आफूलाई बहरलाई सहरमा छोडेको साँढे झैँ माने, ठाने र त्यस्तै कर्म गर्न थाले l र सहरियाले साँढेले सहरमा अझै बढी अत्याचार, बिगार र व्यभिचार गर्ला भनेर पिट्ने, हप्काउने वा दप्काउने झैँ गरेनन् तर मतदाताहरूले मतद्वारा लखेट्न पुगे l

ट्रम्प कोरोनाका कारण, रङ्गभेदका कारण र आप्रवासीको कारणले हारे भन्नु तथ्याङ्कलाई मिथ्याँक साबित गर्नु हो l कोरोना बढेको टेक्ससमा उनले जितेका छन् l अश्वेत र स्पेनिस भाषा बोल्नेहरूको मत पहिले भन्दा बढी मत पाएका छन् l बाईडेनले अहिलेसम्मकै सर्वाधिक लोकप्रिय मत पाए भने ट्रम्पले पनि बाईडेन बाहेक सबैलाई जितेका छन् l देशमा महामारी भई त्यसको मुकाबिला र नियन्त्रण गर्ने, अर्थव्यवस्था तहसनहस र चरम आर्थिक मन्दीबाट उभार गर्ने, र लडाइँमा अमेरिका जाँदा कमान्डर ईन चिफको भूमिका गर्ने प्राय: राष्ट्रपतिहरुले दोस्रो कार्यकालका लागि विजय हासिल गरेका छन् तर ट्रम्पले आईसिएस नेताको अन्त्य गरे, कोभिड पूर्व रोजगार, अर्थव्यवस्था र वित्तीय प्रणालीलाई सही मार्गमा ल्याई रहेको बेलामा पराजयको मुख देख्नु परेको छ l तर धेरै रिपब्लिकनहरू उनलाई रिपब्लिकन पार्टीमा फेरि देखिरहन चाहन्छन् l २०२४ मा पुन राष्ट्रपतिका रूपमा देख्न चाहन्छन् l रुढीवादी रिपब्लिकन समुदाय अझै पनि ट्रम्पलाई आफ्नो नेता मान्न तयार मात्रै हैन पूर्णरुपेण स्वीकार गर्छन् l र रुढीवादी सिद्धान्तलाई पालन र पालना गराउने, गर्ने प्रमुखको रूपमा राख्न रुचाउँछन् l ट्रम्पले पालन र पालना गराएको यो ध्रुवीकरण, यो विभाजनको अप्ठ्यारो र बांगोटिङो रेखा अब अमेरिकी जनताका लागि एक अनिवार्यता, बाध्यता र विवशता भई सकेको छ र यसलाई पूर्णतः मेट्न धेरै लामो र कठिन यात्रा तय गर्नुपर्छ l तर नव-निर्वाचित राष्ट्रपति जो बाईडेनले असल मनसाय र अव्वल कार्यद्वारा कम्तीमा यसलाई कम गर्न सक्छन् l

(उहाँ एन आर एन ए अमेरिकाका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।)