अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 18:52

ऊनले सोधे तपाई नै विनोद रोका हो ?

विनोद रोका, न्युर्योक २०७७ कार्तिक १३ गते ७:५२ मा प्रकाशित

ऊनले फेरी मलाई सोधे तपाइनै विनोद रोका हो? मैले उन्लाई भने भने हजुर, हो। एक जना पुरुष र एक जना महिला मेरो ल अफिसमा इमिग्रेसनको काम लिएर आउनु भो। कोरोनाको कहरका बिचमा पनि जरुरी कामका लागि ल अफिस खोल्नु पर्ने बाध्यता छ। सीमित रूपबाट ईमिग्रेशन र अदालतका कामहरू टेलिफोन र ईन्टरटेटबाट भईरहेका छन् । न्युर्योकमा सुरुमा जस्तो कोरोनाको महामारी छैन। विशेषतः नेपाली समुदायका मानिसहरूले बचाउका उपायहरू अपनाउने गरेका हुँदा यो रोगबाट कम प्रभावित भएका छन्।

यी नव आगन्तुकहरू मेरो नयाँ क्लाईन्ट थिए। यिनीहरूलाई मेरा अर्का क्लाईन्ट शेर्पाभाईले सिफारिस गरेका रहेछन्। पेसामा लामो समयसम्म उठबस हुँदा यो परदेशमा क्लाईन्टहरुसंग पनि दाजुभाइ, दिदी बहिनी र आफन्तीको जस्तै सम्बन्ध गासिदो रहेछ। शेर्पाभाईसंग पनि यस्तै नजिकको सम्बन्ध छ। हामी एक अर्कालाई माया र विश्वास गर्दछौ । र एक अर्कामा राम्रा गुणहरू नै देख्दछौ । त्यसैले आउनु भन्दा अगाडी नै मलाई फोन गरेर शेर्पाभाईको रेफरेन्स दिएका थिए। उन्ले भनेथे “ मेरो वकिल त अर्कै हो तर शेर्पाजीले तपाई एकदम राम्रो हुनुहुन्छ । सबै काम आफैले हेरि दिनु हुन्छ। खोजेका बेलामा भेट्न र बोल्न पाइन्छ भन्नु भएकाले आउन लागेको ।” मैले सुरुमा त यो कोरोना साम्य भएपछि आऊनुस न भने। तर ऊन्ले मानेनन्। अनि मैले पनि नाइँ भन्न सकिन। शेर्पाभाईले मेरो लागि व्यक्त गरेको विश्वासलाई मैले उन्का लागि मात्रै भए पनि कायमै राख्नु थियो। जीवनको मोडहरूमा बिरलै मात्र यस्ता सज्जन र हितैषी मान्छेहरू पाइन्छ जसले अरूमा केही राम्रा गुणहरू देख्छ।

मैले उहाहरुसंग पटक पटक फोनमा कुरा गरे। मैले फोन र इमेलबाटै इमिग्रेसनका लागि चाहिने धेरै जसो जानकारी लिए। जसले गर्दा प्रत्यक्ष सम्पर्कको समय छोटो होस। अनि बाकी काम पुरा गर्न फोटो लिएर अफिसमा बोलाएको थिए। हामी बिचमा सामाजिक दुरी कायम थियो तर मास्क भने लगाएका थिएनौ। ल अफिसमा म र उनीहरू दुई जना मात्रै थियौ। गर्नु पर्ने वाकी काम पनि म आफैले गरे। काममा कुनै सहायक थिएनन्। किनकि कोरोनाको समयमा काममा पाउने तलब भन्दा सरकारले दिने बेरोजगार भत्ता नै बढी र सुरक्षित छ।

मैले काम सके। तयार भएका फार्महरूमा सही गर्न लगाए। र आफूले पनि सही गरे। अनि मैले उहाहरुलाई तपाईँको कागज भोलि हुलाकबाट ईमिग्रेशन अफिसमा पठाउँछु । अब जानुहोस् । अनि शेर्पाभाईलाई पनि मैले धेरै सम्झिएकी छु भन्दीनुस है भने । जानु भन्दा अगाडी मलाई उन्ले अनुहारमा हेर्दै फेरी सोधे “ तपाइनै विनोद रोका हो”? मैले मुस्कुराउँदै भने। हजुर हो। उनीहरू मेरो ल अफिसबाट म विनोद रोका हो कि होइन? दोधारमा पर्दै बाहिर निस्किए। किनकि उनीहरूले सुने र सोचे जस्तो विनोद रोका म सायद थिइन।

अनि मैले यो घटना शेर्पाभाईलाई फोनबाट सुनाए। उन्लाई जिस्किँदै भने भाइ तिमिले मलाई कसरी चिनायौ, तिमिले पठाएकोले मान्छेले त काम गरी सकेपछि पनि मलाई विनोद रोका हो भनेर विश्वासै गरेनन्। अब देखि यस्तो भ्रम पर्ने गरी अरूलाई मेरो परिचय नदेऊ है। मेरो कुरा सुनेर शेर्पाभाई धित मारेर हासे। र भने दाइ कहिले काहि यस्तो रमाइलो घटना घट्छ। र यसले फाइदा पनि गर्छ। अनि उन्ले आफूलाई नेपालमा हुँदा माओबादीहरुसंग भएको घटना स्मरण गराए। ऊन्ले भने दाइ म एउटा रिर्सोट चलाएर बस्थे। माओवादीहरू अग्रिम सूचना दिएर चन्दा माग्न रिसोर्टमा आएका थिए। म त्यस बेला सफाइको काम गरी रहेको थिए। मलाई सोधे तिमि काम गर्ने मान्छे हो ? मैले हो भने। अनि मलाई माओवादीहरूले भने यो रिसोर्टको मालिक फलानो कहाँ छ बोला त, मैले भने मलाई थाहा भएन हजुर। म त काम गर्ने मान्छे हो। अनि ती माओवादीहरूले भने मालिक आएपछि हामी आएका थियौ भनी दिनु है भन्दै चन्दाको चिठी थमाएर गए।

यस्तै यस्तै घटनाहरू मसँग पहिला पनि घटेका थिए। अनि मैले एउटा गीत लेखेको थिए। म त खाली थिए कसैले नाम लेख्यौ। त्यही नामले मलाई छेक्यो। आदि। र त्यो गीतलाई जानी नजानी आफैले गाएर मोबाईलको भ्वाईस मेमोमा रेकर्ड गरे। त्यो रेकर्ड मेरा ध्यानबन्धु एवं आइटी प्रोफेसनल आभास पोखरेललाई दिए। उन्ले केही दृश्यहरूको संयोजन गरी दिए। अनि मैले आफ्नो सोख मेटाउन यु ट्युबमा अपलोड गरे।

प्रतिक्रिया