अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

छेकिएको म

विनोद रोका, न्युर्योक २०७५ असार १५ गते १२:१७ मा प्रकाशित

धेरै भयो अरूका बारेमा थाहा पाउने प्रयास गरेको अनि लेखेको। तर आफ्नै बारेमा थाहा पाउने र लेख्ने तर्फ कहिल्यै सोचिएन। जानी नजानी कथा, कविता, गीत, टुक्रा मबाट लेखिए र सार्वजनिक पनि भए। विशेष गरी गीत र आध्यात्मीक अभिव्यक्तिहरू भने सङ्गीत र स्वरको माध्यमबाट बाहिर ननिस्कँदा ती छटपटाऊदा रहेछन्। अनि एउटा श्रृजनालाई बाहिर ल्याउनु पर्दा सङ्गीतकार, गायक, एरेन्जर, डाईरेक्टर, मोडल आदि भएन भने त्यो त्यसै हराऊछ। यति खर्च गरेर निस्किएको श्रृजना हिट नै हुनु पर्छ भन्ने मान्यता रहने हुँदा बजेटको लेखाजोखा हुँदैन। रचनाकारले आफ्नै खर्चबाट निकालेको खण्डमा सबै जोहो उसैले गर्नु पर्दछ। गीत राम्रो चल्यो भने गाउनेको नाम चल्छ। रचनाकार हराउँछ। अनि बजारमा हिट नहुने रचनाहरूलाई अरूले खर्च गरेर गाऊदैन। यसरी चल्छ भनेर निस्किएको श्रृजना सबै हिट नै हुन्छन् भन्ने ग्यारेण्टी पनि हुँदैन।

मैले कोरेका भजन र गीतहरूको सङ्ख्याको मmण्डै दुई ठेली भएछन्। यिनीहरूले मलाई घचघच्याऊछन गाइदे भनेर। तर म गाउन र बजाउन त्यति जान्दिन। रहर लाग्छ त्यसैले जिस्कीन पनि छोड्दिन। यही जिस्कने क्रममा निकै गीतहरू घरभित्रै बसेर गाउँदै छु। त्यसमध्येको एउटा यो आफैलाई म को हु? भन्दै खोज्ने क्रममा केही सुनेर र केही अनुभवको आधारमा निस्किएको एउटा भावलाई किवोर्ड र ऐपबाट बज्ने तबलाको माध्यमकाट गाउने प्रयास गरेको छु। जसले गर्दा खर्च पनि बच्यो र मेरो उद्देश्य पनि पुरा भयो। किनकि भएकै नाम र यसमा जोडिएका विशेषणहरूले म पुरिएर हराएको हुँदा उल्खनन गर्दैछु।

मेरो यो साङ्गीतिक अभिव्यक्ति मेरै संन्तुष्ठिको लागि अनि जीवनको पाटोलाई म को हु< भनेर आफै भित्र खोज्ने जिज्ञासुहरूको लागि हो नकि हिट होस भन्ने। त्यसैले यो मेरो पहिलो प्रयासलाई सार्वजनिक गर्ने निधो गरे। यद्यपि गायक मोहन भुसालजीले फेरी एक पटक ट्राई गनुहोस भन्नु भएको थियो। त्यो फेरी अर्को चोटिलाई। अनि गीतलाई दृश्यहरू राखेर सहयोग गर्नुहुने साधक भाइ आभास पोखरेल प्रति आभारी छु।सबैको मङ्गल होस।

प्रतिक्रिया