अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

मलाई पनि कवि हुन मन लागेको छ

युवराज मैनाली  २०७७ असोज १२ गते २१:१८ मा प्रकाशित

धागो चुँडिएको चङ्गाझैँ
आकाशमा उडिरहनुपर्छ कि ?
हावै हावाले भरिएको
बेलुनझैँ फुलिरहनुपर्छ ?
हात हातमा गुलाफ बोकिरहनुपर्छ कि ?
पात पातमा नाचिरहनुपर्छ ?
भन त कविजी !
कविता स्वादिलो बनाउन
कुन कुन मसला हालिनुपर्छ ?

हुरीझैँ चलिरहनुपर्छ कि ?
प्यास मेटेर ढलिरहनुपर्छ ?
बाढीझैँ उर्लिनुपर्छ कि ?
बाघझैँ कुर्लिनुपर्छ ?
भन त कविजी!
अब्बल कविता लेख्न
पर्छ कस्तो अभिनयको खाँचो ?

दमाहाझैँ ढाडिँदै
पर्छ कि गरिबीको सारङ्गी रेट्न ?
अक्षरहरू आफ्नै पसिनाका हुनुपर्छ कि ?
अथवा लिनुपर्छ कसैबाट सापटी
बैसाखी टेक्न ?
भन त कविजी !
के के को खाँचो पर्छ -अब्बल कविता लेख्न ?

गद्य वा पद्यको कुन पसलमा
पाइन्छ कविताको – दिव्यज्ञान ?
प्रकाशनका कुन गृहले
बढाइदिन्छन् कविताका मान ?
कसको कुन संस्थाको सम्मानले
बढ्छ कविको सान ?

सपना पनि यस्तै मात्र देखिरहने
बिपनामा पनि यस्तै मात्र सोचिरहने
मलाई अचम्मको नशा लागेको छ
कवि बनौँ बनौँ भन्ने भोक जागेको छ
भन त कविजी !
वरिष्ठताको उपाधि पाउन
के के खेल खेल्नुपर्छ ?
कति पापड पेल्नुपर्छ ?

झोला कुन रङ्गको बोक्नुपर्छ ?
अभिवादन कुन ढङ्गको ठोक्नुपर्छ ?
सौगात के के बोक्नुपर्छ ?
मन्त्र के के जप्नुपर्छ ?
बोलीवचनमा पालिस लगाउँदै
कुन समीक्षकको कति परिक्रमा गरेपछि
उच्चताको मान मिल्छ ?
भन त कविजी !
त्यो प्राप्त गर्ने कस्तो कस्तो सूत्र हुन्छ ?

मलाई पनि कवि हुने मन छ
अझ अग्लिँदै माथिमाथि
कवि भएरै
जून छुने मन  छ !!

*
धुम्बाराही : काठमाडौँ