अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

बगलिमाराको विवेक

शेखर ढुङेल २०७७ असोज ९ गते ९:४२ मा प्रकाशित

यात्रा स्मरण

यात्रा न हो जीवन दुख सुख गरिबी अभाव र असल खराब मानिस जुन देश र समूहमा पनि रहने सायद यो सृष्टिकर्ताको नियम हो वा नियति हो, आफ्नै परिवार आफ्नै समाज र आफ्नै देश आफ्नो प्रतिकुल हुनु वा त्यो भन्दा उम्दा अवसरको सम्भ्यावाताले वा विविध बाध्यताले आज विश्वको मानिस एक कुनाबाट अर्को कुनामा भौँतारिन पुग्न थालेको छ, हिजो जुन देशमा ती देशका मात्र नागरिकको विशेष अनुहार र पहिरन देखिन्थ्यो अब त्यो रहेन, यहाँ सम्म कि एउटा स्मरण छ मेरो छोरी CPA को अध्ययनको लागि करिब डेढ वर्ष लन्डनमा पुगेकी थिइन् फर्केर आएर साथीले सोधे के सिकिस् लन्डनमा उनको जवाफ थियो हिन्दी राम्रोसँग सिक्ने मौका मिल्यो अर्थात् लन्डनमा भारतीय बङ्गाली पाकिस्तानीको वर्चस्व त्यो हद सम्म पुगेको छ र भन्न खोजेको भाषा भेष समूह असल खराब पनि आज विश्वमा नै घुलमिल हुन् पुगेको छ ।

अहिलेको अवस्थामा विविध कारणले विद्रोह वा क्रान्ति अवस्थामा अर्को देशमा शरण लिनेहरूको सङ्ख्या पनि विश्वव्यापी हुँदैछ त्यहाँ हुने अभाव गरिबीका पीडाले मानिसहरूलाई नकारात्मक कर्म गर्न पनि बाध्य बनाइ रहेको देखिन्छ र अहिले फ्रान्स बेल्जियम स्विजरल्याण्ड स्पेन जर्मन आदि देशमा बाहिरबाट बसाइ सरि एक केही समुदायका केही युवाहरूमा यस्तो प्रवृत्ति प्रति प्रेरित रहेको स्वयमले भोगेको मात्र स्मरण पोख्दै छु
सन् २००० मा जब म पहिलो पटक युरोप (बेलायत जर्मन नर्वे फ्रान्स) भ्रमणमा गएको थिए । पहिलो पटकको भ्रमणमै मैले तितो र अनौठो अनुभव गरेको थिए जब फ्रान्सको विमानस्थल अगाडी मेरो बगली मारियो मेरो कोटको बगलीमा रहेको जहाजको टिकेट र नगद डलर बाहेक सबै उडाइ दिएको थियो म पेरिसको विश्व प्रसिद्ध, इफेल टावर चढेर ओर्लिएको मात्र थिए, मलाई फोटो खिचाउने होइन ? भन्दै एक जना आप्रवासी अनुहार अगाडी आयो मैले भने मेरो आफ्नै क्यामेरा छ यही क्यामेराले खिची दिनुस् न उसले हुन्छ भनेर क्यामरा लिएर खिची दिए म धन्यवाद, विमानस्थल तर्फ लागे चार्ल्स डे भेगास विमानस्थल पुगेर ट्याक्सीलाई पैसा दिन बगलीमा हात पुर्‍याए पछि थाहा भयो बगली मारिएको रहेछ ।

ट्याक्सी चालकले भने यहाँ यस्तै हुन्छ धन्न तिम्रो क्यामेरा समेत लगेन छ यहाँ त फोटो खिची दिन्छु भन्दै हातमा लिएर पछि पछि हट्दै भाग्छन् । फोटो खिचिए पछि खोइ खोइ कस्तो आयो भनेर शरीरमा जोडिन आइ पुगेको थियो त्यही बेला उडाएको महसुस भयो मेरो अस्ट्रेलियन सवारी चालक अनुमति पत्र नेपाली सवारी चालक अनुमति पत्र विभिन्न क्रेडिट कार्ड लगायत धेरै महत्त्वपूर्ण व्यक्तित्वहरूको कार्ड गुम्न पुग्यो जसको कारण २ हप्ते नर्वे भ्रमण छोट्टाएर ५ दिनमा नै फर्कनु पर्‍यो । फर्कने बेलामा पेरिसबाट हिथ्रो विमानस्थल हुँदै नेपाल आउनु पर्ने मेरो लगेज नैरोबी पुगेर १५ दिन पछि मात्र आइ पुगेको थियो । भ्रमण कै क्रममा म २०१४ मा दोस्रो पटक युरोपको भ्रमणमा थिए, त्यो क्रममा लामो बसाइ स्पेनको बार्सिलोनामा भयो, स्विजरल्याण्डमा भएको गैह्र आवासीय नेपालीहरूको क्षेत्रीय भेलामा भाग लिएर बेल्जियम लम्जम्बर्ग र टर्की हुँदै स्पेन फर्केको थिए । विमानस्थलबाट वासस्थान सम्म पुग्न रेलको यात्रा थियो ।

जब म बार्सिलोना स्पेनको मुख्य रेल अखडा बार्सिलोना SANTS (स्टेसन )पुगे । त्यो भिड भाडमा म विदेशीलाई आफ्नो गन्तव्यमा पुर्‍याउने रेल र लाइन खोज्नु सहज त थिएन, सूचना पाटीमा आफ्नो गन्तव्य र रेल खोज्दै थिए । २ मिनेट भित्र आइपुग्दै रहेछ म सिँढीबाट जाऊ कि लिफ्टबाट सोच्दै थिएँ एक जना अपरिचितले मलाई धकेलेर लिफ्ट छिटो हुन्छ भन्यो । उसैले लिफ्टलाई माथि तान्यो पहिले उ छिर्‍यो अनि म छिरे र अरू ५/७ जना पनि छिरे जब लिफ्टको ढोका बन्द हुन् आटेको थियो त्यो मानिस बाहिर निस्कियो । म छक्क परे तर मतलब भएन सायद न जाने सोच भयो होला भन्ने ठाने । दुई तला मुनि पुग्दा नपुग्दै रेल छुट्यो । बिहान बेल्जियम देखि टर्की (इस्ताम्बुल) हुँदै स्पेनको जहाजको थकाइले गर्दा अर्को ५ मिनेट रेल कुर्नु पर्दा म कुर्सीमा बसेको मात्र के थिए, कसैले मेरो कुममा हात राख्यो र कोट्यायो । मैले त्यो अपरिचित पट्टि फर्किएको मात्र के थिए उसले मेरो बगलीमा रहेको मेरो ब्याग पो हातमा थमाई दियो । उसले त्यो मेरो ब्याग (बगलीमा राख्ने मनी पर्स) हातमा थमाएर तत्काल आफ्नो बाटो लाग्यो । अब मेरो दिमाग घुम्न थाल्यो कसरी कुन बेला मेरो बगली मारियो ? अनि किन फिर्ता गर्‍यो ? मैले ब्याग खोलेर हेरे मेरो चालक अनुमति पत्र क्रेडिट कार्ड डेबिट कार्ड लगायत अन्य कागज सकुशल थियो । माथि उल्लेख गरी झैँ मैले २००० पेरिसमा बगली मारिए पछि पनि न्यूनतम रकम बाहेक ठुलो रकम (क्यास) जहिले पनि अगाडिको बगलीमा वा कोट वा ज्याकेटको बगलीमा मात्र राख्ने गरेको छु । सायद उसलाई काम लाग्ने केही थिएन र म विदेशी प्रति माया लाग्यो ? वा विवेक प्रयोग गर्‍यो ? फिर्ता गरी दियो ?

मलाइ स्मरण भयो बेल्जियम प्रहरीको भनाइ, ब्रसेल्स बेल्जियममा मेरो ल्यापटप र लगेज रेलको क्याबिनबाट चोरिदा म प्रहरीकोमा पुगेको थिए । प्रहरी अधिकारीले भनेका थिए माफ पाउ सर तपाइको राहदानी वा अन्य कागज पत्र हाम्रोमा फिर्ता हुन् सक्छ तर ल्यापटप फिर्ता हुने सम्भावना छैन । प्रहरी अधिकारीका अनुसार बिक्ने सामान र नगद बाहेक अन्य सामान यदि अति जरुरी को छ तर चोरहरू वा बगलिमाराहरुलाइ काम नलाग्ने छ भने उनीहरूले पीडितको ठेगाना भए त्यहाँ र न भए प्रहरीकोमा हुलाक मार्फत पठाई दिने गर्छन् । म छक्क नपर्ने कुरो नै थिएन चोर बगलीमा ले पनि विवेक प्रयोग गर्दा रहेछन् । बेल्जियमको रेलको क्याबिनबाट चोरिएको ल्यापटप त पाइएन नै तर सधैँ सम्झन्छु चोरको विवेक सृष्टिकर्ताले मानिसलाई दया करुणा सेवा र संवेदनशील प्राणी वा आफ्नो प्रतिनिधिको रूपमा बनाएको हुन् । तसर्थ जहाँ आवश्यकता देखिन्छ जहिले सम्भावना हुन्छ बिना तर्क वितर्क । बिना आफ्नो पराइको परिचय बिना फाइदा बेफाइदाको हिसाब । बिना सुविधा असुविधाको बहाना दया भाव देखाई हाल्नु पर्छ सहयोगको हात बढाई हाल्नु पर्छ जहाँ आवश्यकता हुन्छ त्यहाँ आफैलाई उत्तरदायी वा जिम्मेवार सम्झी सहयोगको हात बढाउनु एक विवेकशील आदर्श नागरिकको उदाहरण हुनु हो ।