अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

नियति निरन्तरताको

शेखर ढुङेल २०७७ असोज २१ गते १०:२४ मा प्रकाशित

कविता

उकुस मुकुस छ जिन्दगी
कैयौँ दोबाटोमा रुमलिएर
कतै छल्लिदै कतै झुक्किँदै
एक्लै एक्लै
हज्जार जंघार तर्दै
अदृश्य खाडल हरूमा खस्दै भर्दै
निरन्तरित छ एक्लै एक्लै आह भर्दै
प्रत्येक बिहानीको शुभारम्भ सँगै
जिउँदो हुनुको अनुभूति बोकेर
फेरी फेरी
कैयौँ रात आँसुमा डुबुल्की मार्दै
फेरी अर्को बिहान बाच्ने रहरमा हाँसो पोत्दै
दुखको वैशाखी टेकेर सुखको चौतारो खोज्दै
हो मृग तृष्णा मेटिए झैँ लाग्छ कहिले कुनै पल
उफ्फ़ झुक्किने नियतिको अर्को पाटो पो !
आट्टहास हाँसोको भुमरी भित्र
पटाक्ष परिदृश्य समेट्दै
एक्लै हो एक्लै सहरहरूको भिडमा
बिना पहिचानको एउटा मुर्दा शरीर
अझै प्रेरित छ फेरी नयाँ बिहानी भेट्ने
नयाँ क्षितिज रोज्ने
भलै बोझ माथि बोझ थपिँदै रहोस्
चाहे कदम कदम मा तगारो तेर्सी रहोस्
पिडा बोक्ने कन्टेनर हु म जिन्दगी
मज्जाले बित्छ एउटा दिन विष पिउँदा पिउँदै
पिडा भिक्षा दिने हरूको भिडमा मस्त हाँसेर
फेरी
नयाँ किरण लाई चुम्ने
भोक अनि लालसा बोकेर
हो जिन्दगीको यात्रा निरन्तरित छ
दुखको बैसाखीमा सुखको चौतारी खोज्दै
एक मुठ्ठी सुस्केरा उन्मुक्त हाँसोमा निदाउन
नियति निरन्तरित यात्रा जिन्दगीको