अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

त्यो बेला ……

शेखर ढुङेल २०७४ चैत १५ गते २३:०८ मा प्रकाशित

साच्चिकै पत्याउन गाह्रो हुन्छ यो दोस्रो पुस्तालाई जो ३ दशक अगाडी मात्र जन्मेका छन् । यो पछिल्लो तिन दशक सञ्चार र प्रविधिको विकास जापानको सिनकान्सेंन रेल जस्तो द्रुत गतिमा अगाडी बढेको छ । टेलिफोन टिभी बिजुलीको अभाव खुल्ला शौचालय जाने गोठाला जाने खेतमा पर्म भर्न जाने भन्यो भने ए हो र ? वाह भनी दिन्छन लाग्छ उनीहरूलाई विश्वास नै लाग्दैन ।

त्यो कुनै बेलामा टाइप सिक्ने ठाउँ महांकाल मन्दिरको पछाडि र काठमाडौँमा एक मात्र थियो भन्दा अचम्म लाग्नु स्वाभाविक हो र सरकारी कार्यालयहरूमा टाइप राइटर भन्ने छुट्टै पद पनि हुन्थ्यो सायद अहिले छैन होला ।

प्रसङ्ग बदलौँ भैरव रिसाल दाइको सय रुपियाँ ऋणबाट सुरु गरिएको उच्चशिक्षा र भैरव रिसाल दाइकै सिफारिसमा जीवनमा पहिलो सरकारी जागिर सुरु भएको थियो । ती सङ्घर्षका सुरुवाती दिनहरू सम्झेर अहिले पनि स्वयम्लाई पुरुस्वार्थ गरेकै जस्तो भान हुन्छ ।

सुरुमा अर्थशास्त्र विषय रोजेर सरस्वती क्याम्पस लैनचौरमा भर्ना भएता पनि प्रथम सेमेष्टरको हफ्ता देखिनै त्यहाँ पकनाजोल समूह र अर्को कुनै समूह बिच दैनिक जस्तो झगडा हुन्थ्यो त्यसको कारण प्रतिकूल अवस्था सिर्जना भए पछि सरस्वती क्याम्पसको पढाइ छोडेर रत्न राज्य कलेजमा मानविकी (राजनीति शास्त्र र इतिहास विषय) मा भर्ना हुन् गएको थिए । बिहानको कक्षा थियो त्यसै समयमा आर्थिक अवस्था कमजोर भएको कारणले जागिर खानु अनिवार्य थियो र माथि भनी हाले भैरव रिसाल दाइकै सिफारिसमा सिपाडोल गाउँ पंचायतको प्राथमिक बिध्यालयमा शिक्षकको पदमा अस्थायी रूपमा नियुक्ति पाए ।

गजबको थियो नि त्यो दैनिकी बिहान ४ बजे उठेर आमाले गाई दुहेर भात पकाई सक्नु हुन्थ्यो म दूध र भात खाएर ५ बजे सल्लाघारी बिसौनीबाट छुट्ने ट्रलीबस भेट्टाउन हस्यांग फस्याग गर्दै दौडिदै पुग्थे । आज पनि स्मरण छ ट्रलिबस सेवा आजको युरोप अमेरिकाको जस्तो एक मिनेट फरक नपर्ने गरी सञ्चालन हुन्थ्यो सूर्य विनायकबाट यो समयमा हिँडेको बस ठिक यो समयमा त्रिपुरेश्वर अन्तिम गन्तव्यमा पुग्ने निश्चित हुन्थ्यो प्रत्येक बिसौनीमा पुग्ने र हिँड्ने समय निश्चित थियो । भाडाडरको चार्ट बनाएर टासिएको हुन्थ्यो । अगाडीबाट चढ्ने र पछाडिबाट ओर्लने कडा नियम थियो ।

सुरुमा ५० पैसामा साझा बसबाट सार्वजनिक यातायातको प्रयोग गरेकोमा ट्रलिबसमा ७५ पैसा तिर्नु पर्थ्यो भाडा सल्लाघारी देखि माइतीघर सम्म वा सुर्यविनायक त्रिपुरेश्वर भाडा ७५ पैसा थियो । यसरी सल्लाघारीबाट ५ बजेको ट्रलिबस समातेर माइतीघर सम्मको यात्रा ३५ मिनेटको थियो त्यहाँबाट पैदल १०/१५ मिनेट हिँडेर रत्नराज्य क्यापम्स पुगिन्थ्यो र ६ बजे पहिलो कक्षामा हाजिर हुन् सधैँ धौ धौ हुन्थ्यो । हेर जिन्दगीको लाइफमा ती चटारोका दिनहरू ।

गौरवको अनुभूति हुन्छ । ९:३० बजे कलेज सकिन्थ्यो १० बजे सिपाडोल स्कुल पुग्नु पर्ने कहिले स्कुल ढिला पुगेर चेतावनी (स्पष्टीकरण) खाने त् प्राय कक्षा छोडेर जागिर धान्ने चटारो हुन्थ्यो । अन्तिम एउटा कक्षा प्राय छोडेको हुन्थे जुन इतिहास विषयको थियो । क्याम्पसबाट पैदल माइतीघर अनि त्यही ट्रलिबसनै समयको भर पर्दो हुन्थ्यो बनेपा धुलिखेल चल्ने बसको भने त्यति भरोसा हुन्दिंथ्यो कहिले रोकिँदैनथ्यो माइतीघरमा अनि सुर्यविनायक बिसौनीबाट अन्दाजी २५ मिनेट दौडदै लाग्थ्यो स्कुल पुग्न ४ बजे स्कुल सकेर घर कटुन्जे पुग्न फेरी ४५ मिनेट पैदल हिँड्नु पर्ने ।

उमेर सोर्है मात्र थियो सुर्यविनायक जङ्गल बाटो एक्लै हिँड्न त्यस बेला डर थियो कारण बाक्लो जङ्गलको बिचमा बाटो थियो मानिसको आवत जावत बहुत कम हुन्थ्यो नै । जब आधा बाटो काटेर सूर्य विनायक मन्दिर आइ पुग्थे अनि मन हलुका हुन्थ्यो कहिले काहीँ त्यहीको पसलमा चिया पाउरोटी वा डोनट खाएर बिस्तारै घर तिर लाग्ने गर्थे । बाटोमा मिसन अस्पताल थियो पछि इसाई धर्म प्रचार प्रसार गरेको कारण सरकारले बन्द गराई दियो र तात्कालीन शाही नेपाली सेनाले आफ्नो ब्यारेक बनाएको हो । हुन् पनि तत्कालीन समयमा समाजले पचाउन नसक्ने गतिविधि नै गर्थे त्यो मिसन अस्पतालका विदेशी डाक्टरहरू खास गरी स्विस र बेलायतीहरू हुन्थे ।

समय समयमा स्कुलहरूमा निःशुल्क स्वास्थ्य परीक्षण अनि औषधि वितरण गर्ने बहानामा जान्थे त्यही त् हो त्यो समय नुहाउने सफा सुघर हुन् त्यति सजिलो थिएँन कालिमाटीले नुहाउने अनि माटोले हात धुने चलन थियो कहाँ पाउनु हो सेवन त्यस बेला गाउँमा अनि ६/७ वर्षमा बर्तमन हुन्थ्यो जनै लगाउनु अनिवार्य नै थियो नत्र जात जाने धर्म नष्ट हुने के के हुने भनेर गुरुले भन्नु भएको न मान्ने प्रश्ननै थिएन वा हिम्मत कहाँ म ५ कक्षामा पढ्थे एक दिन अरनिको निम्न माध्यमिक बिध्यालय दधिकोटमा ती डाक्टरको समूह आएको थियो । खराब पानीको कारण नै रहेछ अहिले पो त थाहा भयो त्यो बेलामा त् दूधको कुरौनी खाएर जुका परेको भन्थे मेरो भुँडी फुलेको थियो औलाले टुंग टुंग मेरो भुँडीमा हानेर मलाइ भिटामिन र जुकाको औषधि दिए अनि मेरो जनै हेरे जुम्रा परेको रहेछ ।

धेत्त यस्तो फोहोर पनि लगाउने हो भनेर स्वाट्टै चुडाली दिए । म कावा कावा रुन थाले हेड सरहरू आए हामी बिध्यार्थीहरुलाई बाहिर चौरमा लाइन लगाएर जाँच गरिँदै थियो के भो के भो भन्न थाले जनै चुडाली दिएको थाहा पाए पछि हेडसरहरू पनि आगो भए विरोध भयो यस्तै यस्तै हरकत बढाउने निःशुल्क औषधि दिएर प्रभु इशुले निको पार्नु हुन्छ भन्ने प्राथना गर्न लगाउने बिरामीहरूलाई धेरै विवाद उठे पछि तात्कालीन सरकारले डाक्टरहरूको भिसा थपी सञ्चालन अनुमति खारेज गरी फिर्ता पठाएको थियो । पंचायती व्यवस्था र राजा इसाईहरूको लागि ठुलो दुस्मन नै थियो ।

यसरी बाटो पार गर्दै ५ साँढे ५ बजे घर पुग्यो भुटेको मकै र भटमास खट्टे वा भुटेको गहुँ के हुन्थ्यो खाजा खायो फेरी साँझ नपर्दै खाना खाना खायो रेडियोको कार्यक्रम सुन्यो यसरी चल्थ्यो त्यस बेलाको बैँसका दैनिकी पत्यौदैनन सन्तानले पनि जाडोको समयमा अंगेना, चुल्हो वरिपरि बसेर खाना पकाउँदै आगो ताप्नुको मज्जानै अर्कै थियो ।

जाडोको समयमा कलेज जाने बेलामा डिकचिमा पानी तताएर टाउको मात्र नुहाई कुद्नु पर्थ्यो । त्यो समय देखि आज सम्म ५ बजे उठ्ने नियति निरन्तरित छ फरक त्यही हो त्यस बेला असुविधा धेरै थियो र पनि सहजता पूर्वक निर्वाह गरिन्थ्यो अहिले सुविधा सबै उपभोग गरिन्छ र पनि असहजता महसुस हुन्छ र समय नापिन्छ उहिले देखि अझै कहिले सम्म ? एउटा प्रश्न उठ्छ भने स्वास्थ्य मन र तनको लागि व्यस्तता अनिवार्य भन्ने विज्ञहरूको भनाइलाई मनन गर्दै मानसिकताले सहजता र स्फुर्त बनाइ रहेको नै छ सक्रियताले मानिसलाई निरोगी र उर्जावान बनाइ राख्न सहयोग पुग्छ रे ।

हमेसा सोच्ने गर्छु जन्म कर्म भाग्य र मृत्युको कुरो आखिर रहस्यमय वा सृष्टिकर्ताको गर्भमै हुने रहेछ त्यो हनुमन्ते खोलाको पानी अन्जुलिमा लिएर धित्त मर्ने गरी निर्धक्क पिएको सम्झन्छु अनि आज गुणस्तरीय पानी खोज्दै तिरेको पैसा दाज्ने गर्छु र मनमा प्रश्न उठ्छ के प्रविधिको विकाससँगै वातावरण प्रदूषण भएको कि हाम्रो मानसिकता प्रदुषित भएको ? ठम्याउन गाह्रो भएको छ आज ।aa