टेक्सास । प्रवासी नेपाली मन्च अमेरिकाको चौथो राष्ट्रिय अधिवेशन डालास टेक्सासमा यही मे ३१ र जुन १ मा सम्पन्न भयो । मंचका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले अध्यक्षता गर्नु भएको गत मे ३१ मा शुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रवासी नेपाली मन्चका अन्तर्राष्ट्रिय अध्यक्ष संजय थापाले गर्नु भएको थियो भने विशेष अतिथि प्रभु थापा हुनुहुन्थ्यो।
मंचका सचिव छवि पाण्डेले संचालन गर्नुभएको टेक्सास राज्यको डाल्लासमा दुई दिन चलेको उक्त सम्मेलनमा उद्घाटन कार्यक्रममा टेक्सास राज्यमा रहेका अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय संघ संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
यो सम्मेलनमा मंचका केही व्यावसायिक क्षेत्रमा विशेष सफलता हासिल गरेका साथीहरू द्वारा सहभागीहरुको व्यावसायिक क्षेत्रमा चासो बढोस् भन्ने उद्देश्यले तीन वटा प्रजेण्टेशन गरिएको थियो। डा. रुद्र अर्यालले संयोजन गर्नु भएको उक्त प्रजेण्टेशनमा टेक्सास, डाल्लास निवासी विजयराज भट्टराईले “च्यालेन्ज योर फाइनान्सियल माइण्डसेट” विषयमा, क्यालिफोर्नियाका व्यवसायी राजेन्द्र सिवाकोटीले “इम्पावारिंग इनोभेसन” मा र ह्युस्टन टेक्सास निवासी डा. निर्मल पौडेलले “नेपाली रियलष्टेट डेभलपमेन्ट फण्ड” विषयमा प्रजेण्टेशन गर्नु भएको थियो।
करिब ४०० जना सहभागिता रहेको उक्त सम्मेलनको उद्घाटन र बन्द सत्रमा भाग लिन मंचका २७ राज्यका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। बन्द सत्रको ५ सदस्यीय अध्यक्ष मण्डलको अध्यक्षता संजय थापाले गर्नु भएको थियो भने सदस्यहरूमा प्रभु थापा, कुन्ती थापा, राजेन्द्र शिवाकोटी र जानकी कार्की हुनुहुन्थ्यो।
सम्मेलनको दोश्रो दिन बन्द सत्र चलेको थियो र बन्द सत्रले मंचको आगामी २०२५ – २०२८ कार्यकालको नेतृत्व चयन गर्यो। १० सदस्यीय पदाधिकारीहरूको निमित्त करिब २० जनाको नोमिनेशन परेको भए पनि निकै ठुलो रस्साकस्सी, सहयोग र सहमति बिच अध्यक्ष बाहेक सम्पूर्ण पदहरू निर्विरोध निर्वाचित भएका थिए।
अध्यक्षका तीन जना प्रत्याशी बिच सहमति जुट्न नसकेपछि अन्ततः निर्वाचन भएको थियो। हाइब्रिड प्रणाली अन्तर्गत सम्मेलनमा उपस्थितहरूको फिजिकल भोटिङ र अनलाइन भोटिङ्ग प्रविधिको प्रयोग गरी निर्वाचन सम्पन्न गरिएको थियो। निर्वाचन प्रमुख डा. निर्मल पौडेलले सदस्यहरू कृष्ण भण्डारी र बुद्ध लामाको साथ लिएर सफलता पूर्वक निर्वाचन सम्पन्न गराउनु भयो।
निर्वाचनमा १०१ भोट प्राप्त गरी छवि पाण्डे अध्यक्षका रूपमा विजयी हुनुभयो भने अर्का प्रत्याशी डा. थोमस बास्तोलाले ७४ भोट र गोपाल कंडेलले १८ मत प्राप्त गर्नुभएको थियो। टेक्सास राज्य कमिटी होस्ट रहेको उक्त सम्मेलनको व्यवस्थापकीय जिम्मेवारीको संयोजन गोकर्ण दाहाल र सचिवको जिम्मेवारी विजयराज भट्टराईले गर्नु भएको थियो ।
अधिवेशनको प्रमुख उपलब्धि भनेको सार्वजनिक गरिएको १३ बुँदे घोषणापत्र हो, जसले मञ्चको भावी यात्राको नक्सा कोरेको छ। घोषणामा अमेरिकामा रहेका नेपालीहरूको हक हित संरक्षणदेखि नेपालमा लगानी, सीप र प्रविधिको स्थानान्तरणसम्मका विषय समेटिएका छन्। उक्त घोषणा पत्र ईश्वरी भट्ट (महादेश संयोजक), कमल ओझा (प्रचार विभाग – अन्तर्राष्ट्रिय कमिटी) र केशव लोहनी (महादेश कमिटी सदस्य)ले तयार गर्नु भएको थियो ।
१३ बुँदे घोषणापत्र:
१, अमेरिकामा रहेका नेपालीहरूको हक हितको संरक्षण गर्दै यहॅा परी आउने सुख दुखको साथी हुँदै सामाजिक सहकार्य गर्दै उन्नत नेपाली समाजको विकासमा लागि पर्ने।
२, कर्मथलो अमेरिका रहेर जीवन व्यतीत गर्दै रहेर पनि जन्म थलो नेपाल प्रति अगाध माया ममता र स्नेह देखाउन सक्रिय सहयोग गर्दै आइ हरेको र भविष्यमा पनि अझ सक्रिय सहयोग गर्न बचन बद्ध रहने।
३, समय काल परिस्थिति अनुरूप यसको विधान संशोधन र पुनर्लेखन गर्ने ।
४, “सलव प्रवासी संवृद्ध नेपाल सुखी नेपाली” को नारालाई सफल कार्यान्यन गर्न आवश्यक कार्यक्रम
५, नेपालमा लगानी वातावरण बनाउँदै यहॅा रहेको सिप प्रविधि र पुजी लगानी गर्न सक्षम व्यक्ति र समूहलाई हार्दिक अनुरोध गर्ने।
६, प्रवासी नेपाली मन्च ले विभिन्न विभाग/मन्च/फोरम गठन गर्दै आएको कामलाई थप सक्रियता दिने हरेक च्याप्टरहरूमा आवश्यकता अनुसार कार्यक्रम आयोजना गर्ने !
७, हाम्रो कला साहित्य र संस्कृति संरक्षण संवर्धनको लागि प्रचार प्रसार र विकासका कार्यक्रमहरू गर्ने।
८, यथा सम्भव सबै राज्यहरूमा प्रवासी नेपाली मन्चको राज्य कमिटी गठन र सदस्यता वितरणलाई तीव्रता दिने।
९, यो सम्मेलन गैह्र आवासीय नेपालीहरूको हक अधिकार सुरक्षित गर्न नेपाली नागरिकताको संविधानमा व्याख्या भए वमोजिको व्यवस्थालाई पूर्ण कार्यान्वयन गर्न गराउन जोड दार माग गर्दछ र नेपालको संविधान संशोधनको प्रकृया सुरु हुँदा नेपाली नागरिकता निरन्तरता को लागि पहल गर्न अन्तर्राष्ट्रिय कमिटीलाई अनुरोध गर्ने !
१०, ओ एन एफको भावी कार्यक्रमको रूपमा यहॅाका एन आर एन लगायतका सामाजिक संघ संस्था तथा स्थानीय संघ संस्थाहरूमा सकृय सहभागिता बढाउने ।
११, नेपाली जनताले लामो संघर्ष गरी प्राप्त गरेको संघिय लोकतान्त्रिक गणतन्त्र विरुद्ध कथित राजा वादीहरूले गराएको आन्दोलनबाट भएको जनधनको क्षति प्रति यो अधिवेशन घोर भर्त्सना गर्दछ र यसको संपूर्ण जिम्मा आयोजकले लिनु पर्ने ठहर गर्दछ। साथै विश्व व्यापि रूपमा उत्कृष्ट रहेको उक्त व्यवस्थाको सुदृढिकरणकोलागि प्रवासी नेपाली मन्च अमेरिका प्रतिबद्ध छ।
१२, कार्यक्रममा भएका कमी कम्जोरीसुधार गर्दै, आगामी कार्यक्रमहरू अझै भव्य र सव्य गर्ने।
१३, हाल अमेरिकामा गैरआवसिय नेपाली सङ्घको ICCको MIS बाट सदस्य बनाउने काम भई रहेकोले तयसको समर्थन गर्दै आफु पनि सदस्य बन्न र अरूलाई पनि सदस्य बन्न व्यापक प्रचार गर्ने ।