सान् फ्रान्सिस्को (क्यालिफोर्निया) । नेपालीपन र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको सान् फ्रान्सिस्को सहरमा धार्मिक महोत्सव आयोजना गरिएको छ । नेपालीको पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स)ले आगामी जुन ७ देखि १५ सम्म ९ दिने धार्मिक कार्यक्रम तय गरेको हो ।
महोत्सवमा हिन्दु र बौद्ध धर्मका विभिन्न पूजा हुने भएका छन् । श्रीमद देवी भागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा मुख्य कार्यक्रम राखिएको छ । वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले ९ दिन नै भागवत वाचन गर्नु हुनेछ भने बौद्ध गुरु तेन्जिङ लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्नु हुनेछ ।
भागवत श्रवण गर्ने मात्र नभएर यस पटक सोही मण्डपमा भक्तजनले निजी पूजा पनि गर्न पाउने भएका छन् । पितृ मोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रह शान्ति पूजा, लाख बत्ती पूजा गर्न सकिने धामिर्क महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीले जानकारी दिनुभयो । ‘धेरैलाई विभिन्न पूजा लगाउन मन हुन्छ, तर विदेशमा सबै जुटाएर गर्न सबैका लागि सजिलो छैन । त्यही भएर भागवतलाई बनेको मण्डपमा सबै सर्दाम आयोजकले जुटाई दिने र भक्तजनहरू आएर पूजा गर्ने सुविधा गरिएको हो’ दवाडीले भन्नुभयो । यी पूजाका लागि तोकिएको शुल्क तिरेर अग्रिम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
महोत्सवको पहिलो दिन कलश यात्रा हुँदैछ । ९ दिनसम्म यज्ञमा राखेर हरेक दिन पुजिएको कलश घरमा राख्दा पवित्र हुने भएकोले यात्रामा बोकेको कलशलाई अन्तिम दिन सम्बन्धित व्यक्तिलाई वितरण गरिने कार्यक्रम छ । यसको लागि आयोजकले तोकेको पोसाकमा महिलाहरू कलश बोकेर शोभा यात्रामा सहभागी हुनुपर्नेछ । नेपालबाट कलश र एकै रङका सारी मगाइएको महोत्सवका सह–संयोजक तथा कलश यात्राकी संयोजक विष्णु घलेले जानकारी दिनुभयो ।
भागवतका लागि हुने नित्य पूजाको लागि पनि आयोजकका निश्चित मान्छे नभई जो कोही कर्ता हुन पाउने गरी दर्ता खुला गरिएको छ । ‘पहिलो दर्ता गर्नेले पूजा गर्ने अवसर पाउनेछन्’ संयोजक दवाडीले भन्नुभयो– ‘नान्स सामाजिक संस्था भएकोले समुदायका सबैलाई अवसर दिनका लागि दर्ता परिपाटीबाट सबैलाई अवसर खुला गरिएको हो ।’ यसअघि सन् २०११ र सन् २०१८ पनि यहाँ महायज्ञ भएको थियो । तर त्यसमा भागवत वाचन मुख्य काम मात्र हुन्थ्यो । यस पटक जस्तो धेरै पूजा र धेरै मानिस प्रत्यक्ष पूजामा सहभागी हुन पाउने गरी आयोजना भएको थिएन ।
सङ्कलित रकम नेपाली कम्युनिटी सेन्टरलाई
नान्सले गत नोभेम्बरमा नेपाली कम्युनिटी सेन्टरको भवन गरेको छ । यस क्षेत्रका मानिसले अभियान सुरु गरेको ४५ बर्सपछि यहाँ भवन खरिदको काम भएको हो । भवनलाई शुद्धीकरण गर्ने, धेरैले धेरै किसिमका पूजा गर्न पाउने गरी महोत्सव आयोजना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले बताउनुभयो । यो पूजा, भेटीबाट बचेको तथा व्यक्तिले दिने दानस्वरुपको रकम नेपाली कम्युनिटी सेन्टरको लागि प्रयोग गरिने कार्कीको भनाई छ ।
नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमा सो भवन खरिद गरेको हो । त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण रहेको छ । संस्थाले यसअघि २०२४ को अगस्टमा भवन किन्ने तय भएपछि ३ महिनामा ७ लाख रुपैयाँ सङ्कलन गरेको थियो । १ लाख ५० हजार रुपैयाँ नगद ऋण सापटी गरी ८ लाख ५५ हजार रुपैयाँ भवनलाई नगद डाउन पेमेन्ट गरेको कार्कीले जानकारी दिनुभयो ।
धर्म संस्कृति प्रवर्द्धन मुल उद्देषयसँगै भवनको ऋण चुक्ताका लागि रकम जुटाउनु पनि धार्मिक महोत्सवको लक्ष्य रहेको कार्कीले बताउनुभयो । यज्ञ सम्पन्न गर्नका लागि यहाँका संघ संस्था, नान्सका बोर्ड अफ ट्रस्टी, डोनरहरू समेटिएको बृहद आयोजक समिति बनेको छ । जसको संयोजकमा घनप्रसाद दवाडी र सह संयोजकहरूमा विष्णु घले, पशुपति कँडेल, मुकुन्द दवाडी, केपी ढकाल, भीम थापा, लाक्पा शेर्पा रहनु भएको छ । त्यस्तै बोर्ड अफ ट्रस्टी र केही समावसेवीहरु रहेको सल्लाहकार समिति बनाइएको छ । जसको संयोजकमा दिक्पाल केसी रहनु भएको छ ।
करिब १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जना क्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिस कोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरू र शौचालय छन् । ५४ हजार वर्ग फिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।