अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

सुर्यविनायक जङ्गलको काफल अनि बाघको आवाज

शेखर ढुङेल २०७५ वैशाख १६ गते ९:२७ मा प्रकाशित

भनिन्थ्यो सुर्यविनायक जङ्गल नेपालको सबै भन्दा सानो जिल्ला भक्तपुरको सुन्दरता र शोभा वा अर्को शब्दमा जिल्लाको गहना हो जुन जङ्गल मर्यादा पुरुष भगवान् रामजीले आफ्नो प्रिय अनुज (भाइ)को बिरामीको उपचार गर्न संजीवनी बुटी लेराउन प्रिय मित्र एवम् सहयोगी हनुमानलाई अर्हाउनु भएको थियो र हनुमानजीले विशाल कैलाशकुट पर्वतमा संजीवनी बुटी चिन्न नसकेर पुरै पर्वत बोकेर ल्याउनु भएको थियो र बाटोमा खसेको एक सानो टुक्रा जमिन नै सूर्य विनायक जङ्गल हो ।

अहिले यो जङ्गल युवा युवतीको लागि शीतल एकान्त गन्तव्य मात्र होइन उपत्यकाको प्रसिद्ध धार्मिक स्थल सुर्यविनायक गणेशको नामबाट पनि चर्चित छ । धार्मिक पर्यटनको अलावा युवा जोडी एवम् पारिवारिक बन भोजको लागि पनि आकर्षित र सहज स्थल बनेको छ । सुर्यविनायक गणेश मन्दिरको ठिक माथिल्लो भागमा सानो गुफा छ जसलाई आमाको नाममा पुकारिन्छ कारण त्यहाँ समयमा बोली फुट्न नसकेका वा नफुटेका बच्चाहरूलाई एक छिन गुफा अगाडी छोडे जस्तो गर्ने उ आत्तिएर आमा भनेर चिच्याउने अर्थात् बोली फुट्ने विश्वास गरिन्छ ।

अब प्रसङ्ग बदलौँ सूर्य विनायक जङ्गलमा काफल टिप्न जाँदा बाघको आवाज आएको र बित्यास परेको घटना तर्फ सम्भबत हामी ४/५ कक्षामा पढ्ने थियौ होला अरनिको निम्न माध्यमिक बिध्यालय दधिकोटमा उमेरले ठुला जति १० त् साना जति ७ /८ वर्षका नै हुनु पर्छ । एक शुक्रवारको दिन स्कुल सकिए पछि काफल टिप्न जाने सल्लाह भयो घर तिर जान छोडेर ३५/४० मिनेटको बाटो हिँडेर सुर्यविनायक जङ्गल तर्फ लाग्यौ ।

गुन्डुकारको गाउँ हुँदै दक्षिण तर्फबाट रुखको हाँगो बुटो समात्दै जङ्गलको टुप्पोमा पुग्ने सल्लाह भयो । बिस्तारै बिस्तारै कतै हाडे काफल त् कतै ऐसेलु कतै चुत्रो टिप्दै एक अर्कालाई बाँड्दै अगाडी बढ्दै थियो । स्मरण रहोस् सूर्य विनायक अहिले जस्तो खुल्ला वा पातलो थिएन धेरै बाक्लो र ठुला ठुला रुख थियो । बाघ चितुवा प्रशस्त थिए । सधैँ जसो नजिकको गाउँ कार्की गाउँ । गुन्डु र कटुन्जेमा बाघको आगमन हुन्थ्यो उसको आवाज सुनिन्थ्यो अनि सबै घरको झ्याल झ्यालबाट बाघ आयो बाघ आयो वा चितुवा आयो चितुवा आयो भनेर अरूलाई खबर गर्ने चलन थियो । बिजुली थिएन, अहिले जस्तो टर्च लाइट पनि कमैको हुन्थ्यो तसर्थ रात परे पछि र खास गरी वर्षायाममा छ्वालीको मुठो बालेर हिँड्ने चलन थियो । प्राय साँझ पर्दा न पर्दै खाना खाएर सुत्ने चलन थियो । खास काम न परी कोही पनि रातमा हिँड्ने चलन थिएन ।

हामी पनि काफल टिप्ने रहरमा बाघको त्रास बोकेर सचेत र ससंकित हुँदै एक अर्काको नजिक भएर टुप्पो तर्फ चढ्दै थियौ । एउटा रुखमा पहेँलो जमुना जुन सार्है गुलियो हुन्छ लटरम्म फलेको देख्यौ, हातले टिप्न भ्याइने कुरो थिएन । एक जना साथी मुस्किले चढेर टिप्न के लागेको थियो रुखमा अजिङ्गरको सर्प जिब्रो निकालेर बसेको देख्यौ साथीलाई सर्प मात्र के भनेका थियौ कता के सुन्दै नसुनी खस्यो रुखबाट र भाग्यौ त्यहाँबाट दायाँ बायाँ हेर्दै माथि तर्फ लाग्दै थियौ बल्ल तल्ला उत्तर पटिको आकाश देखियो । हामीलाई अब टुप्पोमा पुगेको अन्दाज भएको थियो टुप्पोको समथर भागमा हिँडेर काफल टिप्ने हामीहरूको सपना पुरा भएको जस्तो लागेको थियो न भन्दै हामी टुप्पोमा पुग्यौ । भक्तपुर सहर अनि हिमाल देखियो हामी विजय उल्लास मनाए झैँ खुसी थियौ । कोही कमिजको फेरले त् कोही बाहुलाले निधारको पसिना पुछ्दै थियौ । अचानक कताबाट घुई ईईईईईईईईईईईईईईई गरेको आवाज आयो के को आवाज कताबाट आयो थाहा छैन हामी मध्यको जेठो धुर्बले भने भागौँ बाघ करायो ।

अब कताबाट आयो बाघ ? अत्तो न पत्तो सबैको सातो पुत्लो उड्यो अनि केही सोच्ने फुर्सद पनि कहाँ बाघ कराइ त् सक्यो भागौँ के भनेका थिए हामी गुटमुटियौ जुन बाटो उक्लेका थियौ त्यही बाटो कसको किताब कहाँ कसको झोला कहाँ पुग्यो थाहा छैन कसको जुत्ता फुस्क्यो । कसको चप्पल छिन्यो । कसैको घुँडा फुस्कियो । कोइको कुइनो मर्कियो । कोही चिच्याएका छन् खहरे खोलामा ढुङ्गा गडगडाए झैँ आ आफ्ना ज्यान जोगाउन चिप्लिदै घस्रीदै आधा घण्टा ४० मिनेट लगाएर उक्लिएको जङ्गलको बाटो ३/४ मिनेटमा नै फेदीमा आइ पुग्यौ ।

अनि मात्र जङ्गल तर्फ फर्केर हेर्‍यौ बाघ त् देखिएन तर एक अर्काको धुलो मुलो नाङ्गो खुट्टा च्यातिएको सुरुवाल देखेर मरी मरी हाँस्न थाल्यौ किताब र जुत्ता खोज्न जाने साहस हुने कुरो भएन क्यारे नजिकै बाटो नजिक ढुङ्गे धारा थियो त्यही पानी पिएर काफलको भोक प्यास मेटाउने काम भयो ।

घरमा कुटाइ खाने अर्को डर भोलि देखि पढ्ने किताब छैन चिन्ता त्यता बढ्यो । भोलि पल्ट शनिवार छुट्टीको दिन भएकोले केही अन्य साथीसँग जुत्ता किताब खोज्न गयौ, धन्य हामी मध्य दुईको चप्पल छिनेको बाहेक जुत्ता र किताब फेला पर्‍यो । छिनेको चप्पलको फित्तामा तल पिन राखेर केही दिन फ्याट फ्याट गर्दै थिए साथीहरू । त्यस पछि बारीमा रहेको मकैको ढोड ४ भारी दिएर छिमेकी मिजार दाइको बाट चुइ चुइ चुइकने जुत्ता किनेको भन्थे त्यो दिन सम्झँदा आजको ब्रान्डेड लगाउने पुस्ताको जोर जुलुम देख्दा त्यसबेलाको खुसी र आनन्द वर्तमानमा कहाँ !

प्रतिक्रिया