अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

अमेरिकामा कोरोनाबाट निधन भएका कार्कीको जुम भिडियो मार्फत अन्त्येष्टि सम्पन्न

बिआरटीनेपाल २०७७ वैशाख १७ गते १३:०० मा प्रकाशित

संसार भरी फैलिएको कोरोना भाइरस महामारी रोगबाट अप्रिल २४, २०२० मा निधन भएका बोल्डर सहरका ६२ वर्षीय लोकेन्द्र कार्कीको आज अप्रिल २९ मा बिहान १०:३० बजे कमर्स सिटीको Colorado Wilbert Vault Co मा अन्तिम दाह संस्कार गरिएको छ । कार्की सहित ३ जना अन्य नेपालीको कोलोराडोमा मृत्यु भइसकेको छ ।

स्व. कार्कीको दाह संस्कारमा परिवारका ५ सदस्य मात्र सहभागी थिए, जसमध्ये दुई छोरी र एक छोरा, सञ्जय सिङ के सी र भोला कटुवाल थिए । अन्य कोलोराडो, अमेरिकाका अन्य सहर तथा नेपालका उहाँका इष्टमित्र तथा परिवारहरूले जुम भिडियो मार्फत अन्त्येष्टिमा सहभागी भएका थिए । परिवार नजिकैका एक सदस्य तथा नेपाली घरका कोषाध्यक्ष भोला कटुवालले कार्कीको पार्थिव शरीरलाई एउटा बक्समा राखिएको तथा त्यसलाई खोलेर हेर्न नमिल्ने बताउँदै जुम भिडियो मार्फत देखाएका थिए । नेपाल तथा अमेरिका गरेर करिब ५० जनाले जुम भिडियो मार्फत श्रद्धाञ्जली दिएका थिए ।

उनको बोल्डरस्थित कम्युनिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । अप्रिल १३ मा उनलाई कोभिड १९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । विराटनगरको पोखरिया घर भएका लोक कार्कीका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । कार्कीकी श्रीमती केही समयका लागि नेपाल गएको र लक डाउनले गर्दा आउन नसकिएको जानकारी कटुवालले बिआरटी नेपाललाई दिएका छन् । कार्की नेपालमा छँदा प्रहरी सेवामा कार्यरत थिए ।

यो समाचार लेखुन्जेल सम्म संसार भरी कोरोना भाईरसबाट मृत्यु हुनेको सङ्ख्या २,२५,७६२ पुगेको छ भने अमेरिकामा मात्रै ६०,६४० को मृत्यु भैसकेको छ ।

प्रतिक्रिया