अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

कोलोराडोवासी सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:०७ मा प्रकाशित

आदरणीय कोलोराडोवासी सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरु,

अहिले विश्वभर अविछिन्न रूपमा फैलिरहेको COVID-19 को प्रकोप र यसले ल्याएको एक किसिमको महाप्रलयको बारेमा तपाईँ हामी सबै जानकार नै छौँ । यसको कारणबाट अमेरिका लगायत अन्य देशका हजारौँ मानिसको ज्यान गइसकेको छ भने लाखौँ मानिसहरू सङ्क्रमित छन् । यस्तो सङ्कटको घडीमा सम्बन्धित सबैप्रति हामी गहिरो दुःख प्रकट गर्दछौँ ।

यो भाइरसले बिस्तारै कोलोराडोमा रहेको हाम्रो समुदायमा पनि प्रत्यक्ष रूपमा प्रभाव पार्दै छ । अहिलेको आँकडा र विभिन्न श्रोतहरूबाट बुझिन आएको अनुसार आउने केही हप्तासम्म यहाँको स्थिति अझै खराब हुन सक्ने अनुमान छ । हामीले बुझ्नु पर्ने कुरा यो छ कि यो भाइरस जसलाई जति बेला पनि सर्न सक्ने स्थिति छ । यो कुनै व्यक्ति विशेषको गल्ती अथवा कमी कमजोरीको कारणले लाग्ने होइन र यो लाग्नु अथवा यसको लक्षण देखा पर्नु कुनै अपराध पनि होइन । समय मै उचित हेरचाह र सावधानीले यसको व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरणहरू हामीले देखेको सुनेकै छौँ । त्यसैले यो सम्पूर्ण मानव जातिको लागि नै चुनौती बनेको डरलाग्दो परिस्थितिमा तपाईँहरू अत्तालिएर होइन, संयम र सचेत भएर आफू, आफ्नो परिवार र समुदायको ख्याल राख्नुहुन हामी विनम्र अनुरोध गर्दछौँ ।

पहिलो कुरा त हामीहरू सबै सचेत र सावधान रहौँ । COVID-19 भाइरसको रोकथामको लागि सङ्घीय (Federal) र प्रान्तीय (States ) सरकार तथा CDC (Centers for Disease Control and Prevention) बाट जारी गरिएका निर्देशनहरुको पालना गरौँ । त्यस्तै आफ्नो काउन्टी, सिटी, काम, पेसा, व्यवसाय अथवा समूहबाट लागु गरिएका सबै नीति निर्देशिका र पूर्व चेतावनी (Precaution) को पालना गरौँ ।

यी सबै नीति नियम अनि निषेधहरू तपाईँ हाम्रै सुरक्षाको लागि हो भन्ने कुरा बुझौँ र बुझाऔँ । सम्बन्धित विशेषज्ञहरूको कुरामा ध्यान दिऊँ र सकारात्मक समाचारहरू सुन्ने, हेर्ने र शेयर गर्ने गरौँ । खानपिन र स्वास्थ्यमा ध्यान दिऊँ, मिलेसम्म केही हप्ता घरमै बसौँ र यदि अत्यावश्यक परेर बाहिर निस्कनु परेमा उचित सावधानी अपनाऔँ । जे जसरी हुन्छ मुख्य कुरो यसबाट बचौँ र बचाऔँ ।

यति गर्दा गर्दै पनि परिणाम सधैँ हामीले सोचेको जस्तो नहुन सक्छ । हामीले रोगसँग प्रत्यक्ष सामना गर्नुपर्ने स्थिति आउन सक्छ । यदि त्यस्तो स्थिति आएमा प्रतिवाद गर्नको लागि हाम्रो समुदाय भित्र हामीहरू सबै सदस्य वा परिवार समान रूपले सक्षम छैनौँ । त्यतिखेर हामीहरू एकजुट भएर एक अर्कालाई सहयोग गर्नुपर्दछ । उदाहरणको लागि कसैको घरमा साना बच्चाहरू, बृद्धाहरु र दीर्घ रोगको औषधि खाने व्यक्तिहरू हुनु होला भने कसैको काम धन्दाको समस्या पर्न सक्ला, बस्न र खर्च पर्चको समस्या पनि पर्न सक्ला आदि इत्यादि । अझ कसैलाई अस्पताल बस्नु पर्ने भयो अथवा कसैलाई त्यस्तै कुनै भवितव्य अथवा तलमाथि परिहाल्यो भने के गर्ने, कहाँ कसरी कस्तो व्यवस्था गर्ने भन्ने बारेमा पनि हामीले सोच्नु पर्ने हुन्छ र त्यस सम्बन्धी हामीसँग केही योजना हुनुपर्छ । त्यसको लागि सबैभन्दा पहिले कम्युनिकेसनको आवश्यकता पर्दछ । त्यसैले कोलोराडोस्थित सबै नेपाली भाषी सामाजिक सङ्घ-संस्थाहरु, समाजसेवी, बुद्धिजीवी तथा विशेषज्ञहरू मिलेर ठाउँ ठाउँमा सम्पर्क व्यक्तिहरू अथवा स्थान (Point Of Contact) को व्यवस्था मिलाउने अथवा यस्तै किसिमको केही काम छिट्टै गरौँ । यस पवित्र सामाजिक सेवाको लागि स्वस्फुर्त रूपमा मन भित्रैबाट आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउनको लागि तत्पर रहन सबै सबैमा हार्दिक अनुरोध गर्दछौँ l

यसै कुरालाई ध्यानमा राख्दै यो प्रकोपबाट भविष्यमा कुनै त्यस्तो अप्ठेरो परिस्थिति आई परेर हाम्रो नेपाली भाषी समुदायका कुनै पीडित सदस्यहरूलाई खाँचो परेको खण्डमा सानो तिनो मद्दत पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले नेपाली घरको कार्यसमितिको आजै (अप्रिल ५, २०२०) सम्पन्न पूर्ण बैठकले $५,००० (USD) को राहत कोष छुट्ट्याएको कुरा पनि तपाईँहरू सबैलाई जानकारी गराउँदछौँ ।

अन्त्यमा, यस्तो विषम परिस्थितिमा पनि कतिपय हाम्रा समुदायका सदस्यहरू फ्रन्ट लाइनमा बसेर आफ्नो पेसा (Profession) को दायित्व बहन गर्दै अत्यावश्यक सेवाहरू प्रदान गरिरहनु भएको छ, उहाँहरूको योगदानको कदर गरौँ र उहाँहरूको हौसला बढाऔँ । यो भाइरस र यसले ल्याएको विपत्ति विरुद्धको लडाइँमा हामी पनि तपाइहरू सँगै छौँ भन्ने सन्देश प्रवाह गरौँ भन्ने अनुरोध पनि गर्दछौँ ।
सबैमा सु-स्वास्थ्यको कामना सहित,

लछुमन राना
अध्यक्ष
नेपाली घर

अप्रिल ५, २०२० (कोलोराडो, USA)

प्रतिक्रिया