अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

परिवर्तनको वेगले नउडाएको ‘धुलो’ – चलचित्र समीक्षा

बिआरटीनेपाल २०७६ फागुन १९ गते ९:४७ मा प्रकाशित

करिब २ दशक सानो पर्दामा काम गरेका निर्देशक प्रद्युम्न मिश्रको पहिलो कथानक चलचित्र धुलो प्रदर्शनमा आएको छ। सुकुम्वासी बस्तीमा बस्ने ठेला गाडा चालक मजदुरहरूको जीवनसँग सम्बन्धित कथावस्तु रहेको चलचित्रले त्यही सेरोफेरोमा रहेर उनीहरूको कथा प्रस्तुत गरेको छ ।देशभरिका हलहरूमा प्रदर्शन भइरहेको चलचित्र ‘धुलो’ले ठेला गाडा र रिक्सा चालकहरूको जीवन, उनीहरूको सङ्घर्ष, भोगाइ र अनुभवलाई प्रस्तुत गरेको छ ।

टेलिचलचित्र र वृत्तचित्रको निर्देशक हुँदै चलचित्र निर्देशनमा डेव्यू गरेका प्रद्युम्न मिश्रको पहिलो प्रयासमा थिएटरका स्थापित कलाकार अग्रज केसी र कलाकार बुद्धि तामाङको गहकिलो अभिनय चलचित्रमा रहेको छ । यसै गरी सृजना सुब्बा, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीले मुख्य भूमिकामा अभिनय गरेका छन् । अधिकांश नयाँ कलाकार रहेको चलचित्रमा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको विशेष भूमिका देख्न सकिन्छ ।

चलचित्रको पर्दामा भक्ते बनेर अभिनय गरेका बुद्धि तामाङ र सुर्ज बहादुर बनेका अग्रज केसीको मित्रता, सुख-दुःखमा साथ र सहयोग र उनीहरूको सम्बन्धमा आएको उतार चढावकाबीच कथा अघि बढेको छ । सँगै ठेला गाडा चलाउने भक्ते दुर्घटनामा परेका बेला केही सहज जीवनको अपेक्षा गर्ने सुर्ज बहादुरले रिक्सा किनेपछि दुई जनाबिचको सम्बन्धमा देखिएको असमझदारी र त्यसलाई सुल्झाउन भएका प्रयास र गरिबिका कारण उनीहरूले भोग्नुपरेको सामाजिक विभेदको प्रस्तुति चलचित्रमा छ । यसका साथै सुर्जेको मायामा परेको भट्टी सञ्चालकको रूपमा सृजना सुब्बा र रिङ टोनका भूमिकामा बाल कलाकार सुदीप कार्कीको भूमिका तारिफयोग्य छ । पहिलो पटक ठुलो पर्दामा खल पात्रको भूमिकामा देखिएका दामोदर गजुरेल टोले गुन्डा टपेको भूमिकामा ठिकै देखिएका छन् । कवाडी साहु बनेका निर्देशक मिश्रको फाइदा लिने तर अप्ठ्यारो पर्दा सहयोग गर्ने व्यवहारलाई सामान्य नै मान्न सकिन्छ । तर अन्य सहायक कलाकारहरूको भूमिकालाई भने निर्देशकले न्याय गर्न सकेका छैनन् ।

फागुन १६ गतेबाट प्रदर्शनमा आएको धुलो मार्फत चलचित्रका कथा, पटकथा र संवाद लेखेका सुवास सिंह बस्नेतले नेपाली समाजको अर्ग्यानिक विषयवस्तु पस्किएका छन् । देशमा ठुलो राजनीतिक परिवर्तन भए पनि त्यसको अनुभूति र सामाजिक विभेद अन्त्यको सुखानुभूति गर्न नसकेको निम्न वर्गको समस्या सुवासको कथामा छ । एउटै किसिमको लोकेसन भए पनि छायाङ्कनमा देखिएको विविधता र फरक दृश्यलाई क्यामरा मार्फत कैद गर्न रविन आचार्य सफल नै रहेको मान्नु पर्छ । चलचित्रको सम्पादनमा लामो समय बिताएका अर्जुन जिसीको सम्पादनमा पनि खोट लगाउने ठाउँ छैन ।

सुरुमा केही ढिलो गरी अघि बढेको र धेरै कुरा एकै पटक दिँदा अलमलिएको जस्तो देखिएको चलचित्रको कथावस्तुले मध्यान्तर पछि भने गति लिएको छ । चलचित्रले अर्ग्यानिक सामाजिक विषयवस्तुको उठान गरेको भए पनि पर्दामा त्यसको बलियो र संझनलायक प्रदर्शन दिन भने चुकेको छ ।

चलचित्रमा दुई पटक टेलिभिजन समाचारको सन्दर्भ दिएर आन्दोलनको प्रसङ्ग उठाइएको छ । केही वर्ष यता देशमा राजनीतिक आन्दोलन, हडताल एवम् बन्द नभएका कारण र दर्शकले समसामयिक विषयवस्तु खोजिरहेको अहिलेको अवस्थामा चलचित्रको कथावस्तु केही पुरानो लाग्न सक्छ – विशेष गरी युवा दर्शकका लागि । यो पाटोमा निर्माण पक्षले ध्यान दिन नसकेको भान हुन्छ ।

गीत नहाल्दा पनि हुने विषयवस्तु भएको चलचित्रमा तीन ओटा गीतको प्रयोग गरिएको छ । सामाजिक विषयवस्तु त्यसमा पनि व्यावसायिक उद्देश्य नराखिएको चलचित्रको दोस्रो हाफमा विना आवश्यकता नै राखिएको आइटम गीत दर्शकलाई जबरजस्ती हेर्नुपर्ने बनाइएको छ । तथापि केशव मिश्र र दीपक समीरको शब्द तथा जुगल डङ्गोल र शङ्कर थापाको सङ्गीत राम्रो छ । निर्देशक मिश्रले भनेजस्तै विभिन्न खण्डमा सेन्सर बोर्डको कैचीं चलेर नै होला धेरै स्थानमा कथाको बहाव सहज नभई स्टोरी जर्कले दर्शकलाई अलमल्याउँछ । पार्श्व सङ्गीतलाई अझ बढी राम्रो बनाउन सकिन्थ्यो ।

तथापि चलचित्रले नेपाली समाजमा विद्यमान गरिबिको रेखा मुनी रहेका मजदुर वर्गको वास्तविक भोगाइलाई क्यामरा मार्फत पर्दामा उतार्न धेरै हदसम्म सफल भएको छ । सामान्य मानिसको खुसी र संसार पनि सानै र सीमित हुन्छ र त्यही सपना पूरा गर्ने प्रयत्न गर्दा गर्दै जीवन सकिन्छ भन्ने यथार्थपरक विषय धुलोको नामबाट पर्दामा आएको छ । देशका विभिन्न भागबाट काठमाडौँ सहरमा रहर खोज्दै आएकाहरूको सङ्घर्ष, स-साना विषयहरूमा उनीहरूबिचको द्वन्द्व, माया, प्रेम र सहकार्य सँगै उनीहरूको बाध्यताको फाइदा उठाउने तत्त्वहरूको प्रस्तुति जोडदार छ । चलचित्रको अन्त्य स्वाभाविक नभएको अनुभव दर्शकले गरे पनि कथाको नाम अनुरूप आम मानिस र तिनका सपना धर्तीको धुलो बराबर नै हो भन्ने सन्देश दिएर सकिने चलचित्रको कथालाई निर्देशक मिश्रले निरन्तरता दिने उद्देश्य राखेको पनि हुनसक्छ । चलचित्र हेर्ने जोहोकीले गरिब मजदुरहरूको कथा व्यथा भने राम्रैसँग बुझ्न सक्दछन् ।

प्रतिक्रिया