अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

कोलोराडोमा नेपाली चलचित्र आमाको प्रदर्शन अप्रिल १९ मा हुने

बिआरटीनेपाल २०७६ फागुन १५ गते ११:५८ मा प्रकाशित

दीपेन्द्र के खनालद्वारा निर्देशित बहुचर्चित नेपाली चलचित्र ‘आमा’को प्रदर्शन अमेरिकाको कोलोराडो राज्यमा अप्रिल १९ तारिखमा हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो च्याप्टरको सहयोगार्थ प्रदर्शन गर्न लागिएको चलचित्र आमाले नेपालमा दर्शकहरूको राम्रो साथ र चलचित्र समीक्षकहरूको वाह वाही पाउन सफल भइसकेको छ । मसला चलचित्रहरूको भिडमा आमा चलचित्र नाम जस्तै वजनदार बनेको अनुभव चलचित्र हेरेर फर्कने धेरैले गरेका छन् । अमेरिकामा डालास सहरमा आमाको प्रदर्शन भइसकेको छ भने कोलोराडो राज्यसँगै बाल्टीमोर, सान फ्रान्सिस्को, ह्युस्टन, न्यु योर्क, अस्टिन आदी सहरहरूमा प्रदर्शन हुने क्रममा रहेको जानकारी अमेरिकाको लागि यस चलचित्रका वितरक सुदिप पौडेलले दिएका छन् ।

आमा चलचित्रको समीक्षा:
नायिका ऋचा शर्मा: “शताब्दीमा एउटा सिनेमा आउँछ जुन मन मस्तिष्कमा सधैँ बस्छ । आमा मेरो लागि त्यो सिनेमा हो । एक चोटि हेर्नुहोला ।”

बाह्रखरी दैनिक: “जीवन्त चलचित्र त्यो हो जसले पर्दामा हेरुन्जेल मात्रै होइन हेरिसकेपछि पनि लामो समयसम्म दर्शकको मनमा छाप छोडिरहन्छ । यस अर्थमा ‘आमा’ सफल छ । निर्देशक तुलसी घिमिरेको वाक्य सापटी लिने हो भने दर्शकको मन जित्न हलमा दर्शकलाई रुवाउनै पर्छ । तर यसलाई मात्रै सफलताको मापक र मानक नमान्ने हो भने पनि कथा, दृश्य, अभिनय र चरित्र चित्रणले मन छोइरहन्छ ।”

कान्तिपुर दैनिक: “वैदेशिक रोजगार यो समयको क्रूर यर्थाथ हो । त्यस्तो परिवार भेट्टाउन मुस्किल छ, जसको सदस्य परदेशिएका नहुन् । जब बाबुआमालाई भौतिक र मानसिकरुपमा सन्तानको खाँचो पर्छ, त्यही बेला छोराछोरी बिरानो मुलुक भासिन बाध्य हुन्छन् । यो नियतिलाई फिल्म कर्मीले दृश्य चित्रमा अभिव्यक्त गर्ने प्रयास नगरेका होइनन् तर भावनाको वेग पकड्न प्रायः चुक्छन् । निर्देशक दीपेन्द्र के. खनालले भने यो पीडा दर्साउन तुलनात्मकरुपमा आफूलाई अब्बल साबित गरेका छन्, ‘आमा’ मार्फत ।”

नागरिक दैनिक: “‘पशुपति प्रसाद’ र ‘धनपति’लगायत फिल्मपछि निर्देशक दीपेन्द्र के खनालले यस फिल्ममा एउटा हृदयस्पर्शी कथा पस्किएका छन्। समाजको वास्तविक कथा र पात्रमाथि केन्द्रित रहेर फिल्म पस्किन माहिर छन् उनी। यस फिल्ममा उनले आफ्नो सो कौशललाई स्तरीय ढङ्गमा प्रस्तुत गरेका छन्।”

अन्नपूर्ण पोस्ट: “पछिल्लो समय नेपाली समाजमा आएको परिवर्तनले कसैलाई धेरै असर गरेको छ भने ती आमाबाबु नै हुन्। जीवनका आवश्यकता र महत्त्वाकाङ्क्षा पूरा गर्ने मोहमा नेपालमा यस्तो एउटा परिवार पाउन मुस्किल छ, जसका सन्तान परदेशिएका नहुन्। नेपाली समाजको यो कठोर यथार्थलाई फिल्म ‘आमा’ले सूक्ष्म रूपमा अभिव्यक्त गरेको छ।”

इमेजखबर: चलचित्र आमाले प्रदर्शन भएको हप्ता दिन नपुग्दै दुई करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।

आत्रेय प्रडक्सनले उक्त चलचित्र अमेरिकामा प्रदर्शन गर्ने राइट खरिद गरेको छ । अमेरिकाको अन्य सहरमा प्रदर्शनी गर्नु परेमा सुदिपलाई २५४ २१४ ७१८५ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया