अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

भोलि कोलोराडोमा सरस्वती पूजा मनाइँदै

बिआरटीनेपाल २०७६ माघ १८ गते १४:४५ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरले भोलि आइतबार दिनको एक बजे देखी (Viewpoint Condominium Club House, 10211 Ura Lane, Thronton,  CO 80260) सरस्वती पूजा मनाउदै छ । उक्त दिनमा सरस्वतीको पूजा आजा लगायत साना साना बालबालिकाहरूलाई कापी कलम पनि दिइने भएको छ । उक्त कुराको जानकारी कोलोराडो च्याप्टर अध्यक्ष तारा अधिकारीले बिआरटी नेपाललाई दिनु भएको छ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्री पञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी गत बिहीबार देश तथा विदेशमा मनाइयो । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । सरस्वती पूजाको दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ । पूजाका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जन विश्वास छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्य यन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन् । यसै गरी तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ उक्त दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । प्राकृतिक रूपमै रमाइलो वातावरणको अनुभव हुन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठुलो महत्त्व छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेल विवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ ।

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

फायल फोटो

प्रतिक्रिया