अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५१ | Colorodo: 13:06

उसको मनभित्र जन्मिएको नयाँ प्रश्न

आचार्य प्रभा २०७६ असोज १८ गते ८:५० मा प्रकाशित

लघुकथा

वर्षौँपछि आउने नेपालीहरूको महान् चाड दसैँ आयो । गाउँ घरमा रमाइलो वातावरण छाउन थाल्यो।घर देखी टाढिएकाहरू पनि अनुकूल मिलेसम्म घर फर्किन थाले । सबैको घर घरमा खुसीको रौनकता छायो तर अफसोस ! मान बहादुरको घर शून्य नै भयो । काठमाडौँमा सानोतिनो व्यापार गर्न गएका छोरा/बुहारी घर आउन सकेनन् अर्थात् उनीहरूलाई यस पटकको व्यापारले अनुकूल वातावरण दिन सकेन ।

सबै भेला हुन थाले भेटघाटको क्रम सुरु हुन थाल्यो । सबैले मान बहादुरलाई सोध्न थाल्यो छोरा/बुहारी किन नआएका ? कस्ता होलान् बा/आमाको सम्झना र माया पनि नभएकाहरू ? आदी/इत्यादि ।

जसले जे भने पनि मान बहादुरलाई आफ्नो छोराको निरीहावस्थाबारे ज्ञात थियो र उनीहरूले चित्त बुझाएका थिए । भन्नेले जे भने पनि कान नसुने झैँ गर्न बाध्य थिए उनीहरू । छोराले भने बुवा/आमालाई भनेका थिए । “अहिले अवस्था प्रतिकूल परेर हामी आउन नसकेको हो । आशीर्वाद भन्ने कुरा र रमाइलो भन्ने कुरा दसैँमा मात्र दिनु र हुनु पर्छ भन्ने छैन । हामी सधैँ तँपाईहरुको मनमा छौँ र तँपाईहरुको आशीर्वादले रमाएर बाँचेका छौँ।”

छोराको कुरा सुनेर बाबु/आमाले चित्त बुझाए पनि गाउँ/समाजको प्रश्नले उनीहरू आजित भएका थिए र बाबुले फोनमा भन्ने गर्थे । “बाबु के गर्नु ?सबैले सोध्छन् नानाभाँती भन्छन् । “छोराको जवाफ हुन्थ्यो । “बुवा गाउँ,समाजको भनेको अरूको खोजी निधि गर्ने काम हो । त्यसमा के पिर मान्नु र ? खै म बेगारी भएर हाम्रो घरमा दुख भएर हजुर बिरामी भई लड्दा कसैले त्यो समय खोजी गरेनन् । उल्टै मलाई नानाभाँती भने । जानु नि कमाउनु ? यत्तिका तिघ्रे भएर के घर रुङ्घेर बसेको?दसैँ तिहार भनेको त सालैपिछे आउने चाड हो । चाडबाडको बहाना बनाएर किन आफूलाई जोगाउन खोजेको ? भन्ने मानिसहरू पनि तिनै हुन् त्यसैले पिर नमान्नु होस् बुवा । हामीमा पनि विवेक छ आफ्नो कर्तव्य र जिम्मेवारीको । ”

टिकाको दिन आयो सबै घरमा चहल/पहल बढे।सब निधार भरी टिका लाएर यता/उता जान थाले । मान बहादुर घरको बार्दलीमा बसेर यो दृश्य हेरिरहेका थिए । अलिक परबाट जित बहादुर अँध्यारो मुख लाएर आफू भएतिर आए र भन्न थाले । “भाइ मान बहादुर तिमी छोरा आएन भनेर दुख नमान । उनीहरू त परदेशमा दुख गरेर कमाउन गएका समय परिस्थितिले घर आउन सकेनन् सायद । तर मेरा त दुई/दुई जना छोरा बुहारीहरू उ जेठालाई टीकाकै दिन ससुराली टिका लाउन जान पर्‍यो रे उताबाट फर्केपछि मात्र हाम्रा हातको टिको लाउने रे । कान्छो चाहिँ दसैँको छुट्टीमा नै कता इन्डियातिर बुहारीलाई घुमाउन लैजान भनेर अष्टमीकै दिन हिँड्यो । आखिर के रैछ र ? घरमा छोरा/बुहारी हुनु र नहुनुको अर्थ ?”

जित बहादुरको कुरा सुनेर मान बहादुरको मुहारमा हल्का उज्यालो छायो र गाउँ/समाजका प्रश्नहरू त मेरा लागी केही होइन रैछ । मलाईभन्दा त जित बहादुरलाई झन् कस्ता कस्ता बचनबाण सहितको प्रश्न गरे होलान् ? मान बहादुर आफैले फेरि अर्को प्रश्न जन्माएर टोल्हाई रहे केही बेर ।