सान् फ्रान्सिस्को (क्यालिफोर्निया) । ‘दैनिक कामले फुर्सद नभएर कतै सहभागी हुन सकिँदैन’ यो भनाई अमेरिका बस्ने धेरैको मुखमा सुनिन्छ । तर यहाँ सञ्चालित धार्मिक महोत्सवमा भने दैनिक समय निकालेर आउने मानिसको भिड लागेको छ । ९ दिनसम्मका लागि आयोजना गरिएको धार्मिक यज्ञमा चौथो दिन सम्म सहभागीको संख्या बढ्दै गइरहेको छ ।
शनिवार यज्ञ सुरु भएको थियो । दुई दिन त बिदा परेकोले मानिसहरू आउलान् सोमवारदेखि भक्तजनको संख्या कम हुने आयोजकको आशंकालाई सहभागिताले उत्साहित बनाएको आयोजक संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स)का अध्यक्ष प्रितेश कार्कीले बताउनुभयो ।
‘धेरैको अनुरोध थोरै दिन गरौँ मानिस आउँदैनन् भन्ने थियो । तर भक्तजनको उपस्थिति कमी भएन’ कार्कीले भन्नुभयो । पहिलो सत्रमा बौद्ध गुरु तेन्जिङ लामा शेर्पाको प्रवचन र योगादेखि वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको भागवत कथा वाचन र साँझको आरतीसम्म भक्तजनरुले सभाहल भरिएकै छ । ‘कामको दिनमा पनि समय निकालेर डेढ दुई घण्टा गाडी चलाएर दैनिक मानिस आएका छन् । के त पुरै दिनलाई बिदा लिएर आएका छन्’ साउथ सान् फ्रान्सिस्कोबाट यज्ञभरी कामबाट बिदा लिएर दैनिक आउनु हुने स्वस्ति शर्माले भन्नुभयो ‘यस्तो यज्ञ न अहिलेसम्म भएको थियो, न पछि होला नहोला । मन शुद्ध र आफूलाई शान्त बनाउने अवसर हो यो ।’
यसरी बिदा लिएर सुन्न आउने, स्वयं सेवक हुने छन् भने छिटै काम सकेर साँझ यज्ञमा पुग्ने पनि धेरै छन् । दोहोरिएर आउने जाने बाहेक २ हजार बढी मानिसले यो यज्ञमा सहभागी भइसकेको नान्सका अध्यक्ष कार्कीको भनाई छ । यी मध्ये ३ सय बढी मानिसले दान सहयोग गरेको उहाँको भनाई छ । अबको शनिवार र आइतबार यहाँ आउने भिडलाई व्यवस्थित गर्न चिन्तामा छौँ । जुन ७ देखि चलेको यो महोत्सव १५ सम्म चल्नेछ ।
भागवत श्रवण तथा बौद्ध ज्ञानका साथै यस पटक यहाँको मण्डपमा भक्तजन आफैँले पितृ मोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रहशान्ति पूजा, लाख बत्ती प्रज्वलन गरेको मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडी बताउनुहुन्छ । पोखरेलको सङ्गीतमय भागवत वाचनमा सुन्ने र नाचेर आनन्द लिन भक्तजनहरू उत्साहित भएको उहाँको भनाई छ ।
२ लाख डलर सहयोग
महोत्सवको चौथो दिनसम्म नेपाली कम्युनिटी सेन्टरको लागि सहयोगस्वरुप २ लाख डलर सङ्कलन हुने भएको छ । आप्रवासन कानुन व्यवसायी यज्ञ नेपालले २२ हजार डलर थप गरेर सहयोग रकम ५५ हजार पुर्याउनु भएको छ । त्यस्तै डम्बरबहादुर थपलिया, प्रेम लामा र चन्द्रमणी पौडेलले २५ हजार डलर बढी दिएर ट्रस्टी बन्नु भएको छ ।
त्यस्तै यहाँ आएर वा अनलाइनमार्फत ३ सय बढी मानिसले यज्ञमा सहयोग गरेको नान्सका अध्यक्ष कार्कीले बताउनुभयो । अमेरिकाको सान् फ्रान्सिस्कोमा आयोजित धार्मिक महोत्सवमा शहरमा धार्मिक महोत्सव आयोजना गरिएको छ ।नेपालीको पुरानो संस्था नेपाली एशोशियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले आगामीजुन ७ देखि १५ सम्म ९ दिने धार्मिक कार्यक्रम आयोजना गरेको हो ।
नान्सले गत नोभेम्बरमा नेपाली कम्युनिटीसेण्टरको भवन गरेको छ । नान्सले १९ लाख २० हजार ९ सय ४२ डलरमा सो भवन खरिद गरेको हो । त्यसमध्ये १३ लाख १५ हजार डलर ऋण छ । करिब १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष ५सय २८ जनक्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६वटा अफिस कोठा छन् । भान्सा तथा अन्यस–साना स्टोर कोठाहरू र शौचालय छन् । ५४ हजार वर्ग फिटको पार्किङ लटमा १ सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छ ।