अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु

विनोद रोका २०७६ असोज ५ गते ११:५१ मा प्रकाशित

पढेर, सुनेर, वा देखेर थुपारिएका बिचारका कारणले गर्दा प्राय अरूले भनेको कुरा सुन्ने अध्येता हुँदैन । त्यसैले गर्दा हामीसँग प्रश्नहरू हुन्छन् जान्ने र बुझ्ने जिज्ञासा हुँदैन । त्यस्तो व्यक्तिको उदाहरण दिनु परयो भने हाम्रो बानी अरूलाई देखाउने हुन्छ । त्यो बानी मेरो पनि छ । त्यसैले मैले पनि बेला मौकामा त्यस्ता व्यक्तिलाई बुद्धि भरिएका मान्छेहरूको उदाहरण दिने गरेको छु । यस प्रसङ्गमा मलाई बुद्ध र सारीपुत्तको बारेमा सुनेको एउटा कथाको स्मरण हुन्छ ।

ब्राह्मणका छोरा सारिपुत्त धर्मशास्त्रका ज्ञाता थिए । सारिपुत्त लगायतका साधकहरू आफ्नो गुरुकुल आश्रम छोडेर बुद्धको शरणमा पुगे शिष्य बन्ने चाहाना लिएर जब बुद्धको बारेमा थाहा पाए । ऊनीसँग अन्य सैयौ अनुयायीहरू पनि पछि लागे । सारीपुत्तसंग शास्त्रद्वारा भनिएका अरूका अनुभवको ज्ञानको भण्डार थियो । त्यसैले उनले बुद्धसँग केही प्रश्नहरू राखे । उनको प्रश्न सुनेर बुद्धले भने यी प्रश्नहरू तिम्रा आफ्ना निजी होईनन । यी प्रश्नहरू तिमीले शास्त्र पढेका आधारमा गरेका हौ । त्यसैले मैले दिएको जवाफले तिम्रो जिज्ञासा मेटिँदैन । तिमी मलाई तिम्रा आफ्ना अनुभवका प्रश्नहरू गर । म ती प्रश्नहरूको उत्तर दिन्छु । सारीपुत्तले यो तथ्यलाई स्विकारे र आफू शास्त्रका प्रश्नबाट खाली भए । बुद्धले उनलाई शिष्यको रूपबाट स्वीकार गर्दै भने अब तिम्रो मुक्तिको बाटो खुल्यो । तिमी खाली भयौ । अब त्यो खाली ठाउँमा तिमीले ध्यानको माध्यमबाट आर्जित आफ्नो ज्ञानको दियोबाट सबै प्रश्नहरूको उत्तर पाउने छौ । लामो समयसम्म सारिपुत्त बुद्धसँग प्रश्न गर्न गएनन् । एक दिन बुद्धले सारीपुत्तलाई सोधेछन् तिम्रा प्रश्नहरू केही छन् भने सोध । प्रतिउत्तरमा सारीपुत्त मौन थिए । किनकि ऊनीसँग अब अरूको अनुभवद्वारा निस्किएका उधारो ज्ञान थिएन । उनको खाली ठाउँमा अब ध्यानद्वारा आर्जित आफ्नै अनुभव थियो । उनी भित्रको ज्ञानको दियोले अँध्यारो हराई सकेको थियो ।

केही वर्ष अगाडी पतञ्जलि योग नेपालका गुरु ललित शंकरजी २०१२ मा अमेरिका आउनु भएको थियो । मैले ऊहालाई डलास, टेक्ससमा मित्र देवी आचार्यजीको माध्यमबाट भेटेको थिए ईन्द्रेणीले गरेको नेपाली समुदायको लागि इमिग्रेसन कानुनको बारेमा आयोजना गरेको कार्यक्रममा न्युर्योकबाट वक्ताको रूपमा गएको बेला । त्यस बेला ललितजीले डालासमा योगाभ्यासको प्रशिक्षण दिनु भएको थियो । मैले ऊहालाई न्युर्योकमा आउने निम्ता दिए । सनातन धर्म सेवा समिति न्युर्योकका तर्फबाट हामीले पनि एउटा कार्यक्रम राख्यौ । यो समिति विष्णुदाईको अगुवाइमा विगत २५ वर्षदेखि न्युर्योक सहरको क्विन्स, ज्याक्सनहाईटसको सेरोफेरोमा एउटा पशुपतिनाथ र बुद्धको मन्दिर बनाउने सपना बोकेर सनातन धर्मको विडो थामी रहेको छ ।

ललितजी केही दिनका लागि मेरो पाहुना हुनु भयो । एक दिन ललितजीले भन्नु भो “विनोद सर एउटा अमेरिकी प्रोफेसर मेरो योगाभ्यासको कार्यक्रममा भाग लिन आयो । कार्यक्रम पछि पनि मसँग लामो समयसम्म योग र यसबाट हुने फाइदाका बारेमा जानकारी लियो । अनि मैले ऊनलाई सोधे “तपाईँ प्रोफेसर जस्तो मान्छेले म थोरै पढेको मान्छेसँग यसरी प्रश्न सोध्ने र मैले जवाफ दिनु पर्दा अप्ठ्यारो लागि रहेको छ” । यसको जवाफमा प्रोफेसरले भने “मेरो विषयमा पो त मलाई जानकारी छ तर यो योगको बारेमा म अनभिज्ञ नै छु । त्यसैले म यसबारेमा तपाइबाट राम्ररी जान्न चाहन्छु किनकि तपाईँ यसको ज्ञाता हो।” तर हाम्रो नेपाली समुदायमा प्राय सहभागीहरूको कुनै जिज्ञासा हुँदैन । यदि कसैले बोलिनै हाले भने कित गल्ती देखादेख कित आफ्नै धारणा राख्दछन् वा फलानाले त यसो भन्थे तपाईँले किन यसो भन्नु भो भनी प्रश्न गर्नुहुन्छ । किन होला ? ऊहाको प्रश्नमा मैले पनि प्वाक्क भनिहाले “गुरु हाम्रो भरिएको बुद्धिमा राख्ने ठाऊनै बाकी छैन । अलिकति खाली भएन सुन्ने अनि जिज्ञासु हुने ।” अनि हामी दुवै जना मस्तले हास्यौं । मैले पछि महसुस गरे म पनि उही डयांगको मुला रहेछु भन्ने । आज धेरै वर्ष पछि फेरी मलाई ललितजीसँग भएको माथिको भनाइको सम्झना आयो ।

प्रसङ्ग के भने हामीले न्युर्योकको क्विन्समो विगत १ वर्षदेखि हप्ताको प्रत्येक आइतबार साँझ सामूहिक ध्यान साधना र सत्सङ्गको थालनी गरेका छौ । यसमा करिब १५ जना जति सदस्यहरू छौ । हामीले एक घण्टा ध्यान र केही बेर सत्सङ्ग समय बिताउँछौ । समूहका सदस्यहरू विभिन्न ध्यानका पद्दतीबाट आउनु भएको छ । विपश्यना, रजनिश, रवि शंकर, डा. रमानन्द गिरि, डा. पिल्लाई, योगाचार्य बालकृष्ण, वेनप्रभु, आदि । कहिलेकाहीँ न्युर्योकमा आउनु भएका बेला अन्य सम्प्रदायका व्यक्तिरुसंग पनि हामीले सत्सङ्ग गर्ने गर्छौ । केही समय अगाडी रेम्पोचे गुरुजीका साथमा रहेर उहाँले सिकाउनु भएको ध्यान पद्दती र रक्षासँग पनि हामी सत्सङ्गमा सामेल भयौ ।

हाम्रो समूहका साथीहरूले बाल ज्ञानी गुरु आदित्यको चैत्र २४ देखि ३०, २०७५ मा ऊं आदिकुन्ज, गौरी नगर, काठमाडौँ, नेपालमा आयोजित त्रिगजुर शिवालयको प्राण प्रतिष्ठान एवम् ऊं आदिमणि मन्त्र महायज्ञ महाअनुष्ठानको पावन अवसरमा “ऊं आदि अनादि आदित्याय परम ज्योति आराध्याय ऊं नमो नमः.” मन्त्रको सामूहिक मन्त्रको पाठ न्युर्योकमा पनि गरयौ । र हामीहरूलाई बाल ज्ञानी गुरु आदित्यद्वारा आविष्कार गरिएका मन्त्रहरूको पाठ र ध्यानका विधिको अनुसरण गर्न सहज पनि हुन्छ । तर यस्तो सहजता समूहका कुनै सदस्यले मानी आएको गुरुजीको प्रक्रियामा भने हुने गर्दैन ।

समूहका साथीहरूलाई गुरु आदित्य र अन्य गुरुहरूको बारेमा केही कुराहरू थाहा छ । केही प्रत्यक्ष सम्पर्कबाट र केही उहाहरुका बारेमा सार्वजनिक भएका र सुनेका आधारमा । त्यसैले कहिलेकाहीँ कुनै खास गुरुको सानिध्यमा रहेका व्यक्तिले गुरुका बारेमा केही बोल्न लाग्यो भने हामी पनि आफ्नो भनाई राख्न हतारिन्छौ । यही मेसोमा गुरु आदित्यका नजिकमा रहेका साधकहरू डा. राजु अधिकारी, सुशीला र सागर थापाजीलाई हामीले हाम्रो सामूहिक ध्यान र सत्सङ्गको क्रममा पटक पटक स्वागत गर्ने मौका पाएका छौ । उहाहरुले ज्ञानका सागर गुरु आदित्यको प्रत्यक्ष सम्पर्कमा रहेर अनुभव गरेका अनि बटुलेका केही अमृतका थोपाहरू हामीलाई बाँड्नु हुन्छ । गुरु आदित्यले आफ्नो भनाइलाई पस्कने क्रममा भन्नु पनि भएको छ । “साधकको सानिध्यमा रहनु र स्पर्श गर्नु नै पनि साधकतापुर्ण मार्गको यात्रीको स्थान सुरक्षित राख्नु हो” तर कहिले काहि म लगायतका अन्य साथीहरूले साधकहरूका अनुभवका कुरालाई राम्ररी सुन्दैनौ र आफ्ना बिचारहरू थप्न थाल्दछौ । यसरी सिक्वेन्स नमिलेको अवस्थाको ज्ञात जब मलाई हुन्छ म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु ।