अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

राष्ट्रिय चलचित्र पुरस्कारको भव्य तयारी, पुरस्कृत हुनेलाई जनही २५ हजार नगद पुरस्कार

बिआरटीनेपाल २०७६ असार २३ गते १२:४२ मा प्रकाशित

चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर २७ असार, २०७६ मा राष्ट्रपति भवन, शीतल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना गर्ने भएको छ ।

चिरञ्जीवी गुरागाईं, चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृतद्वारा प्रकाशित प्रेस बिग्यप्ती अनुसार सो पुरस्कार समारोह भव्यरुपमा आयोजनाको लागि विभिन्न तयारी भइरहेको छ । हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुन सकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यस पटक समारोहमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । तीन वर्षकै नेपाली चलचित्र हेरेर निर्णायकले बोर्डमा परिणाम बुझाइसकेका छन् ।

राष्ट्रपति विधादेवी भण्डारीको हातबाट प्रदान हुने यो पुरस्कारमा यस पटक सम्मानपत्र र अवार्डसँगै नगदराशी पुरस्कारको पनि व्यवस्था गरिएको छ । २०७३, ०७४ र ०७५ सालमा यो पुरस्कारबाट पुरस्कृत हुनेहरूलाई प्रति विधामा जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी गराउनु भएको छ । समारोहमा तीन वर्षकै दीर्घ साधना सम्मान पनि प्रदान गरिने भएको छ ।

पुरस्कारमा नगद पनि दिइने प्रचलन रहेकाले पुरस्कृतलाई उहाँहरूको सम्मानका खातिर हरेक विधामा २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय भएको बोर्ड अध्यक्ष भट्टराईले जानकारी गराउनु भएको छ ।

अर्को वर्षबाट यो पुरस्कारको राशि बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ ।

यस्तै चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर यही २०७६, असार १६ मा नेपाली चलचित्र क्षेत्रमा विभिन्न विधामा सम्मानित हुनुहुने सबै विशिष्ट चलचित्रकर्मी, सर्जक तथा संस्थाहरूलाई सम्मान स्वरूप जनही २५ हजार रुपैयाँ प्रदान गरिने निर्णय चलचित्र विकास बोर्डले गरेको छ ।

यता राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई चलचित्रमय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाहरूले करिब १२ मिनेटको नृत्य प्रस्तुत गर्नुहुने भएको छ । जसका लागि एक साता यताबाट नृत्य अभ्यास भइरहेको छ । पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजयी गीतमा कलाकारहरूले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नु हुनेछ ।

नृत्य निर्देशकहरुः वसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अहिले विभिन्न गीतमा नृत्य प्रशिक्षण गराई रहनु भएको छ । यस पटक पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नका लागि अग्रज अभिनेता अभिनेत्री सरोज खनाल, गौरी मल्ल, शनि रौनियार, रमेश उप्रेती, दिपिल रायमाझी, दीपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, नृत्य प्रशिक्षणमा व्यस्त हुनुहुन्छ ।

यस्तै समकालीन पुस्ताका अभिनेता अभिनेत्रीहरुः केदार घिमिरे, पुष्प खड्का, निता ढुङ्गाना, पवित्रा आचार्य, विमला के.सी., छुल्ठिम गुरुङ लगायत विभिन्न कलाकारहरू पनि नृत्य अभ्यासमा व्यस्त हुनुहुन्छ । यो अभ्यास बुधवारसम्म सम्पन्न हुने वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया