अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

५० लाखको पुरस्कार सहित कमेडी च्याम्पियन

बिआरटीनेपाल २०७६ असार २० गते ८:४५ मा प्रकाशित

काठमाडौँ, यो वर्षको गाईजात्रा छेका पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ प्रसारण हुने भएको छ । प्रतियोगिता मूलक यो कमेडी रियालिटी सोलाई ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो । कार्यक्रमका निर्देशक विशाल भण्डारीले बिहीबार काठमाडौँमा पत्रकार भेटघाट आयोजना गरी आफू अब अडिसनको तयारीमा रहेको जानकारी गराए । भण्डारीका अनुसार यो प्रतियोगितामा वरिष्ठ हास्यव्यङ्ग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन् । 

विदेशी हास्य कार्यक्रमको यो कुनै फ्रेन्चाईज नभएको पुष्टि गर्दै यसमा सहभागिता जनाउने बारे आयोजक एवम् निर्देशक भण्डारीले भने,‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोबाइलमा डाउनलोड गर्ने । त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनेटको स्ट्यान्डप कमेडी भिडियो र विदेशबाट ५ मिनेटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्ने छ ।’ यिनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरूले विभिन्न सहरमा कमेडी च्यम्पिएनसिपको अडिसन आफूहरू सहभागी हुन पाउने छन् ।

अडिसनबाट चयन भएकाहरू मध्य उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी गराए । उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि विजेताले २५ लाख रुपैयाँ बराबरको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

यो कार्यक्रममा अभिनेत्री तथा नेपाल आइडलकी सञ्चालिका रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । सान थापाले लेख्ने यो कमेडी च्याम्पियनको निर्मातामा अभिनेत्री केकी अधिकारी सहित राज घिमिरे र सृजा थपलिया रहने छन् ।

निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कसैलाई मनहानी नहुने गरी यो नेपालको उच्चस्तरीय स्ट्यम्पड कमेडी आफूहरूले बनाउने पनि कार्यक्रममा बताइन् ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार एवम् निर्णायक सन्तोष पन्तले आफूहरूको पालामा भन्दा अहिले कमेडी सेन्स दर्शक र कलाकारमा धेरै बढेको बताए । अर्का निर्णायक मनोज गजुरेलले अहिलेको पुस्ताको चाहना अनुसारको कमेडी कार्यक्रम बन्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । निर्णायक एवम् अभिनेत्री ऋचा शर्माले पनि नेपाली स्ट्यान्डप कमेडीमा यो पहिलो नम्बरको कार्यक्रम बन्ने बताइन् । अर्का निर्णायक प्रदीप भट्टराईले यो कार्यक्रममा धेरै राम्रा कमेडियन जन्माउने विश्वास सो कार्यक्रममा व्यक्त गरे ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू