अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

प्रायश्चित

पुष्प आर.जे २०७६ वैशाख ५ गते २२:५८ मा प्रकाशित

कथा:

झापाको जुरोपानी वडा नं. ९ र १ को बीचमा सानो खोला छ । पारी केही तामाङ समुदाय बस्छन् भने वारी क्षेत्री समुदायको ठूलो बसोबास छ । केही परे एकअर्कालाई सधैं सहयोग गर्छन् । तर पनि कता कता तामाङ समुदायले क्षेत्री खलक बाट आफू हेपिएको महसुस गर्ने गर्दछन् । गाउँमा बाख्रा या कुखुरा हराउँदा नै किन नहोस् ।

सुरुङ्गा कन्काई क्याम्पस नजिकै नोर्बु तामाङले कफिसप चलाएको केही बर्ष मात्र हुँदैछ । ऊ भर्खर २५ बर्षको हँसिलो र रमाइलो स्वभावको छ । आफ्ना ग्राहकहरुलाई जहिल्यै खुसी बनाउन खुब सिपालु छ ऊ ।उसलाई सघाउने एक जना सहयोगी छन् ।

मेरो दिदीलाई छोड…! छोड ….! केही नगर !

तिमीहरू सब पापी हौ, एकदिन सबैले सजाय पाउँछौ।

सुँक्क….सुँक्क….नकुट नकुट…! दिदी……!

नोर्बु…नोर्बु…नोर्बु .. दाई…के भयो तपाईंलाई?

सगैको साथीले ढेल्दै निदाएको नोर्वुलाई बिउँझाउँ छ । नोर्बु आखाँ खोलेर चारैतिर हेर्छ । अनि टेवलमा राखेको पानी घट् घट् पिउँछ बोटल बाटै ।

हेर न युवराज ! मलाई कहिलेकाही यस्तो हुन्छ । खोला पारि क्षेत्रीको ठूलो बस्ति थियो । मेलापात जाँदा मेरो दिदी सेतीलाई पारि गाउँको निशानले मन परायो। दुईको प्रेमको हल्ला गाउँभरि फैलदै थियो।

एक दिनको कुरा हो ,आमा मेला गएको दिन थियो । दिउँसो पारी गाउँका केही आईमाईहरु आए हाम्रो घरमा ।

ओई सेती तैले मेरो छोरालाई के के टुना मुना गरिस् हँ…? मेरो घरको बुहारी बन्न खोज्ने तँ ? भोटेकि छोरी भएर हामी क्षेत्रीको छोरा ताक्न लाज लाग्दैन तँलाइ …?” एक्कासि दिदीलाइ झम्टिएर भनिन् एउटीले ।

उनले त्यति गरेपछि अरु पनि जाइलागे । सबैले लछार पछार गरे । बचाउन आउनेहरुसंग पनि ठूलै झगडा पर्यो । दिदीका कपडा च्यात्तिएको थियो । अनुहार चिथोरिएको थियो । नाकबाट रगत बगिरहेको थियो। म उनीसँगै टाँसिएर रोईरहेको थिएँ । निकै बेर पछि मात्र आमा र बुवा आए ।

भोलिपल्ट केही मान्छेहरुको रोहबरमा गाउँमा नै घट्ना मिलाइयो । घट्ना मिले पनि दिनै पच्छे समाजले दिएको बेईज्जत सहन नसकि केही दिनमै घर भित्र झुन्डिएर आत्महत्या गरिन् दिदीले । अहिले हामी बसाइँ सरेर अर्को गाँउमा गएका छौँ । एक महिना पछि निशान दाईको दिमाग बिग्रेको थाहा भयो । म ७ बर्षको थिएँ त्यो बेला । त्यसपछि सपनामा म जहिल्यै यसैगरी तर्सन्छु ।”

नोर्बुका कुरा सुनेर युवराजका आँखा रसाएर आयो।

भदौको महिना क्याम्पसमा नयाँ भर्ना भएका बिधार्थीहरु आउँदै थिए । बिहान उसको कफिसपमा बिध्यार्थीहरुको भिड थियो । उसको ध्यान पर कलेज ड्रेस लगाएकि ह्वेलचेयर ठेल्दै आउदै गरेकि केटीमा रोकिन्छ ।

कहिलेकाँही उनी साथीहरूसंग नोर्बुकोमा कफि र नास्ता खान आएकी थिईन् । एक प्रकारले ऊ त्यस केटीबाट प्रभावित भएको थियो। नोर्बु उनको नजिक हुन चाहन्थ्यो ।

क्रमश: दिनहरु बित्दै गयो । उसले नजरले त धेरै पल्ट बोलेको थियो। तर नजिक हुन भने भने सकेको थिएन कत्ती हिम्मत गर्दा पनि।

एकदिन बिहान ८ बजेदेखि नै पानी परिरहेको थियो । कोही साथीको छातामा ओत लाग्दै त कोही रुझ्दै घर अनि कोठातिर जाँदै थिए । उनी पनि रुझ्दै रुझ्दै जसो तसो कफिसप सम्म आईपुगिन् । टेवलको एकछेउमा गई रुमालले आफुलाई पुछिन् । नोर्बुले परबाट एकटकले हेरिरहयो एकछिन । अनि हत्तपत्त एउटा कफि ल्याएर उनको अगाडि राखिदियो ।

दाई मैले कफि मागेको छैन त ?” उनले आत्तिएजस्तो गरेर भनिन् ।

बाहिर पानी परिरहेको छ, भिज्नु पनि भएको छ । सर्दिलाग्ला भनेर ।

नोर्बुले पनि थोरै लजाउदै भन्यो ।

धन्यवाद तपाईंलाई । केही बेर मायालु नजरले हेरि रोजीले नोर्बुलाइ । अनि भनीन् “म रोजी.., यसपालिबाट पहिलो बर्षमा भर्ना भएको ।”

म नोर्बु अनि ऊ युवराज ! मेरो भाइ मेरो साथी जे भने पनि हुन्छ । हामी दुई भएर चलाउदैछौँ यो कफी सप । तपाईं यस्तो भएर पनि कति हिम्मतले पढ्नु भएको । यो झरिको निहुँमा तपाईसंग परिचय हुने मौका त मिल्यो ।

हेर्नू न आज छाता पनि थिएन । साथीहरू पनि भएनन् । त्यसैले पानीबाट ओति लाग्न यता छिरेको ।

तपाईं कत्ति बहादुर हुनुहुन्छ । यस्तो अवस्थामा पनि टाढाबाट कति दु:ख गरेर पढ्ने हिम्मत गर्नुभएको छ,

लामो हाँसो हाँसिन् उनले । उनको आँखा र अनुहारको भाव पढिरहेको थियो ।

” असहज जिन्दगि जिउने कोशिश गर्दैछु । भाग्यले ठगे पनि कर्मले परिपुर्ण पार्नुपर्छ नि जिन्दगिलाइ त । नत्र त मेरो यस्तो जिन्दगीको के नै पो अस्तित्व रहन्छ र ?

उनको बोली र अनुहारमा एकाएक गम्भीरता छायो ।

के के कुरा सम्झाएर सहानुभूति दिन खोजेको तर उनको ढृदताले नोर्बु एकाएक हच्किन्छ । अब देखि तपाईं हैन तिमी ल।

उनीहरु केही बेर गफमा हराउँदै थिए । मान्छेको चहलपह कम हुँदै थियो। पानी रोकिने छन्द थिएन ।

पानी त रोकिएला जस्तो छैन । कसरी पो जाने होला।” अनुहार निन्याउरो बनाउँदै भनिन् रोजीले ।

किन हतार छ र ? रोकिन दिनुस न पानी । अनि आरामले जानुहोला नि ।” नोर्बुले भन्यो

हेर्नू न खाना बनाउनु पर्ने । भोक पनि लागिरहेछ । पानी रोकिने छन्द छैन ।” रोजिले भनिन्

कति टाढा पर्छ र तपाईंको कोठा ?”

यहीँ नजिकै हो तर जाने पो कसरी । छाता पनि छैन । ह्वेलचेयर ठेलेर जानू पर्छ।” रोजीले भनिन् ।

छाता लिएर जानु नि त । हाम्रो अहिले कतै जाने काम छैन त ।” नोर्बुले छाता खोलेर दियो ।

रोजी छाता खोलेर हिँड्न खोज्छिन् तर हावाको झोकाले अगाडि बड्न दिँदैन । नोर्बु हत्तपत्त गएर छाता सम्हाल्छ ।

युवराज बस्दै गर है म उहाँलाई कोठासम्म छाडेर आउँछु।”

ह्विलचेयर ठेल्दै नोर्बुले उनको कोठासम्म पुर्याउँछ ।

मैले गर्दा तपाईंलाई दु:ख मात्र भयो है । सरि ल..,अरे तपाईं त भिज्नु भएछ नि!” रोजीले भनिन् ।

ठेल्दै आउदा थाहै भएन । अब उतै पुगेर फेर्छु ।”नोर्बुले सहज हुन खोज्यो ।

चिसो लाग्ला नि त । यि लिनु तौलिया चीसो पुछुन सबै ।” रोजिले तौलिया दिदै भनि ।

तौलियाको मीठो बास्नामा ऊ हराउछ एकछिन । अनि मनमनै अनेकौं कल्पनाहरु गर्छ ।

नोर्बु ! कता हराएको नि तिमी त दिउँसै ??”

रोजीको यो बोलीले ऊ झस्किन्छ । अनि आफुलाई सामान्य बनाउन खोज्छ । केही बेरको भलाकुसरि सकि नोर्बु बिदा हुन्छ । बाटोमा उन्कै बारेमा सोच्दै हिडिरहेको हुन्छ ।

रोजीले आफूजस्तै अपांगहरूका लागि केही गर्ने सोच राखेर साथीसंग सल्लाह गर्छिन् । सबै साथीहरूले साथ दिने सहमत जनाउछन् ।

नोर्बु हामी अपाङ्गता भएका साथीहरु मिलेर केही गर्ने सोचमा छौँ । ह्वेलचेयर, बैसाखी र सेतोछडी लगाएतका अपाङ्गता भएका साथीहरुलाइ चाहिने सर सामानको खाँचो छ। जरुरी भए पनि किन्न सकेका छैनौ। हामीले उनीहरुको लागि किनेर बाड्नका लागि च्यारटि को लागि केही स्टल राखेर सामान बिक्रि गर्ने सोचमा छौ। जसको नाफा बाट हामीले अपांगता भएकालाई ती सामान किनेर बाड्ने छौ। के तिमी हामीलाई साथ दिन्छौं त?” नोर्बुले पनि खुसी साथ सहमती जनायो यस कुरामा ।

सबैको सहमतिमा बजारमा एउटा स्टल राख्छन् । दृष्टिबिहीन साथीहरूले गित संगित गाए । अन्यले चिया कफि र आइस्क्रीम बेचे ।

यो कार्यक्रमले रोजी र नोर्बुलाई झन् नजिक गराउँछ । उनीहरु आपसमा खुलेर कुरा गर्न थाल्छन् ।

खाली हुँदा कहिलेकाही नोर्बु आफै ह्वेलचेयर ठेल्दै रोजीलाई कोठासम्म छोडिदिन्छ । दुबै कोठामा बसेर सुख दु:खका तिता-मिठा गफ गर्छन्।

के हो नोर्बुदाई ! रोजी दिदीलाई कतै भाउजू बनाउने सोचमा त हैन ? हेर्दै छु म सधैं ? याद गर्नु नि उहाँ क्षेत्री कि छोरी हो ? फेरि भाउजू आएपछि मलाई यहाँबाट निकाल्ने हैन नि? भन्देको छु अहिले नै ।”

रोजी संगको बीस महिना कसरी बित्यो थाहै भएन नोर्बुलाइ। फेरि कता कता रोजीले पनि आफुलाई मन पराए झैँ लाग्यो। भोलपल्ट हिम्मतका साथ प्रेम प्रस्ताव राख्ने बिचार गर्यो उसले । कलेजबाट फर्किदा नोर्बु ह्वेलचेयर ठेल्दै रोजीको कोठासम्म गयो । कोठामा पुगेर उसले सोध्यो ” रोजी म तिमीलाई कस्तो लाग्छ ?”

अनायसै आएको यस्तो प्रश्नले रोजी अक्मकिन्छिन् ।

नोर्बु के भन्न खोजेको ? तिमी मेरो साथी हौ मन पर्छ र त तिम्रो नजिक छु । त्यही भएर त मन खोलेर बोल्दैछु । तिमी मेरो कत्ति ख्याल गर्छौ है ।

रोजी म एउटा कुरा भन्छु न रिसाउ ल।

भनन नोर्बु किन रिसाउनु नि”

नोर्बुले भुईमा बसेर ह्वेलचेयरमा भएकी रोजीको काखमा टाउको राखेको हुन्छ। टाउको उचाल्दै आज के भएछ भनेर रोजी नोर्बुको अनुहार हेर्छिन्। नोर्बु अन्कनाउदै भन्छ ” धेरै भयो भन्न खोजेको तिमीलाई तर सकेको छैन। रोजी म तिमीलाई मन पराउछु। म तिमीलाई आफ्नो बनाउन चाहान्छु। तिमी जस्तो भए पनि म कहिल्यै धोका दिने छैन । सधै माया गरिरहने छु । आई लभ…यु ! आई लभ यू रोजी…..!!”

नोर्बुको यस्तो कुरा सुनेर रोजी अकमक्क पर्छिन।

नोर्बु तिमीले कसरी यस्तो कुरा सोच्न सक्यौ नि ? केहि बेर पछि साहस बटुलेर बोलिन रोजी ।

किन सोच्न नपाउनु त ? नोर्बुले आँखा जुधाउदै भन्यो ।

पाउन त पाउनु तर …! रोजी बिचैमा अड्किइन ।

तर के त ? भन त रोजी ? माया गर्छु म तिमीलाई सधैको लागि आफ्नो बनाउन चाहन्छु बिहे गरेर । के भन्छ्यौ तिमी ? नोर्बुले आफ्नो निर्णय सुनायो ।

तिमी मेरो मिल्ने साथी हौ नोर्बु । मैले आफ्नो सबै कुरा सेयर गरेको साथी भनेर ।बिश्वास गरेर मेरो काखमा टाउको राख्न दिएँ। म यस बारेमा केही भन्न चाहन्न । रोजीले भनिन् ।

नोर्बु निन्याउरो अनुहार पार्दै कफि सप तिर लाग्यो । युवराजसंग कफि मागेर छेउको टेवलमा बस्यो ।

दाइ के भयो अगि त हाँसेर जानू भएको थियो । रोजि दिदीले केही भन्नू भयो कि ?”

युवराज त्यस्तो त केही पनि होइन । किन मेरो मुख कस्तो छ र ?
युबराज हाँस्छ मात्रै । नोर्बु के…के कुरा भन्छ नबुझिने गरि। नोर्बुको यस्तो हुलिया देखेर युवराज छक्क पर्छ ।

उता नोर्बु हिडे पछि रोजी धेरैबेर रोएर त्यसै बसि रहन्छिन् । उठ्न मन लाग्दै लागेन। भोक नलागेको हैन तर खान मन लागेन ।मन मनै आफैलाई भन्छिन्

हैन ! म सधैं ह्वेलचेयरमा हिड्छु । जस्तो भए नि ठिकै छु । आफ्नो जिन्दगी डोहोर्याएर आफै बाच्ने कोशिस गरेकै छु । मैले नोर्बु सङ्ग बिहे गरेँ भने मलाई उसले लिएर हिड्नुपर्छ । उसको जिन्दगीमा भार कसरी बन्न सक्छु म ? ऊ त मेरो मिल्ने साथी हो।साथी हो भन्दैमा माया पिरतीनै हुनु पर्छ भन्ने छ र ? अहँ मैले मेरो जिन्दगीको भार नोर्बुमाथी बिसाउनु हुन्न ।

तर मलाई कसैको साथको र मायाको खाँचो छ जिन्दगीमा । कसको निस्वार्थ साथ पाएमा म पनि अपाङ्ता भएता पनि समाजमा केही उदाहरणीय काम गरेर बाच्न सक्छु । यस्तै द्वन्दमा छट्पटी रहन्छिन रोजी ।

रोजी कुनै निर्णयमा पुग्न सक्दिनन्। घरी सहि लागे नि घरी गलत लाग्छ कुरो । एकाएक रुन मन लाग्छ उनलाइ। रुदा रुदै मनमा अनेक कुरा खेलाउन थाल्छिन्।

रोजी भारि मन लिएर कलेज पुग्छिन्। बाहिर चारैतिर हेरिन् तर नोर्बु कतै थिएन । कलेजमा पढ्न मन लागेन । दुइ घन्टी पढेर उनी कोठातिर लागिन । भोलिपल्ट पनि कलेज आईन् तर कतै देखिन् नोर्बु लाई।

दिनहरु बित्दै गए पाचौं दिनको दिन कलेजबाट फर्किदा आँट गरेर कफि सप भित्र पसिन् रोजि । यता उता हेरिन्, अहँ नोर्बु थिएन त्यहाँ पनि ।

युवराज नोर्बु खै…? सन्चै त छ उनलाई ?”

अरे…दिदी किन रिसाउनु भएको हामी संग ? आउदा जादा नि बोल्नु हुन्न? यता नहेरि जानु हुन्छ? हामीबाट के गल्ती भयो र ?”

केही हैन भाई, कहाँ गए नोर्बु ?” रोजीली सोधिन् ।

खै के भनौ दिदी अस्ति तपाईंलाई छोडेर आएपछि मान्छे बेग्लै हुनु भएको छ । अनुहार रातो र निन्याउरो थियो । म संग राम्रोसँग बोल्नु पनि भएन । यहाँ एकछिन बसेर खै कता जानू भयो थाहा छैन।”

त्यो दिन बेलुका भए पछि अाउनु भयो । अनि छुराले हात काटेर आर.लेख्दै हुनुहुन्थ्यो । रगत धेरै आउन थालेपछि मैले नै रोकेँ । खै यति राम्रो दाईलाई के भयो ? एक्लै बर्रबराउनु हुन्थ्यो बेलाबेला ।”

त्यसपछि दिनभरी कता जानुहुन्छ अहिलेसम्म थाहा छैन ।

अँ….हिजो आउनु भएको थियो । खै के हराए झैँ यता उता हेर्नू भयो । सँधै तपाईं बस्ने टेवलमा गएर धेरै बेर हेर्नु भयो । एकछिन बस्नु भयो । युवराज पसल तिम्रो जिम्मा…! यति भन्नसाथ उठेर हिड्नु भयो । फेरि अहिले सम्म केही थाहा छैन दिदी दाइ कता जानू भएको छ ।

युवराजको कुरा सुनेर रोजी धेरै बेर सुँक्क सुक्क गरिन्। आफ्नो कारणले यस्तो भएकोमा दु:ख भएर पछुताइन् ।

रोजी कलेज नगएको हप्ता दिन भएको थियो । नोर्बुको यादले गर्दा दुब्लाउदै गएकी थिईन् । बिहान ८ बजे ह्वेलचेयर ठेल्दै कफिसप पुगिन्। युवराजलाई हेरिन् कतै देखिएन। टेवल कुर्सी सबै एकैठाउँ भेला पारि राखिएको थियो।

अरे दिदी तपाईं यहाँ ? दुब्लाउनु भएछ त । के भयो र ? म तपाईंलाई नै भेट्न जान लागेको थिए अहिले यवराजले भन्यो ।

भाइ केही भएको छैन अलि सन्चो नभएर ।

यो सब के हो ? पसल हेर्दा बन्द गर्न लागे जस्तो देखिन्छ ? फेरि हतारमा जस्तो छौ ? नोर्बुको कुनै खवर आएन ?

न‍ोर्बुको नाम लिना साथ युवराजले न्याउरो सानो अनुहार बनायो । रोजी आत्तिईन ।

भाइ के भयो मेरो नोर्बुलाई…?

दिदी ! नोर्बु दादा त सिरियस हुनुहुन्छ रे । अहिले उहाँको घरबाट फोन आएको थियो । दबाई खाएर लडेको देखि गाउँलेले अस्पताल त पुर्याए रे तर बाच्ने आस छैन रे । अहिले घरमा तुलसाको मोठमा राखेका छन् रे दिदी ।”

रोजीलाई यी कुरा सुन्न साथ रिंगटा लागेर आयो ।

उसको घर कहाँ हो नि युवराज ? रोजीले सोधीन्।

जुरोपानि १ नम्बर मा रे….!

जुरोपानि….? मेरो पनि जुरोपानि मै हो । वडा नम्बर ९ मा ।

तपाईंलाई थाहा छैन र ?

मैले कहिल्यै सोधिन उनले नि भनेनन्।

दिदी उहाँको कोठामा गएर हेरौ न त । एउटा झोला त छ जहिले सिरानिमा राखेर सुत्नु हुन्छ । कसैलाई छुन दिनु हुन्न।

दुबै जना नोर्बुको कोठामा पुग्छन् ।

दिदी यो झोला हो ।” झोला निकालेर दिन्छ युवराजले ।

रोजीले खोल्न थाल्छिन्

अरे तामाङ्नि ठुलीआमा ?

दिदी तपाईं चिन्नु हुन्छ र….?

अँ चिन्छु भाइ । पहिले खोला पारि थियो । अहिले अलि पर पर्छ । तामाङ्नि ठूलीआमाको छोरी पहिले झुन्डिएर मर्नु भएको हो।म अलि सानो थिएँ । अझै थाहा छ । हाम्रो घरमा पछिसम्म कुरा हुन्थ्यो।

अँ …दिदी दाइले भन्दै हुनुहुन्थ्यो । खै ९ नम्बर को छेत्रीको छोरा निसानसंग माया बसेको थियो रे ।

९ नम्बरको छेत्री त हामीहरु नै हौ अनि निसान मेरो दाई हो….!

भनेपछि नोर्बु सेतीको भाइ रहेछ । भनौ तामाङ्नि ठूली आमाको छोरा…उफ् !

दुबै जना टेक्सी लिई नोर्बुको गाउँतिर लाग्छन् । बाटोमा गाडी रोकि कस्मेटिक पसलबाट रोजीले केही सामान किन्छिन् । पहिले रोजिको घरतिर लाग्छिन्।

दाई आगनिमा टोलाएर कुर्सीमा बसिरहेका थिये ।

आमा छिटो यहाँ आउनु काम छ ” आँगनीमा छोरी कराएको देखेर आत्तिदै आगनीमा आउछिन् आमा ।

हैन किन चिच्याएकी बाहिरीबाटै ? हिँड भित्रै जाओ ।”आमाले भनिन् रोजीलाई ।

आमा गाडीमा बस्नु त कहिँ जानू छ ।

दाईलाई हात समाएर गाडीमा राख्छिन् रोजीले । गाडि १ नम्बरको पक्किभिट्टा तिर धुलो उडाउँदै लाग्छ ।

दाई उ त्यो घरमा गाडि रोक्नुस….है !

आमा र दाइ मुख हेराहेर गर्छन् । आज के अनर्थ हुने होला भन्ने सोचमा ।

आउन मन लागे आउन सक्नु हुन्छ . रोजि अघि लाग्छिन ।

घर भरि मानिसको भीड लागेको थियो । रोजी ह्वेलचेयर
ठेल्दै नोर्बुको छेउमा पुग्छिन्। मान्छेहरु अनेक कुराहरु गर्छन् । आमा र दाइ अलि पर उभिएर हेर्छन् ।

खै के हो अहिलेसम्म सास जान सकेको छैन । कसैलाई पर्खेको पो हो कि…?

छेउमा गएर रोजीले हाथ समाउछिन्, नोर्बुले आँखाबाट बर्रर आँशु झार्छ । आफ्नो ब्यागबाट सिन्दुर निकालि नोर्बुको हात समाई आफ्नो सिउँदोमा सिन्दुर लगाउछिन्…मान्छेहरू छक्क पर्छन् । आमा र दाई नजिक आउन खोज्छन् ।

मलाई कसैले रोक्ने कोसिस नगर्नु होला ।बा’आमा तपाईंले गर्दा नै सेती झुन्डिएर मरेकि हो । मलाई अझै याद छ । यदि यहाँ केही गर्ने कोसिस गर्नु भयो भने मलाई सधैंकोलागि माया मार्नु पर्ने हुन्छ ।”

केही बेरमा नोर्बुले ईशारा गर्छ । रोजीले मुखमा पानी हालिदिन्छिन । घुटुक्क …. नोर्बु आँखा चिम्लिन्छ । यता….रोजि ह्वेलचेयर बाट नोर्बु…भन्दै लड्न पुग्छिन्, रुवाबासि चल्न थाल्छ । मान्छेहरुले रोजीलाई पानी छेप्न थाल्छन् । आँगनीमा एकोहोरो शंख बज्छ ।

२ घण्टा पछि आँखा खोल्दा…. नोर्बु ….नोर्बु …नोर्बु… उनी बिक्षिप्त भईसकेकि हुन्छिन् ।

राम नाम सत्य हो..! मलामीहरु लास बोकेर हिड्छन् । रोजीलाई ह्वेलचेयरमा ठेल्दै लग्छन् । एकोहोरो शंखको आवाज सुनि मानिसहरु दौडदै हेर्न आउदै थिए आजै बेहुली र आजै बिधवा भएको । मलामीको लस्कर लामो थियो । एकातिर युवराजले बोकेको थियो । सबै मलामिका आँखा रसाएको थियो । कोही सुँक सुँक गर्दै थिए । चुराहरु फुटाईदै थियो । भर्खरको रातो सिन्दुर पखालिँदै थियो। नोर्बुको शरीर खरानी हुदै धुवाँ माथि आकाशमा उड्दै थियो। बिधवाको पहिरनमा पर ह्वेलचेयर बसि रोजी हेर्दै थिईन् । आँसुका धारा थामिएको थिएन। माथि आकाशमा एक ढुकुर बाटो बिर्से झै गरि यता उता छट्पटिदै उड्दै थियो । 

 

प्रतिक्रिया