अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०६ | Colorodo: 08:21

नेपाली चेली दावा याङ्जुम नर्थ फेसमा

बिआटिनेपाल संवाददाता, कोलोराडो २०७५ चैत १९ गते २१:४६ मा प्रकाशित

नर्थ फेसले दावा याङ्जुम शेर्पा, २७, लाई आफ्नो ग्लोबल एथ्लेट दूत बनाएको छ । त्यससम्बन्धी सम्झौतापत्रमा गत साता हस्ताक्षर भएको छ । 

नर्थ फेस बाह्य परिधान तथा खेलकुद पोसाक तथा सामग्री उत्पादन गर्ने प्रसिद्ध अमेरिकी कम्पनी हो । दावा नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला पर्वतारोहण पथ प्रदर्शक (फिमेल इन्टरनेशनल माउन्टेन गाइड) हुन् । ‘नर्थ फेस एथ्लेट परिवारको हिस्सा बन्न पाएकोमा खुसी छु,’ दावाले भनिन्, ‘पर्वतारोहण प्रतिको मेरो लगावलाई निरन्तरता दिन सहयोग पु¥याइदिनु भएकोमा आभारी पनि छु ।’

सम्झौतासँगै दावा पश्चिमा कम्पनीसँग व्यावसायिक सम्झौता गरेर आर्थिक लाभ लिने व्यावसायिक पर्वतारोहीको कित्तामा समेत पुगेकी छन् । नेपालमा यस्ता व्यावसायिक पर्वतारोहीको सङ्ख्या ज्यादै कम छ ।

सम्झौता अनुसार दावाले नर्थ फेसको ब्रान्ड प्रमोसन गरिदिए बापत वार्षिक १६ लाख ६० हजार रुपैयाँ (मासिक १ लाख ४० हजार रुपैयाँ) प्राप्त गर्ने छिन् । साथै, उनले अतिरिक्त ‘एथ्लेट डे’ बापत प्रतिदिन ३९ हजार रुपैयाँ र अतिरिक्त ‘ट्राभल डे’ बापत प्रति दिन १७ हजार रुपैयाँ पाउने छिन् । सम्झौता अनुसार उनले ८ हजार मिटर र सोभन्दा अग्ला हिमाल चढ्दा नर्थ फेस उत्पादिन गियर पाउने छिन् ।

पर्वतारोहणमा शौखिन दावा युवा, खासगरि महिलालाई पर्वतारोहण प्रशिक्षण पनि दिन्छिन् । नर्थ फेसभन्दा अघि उनी शेर्पा एडभेन्चर गियरमा ७ वर्ष एथ्लेट रहिसकेकी छिन् । उनी आइएफएमजिएबाट प्रमाणपत्र पाउन सफल दक्षिण एसियाकी पहिलो तथा सिङ्गो एसिया क्षेत्रमा रहेका २ मध्ये एक इन्टरनेशनल माउण्टेन गाइड हुन् । कोलोराडोको रकि माउण्टेनमा र एल्प्स अफ फ्रान्समा अनुभव सँगालेकी स्की खेलाडी पनि हुन् दावा । उनी नेपाल अमेरिका र साउथ अमेरिकामा पर्वतारोहणको काम गर्छिन् । उनी आफ्नो व्यावसायिक सफलताको श्रेय कन्राड एंकर, जेनिफर लो र पिटर एथेन्सको सहयोग र मार्गदर्शनलाई दिन्छिन् । साथै, उनी आफ्नो सफलताको श्रेय एएचएफका निर्देशक नोर्बु तेन्जिङ शेर्पा र ट्रली क्यापिटल पार्टनरका उपाध्यक्ष कर्साङ शेर्पालाई दिन्छिन् । 

प्रतिक्रिया