अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

राष्ट्रिय चिन्ता उन्मुलन आयोग

प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल २०७५ फागुन २५ गते ८:४४ मा प्रकाशित

केही दिन यतादेखि म अनेक कुराको चिन्ताले ग्रस्त छु । हुन त मान्छे जन्मनेबित्तिकैको प्रथम रुवाइ पनि चिन्ताकै परिणाम हो भन्छन् । हरेकले जन्मदेखि नै अनेक चिन्ता बेहोरेका हु“दाहुन् । मैले पनि उहिलेदेखि अहिलेसम्म यति चिन्तैचिन्ताको सङ्कटकाल बेहोरेँ लेखाजोखा गरेरै साध्य छैन । सुरुसुरुमा स्कुल जानुपर्दाको चिन्ता, होम वर्क नगर्दा कुटाइ खाइने चिन्ता आदि र पछिपछि अनेक कुराको चिन्ता । फेरि म त गाउँको मान्छे, स्कुल पनि टाढै थियो । खोलानाला तर्दै जानु पथ्र्यो, पानी पर्‍यो कि खोलाले बगाउला कि भन्ने चिन्ता । कति पटक त बगाइ पनि हाल्थ्यो । कहिले पानीले नै हुत्त्याएर निकालिदिन्थ्यो त कहिले नजिकका खेतालागोठालाहरूले खेलाडीलाल मुखियासा’बको नातिलाई खोलाले बगायो भनी कोलाहल मच्चाउँदै निकालिदिन्थे । निकालिसकेपछि पनि कहाँ ढुक्क हुन्थ्यो र ? खोलाले बगाएकै उपलक्ष्यमा बेलुका कुटाइ खाइने कुराको चिन्ता झन् भिन्नै । खोलाले बगाउनुलाई पनि मेरै दोष प्रमाणित गरी दण्ड सजाय सुनाइन्थ्यो, बेलुकाको रासन पानी बन्द गरिन्थ्यो । म दण्ड भोग्न बाध्य हुन्थेँ, के गर्नु मुखियासा’बका अगि मेरो के लाग्थ्यो र ? कहिले पढ्न जानका लागि घर छोड्नुपर्ने चिन्ता, घर सम्झी शुक्रवारको प्रतीक्षामा रोएर रात बिताउनु पर्ने चिन्ता । यस्तै चिन्तैचिन्ताले गर्दा एउटै क्लासमा पांचपटकसम्म फेल भइयो र अन्त्यमा पढ्नै छोडियो । दसपटकजति पु¥याएको भए अहिले सम्मानित हुइने रहेछ, त्यतिखेर त्यस्तो बुद्धि नै आएन के गर्नु ?

उमेर छिप्पिँदै गएपछि मेरो मन पनि यताउता बरालिन थाल्यो । अब पुराना चिन्ताको स्वरूप बदलियो । बाल्यकालतिर उति नजानिएको चिन्ताले गु“ड बनाउन थाल्यो । सर्वप्रथम छिमेकी मैयाँको नखराले नयाँ चिन्ता जन्मायो । त्यस चिन्ताले त उखरमाउलै मच्चाउन थाल्यो । यसबाट मेरा कति रात र दिन उस्तै भए । अन्ततः जङ्गलक्रीडा थालिएपछि त्यो चिन्ता साम्य भयो । मैले आमालाई बुहारीको खाँचो पूरा गर्नुपर्ने मागबमोजिम पल्ला गाउँले डन्ठे मुखियाकी छोरीसँग मेरो लगनगांठो बाँधियो । सुरुमा त ठिकै थियो । अलि पछिदेखि पुर्खाको बिँडो थाम्न इदरउदर आ“खा सन्काउन थालियो । कसैका छोरी बुहारी भनिएन । गाउँका मुखियाको छोरो कसैले केही भन्ने–गर्ने हिम्मतै भएन । त्यतिखेर आफू चिन्ता मुक्त भई अरूलाई चिन्तित तुल्याएरै मोज मस्ती गरियो । बाबुआमा, छरछिमेक, इष्टमित्र कसैलाई चैनले सुत्न दिइएन ।

मेरो चर्तिकला आमाकी बुहारीलाई पनि जायज लागेनछ क्यारे, ऊ पनि दाउरा–घाँस जाँदा अन्तै आँखा जुधाउन थालिछ र एक दिन त ऊ पनि अर्कैसँग सुइकिछ । यसबाट मलाईभन्दा पनि आमामालाई बढी चिन्ता भएछ । उनीहरू पनि कहाँ कम्तीका थिए र, रातारात अर्की खोजेर भित्र्याइहाले । मलाई पनि केटी भित्र्याउने र सुम्ठ्याउने कुरा खेलाँची जस्तै लाग्न थाल्यो ।

यस्तैमा म अनेकतिर बच्चाको बाउ भइसकेछु, त्यतिखेर अहिलेको जस्तो खत्र्याकखुत्रुक साधन पनि थिएनन् । बच्चाको माउ बनेकामध्ये केही त कोरली नै थिए, संस्कार तर केही त बुढी माउ पनि परेछन्, के गर्नु खुले जति त सकार्नै पर्‍यो । मेरो करतुत सहन नसकी व्याइतेजति पोइल गए पनि घाइते नै एक दर्जन जति भएछन् । म समानतावादी मान्छे, जात कुजातको कुरै भएन । यो मेरा लागि ठुलै चिन्ताको विषय पनि थिएन, किनभने हाम्रो पैतृक नियमै थियो जति बढी भए उति ठुलो मर्द कहलाइने । म पनि उच्चकोटिको मर्द कहलाइन थालेँ तर सबको इच्छा पूरा गर्न नसक्दाका कचकच सुन्नु पर्ने चिन्ताचाहिँ कहाँ कम थियो र ? यस्तैयस्तैमा मेरो उमेर छिप्पिदै गयो । सन्तानले डाँडाकाँडा ढाकिसकेका थिए । गृहस्थीको जिम्मेवारी बोध भने राम्ररी हुन पाएकै थिएन ।

नाति लन्ठु भयो भनेर बाजेले मलाई विदेशतिर हुइक्याइदिए, त्यता केही वर्ष कुल्ली भएर फर्कँदा देशमा प्रजातन्त्र आइसकेछ । मेरो बेहोरामा कुनै परिवर्तन थिएन । मेरो चर्तिकला मेरा बाउलाई पनि अलि बढ्तै लाग्न थालेछ क्यारे, छोरो बिग्रियो भनेर बाउले मलाई राजनीतितर्फ धकेलिदिए । ठूलाबडाको छोरो, धेरै स्वास्नीको पोइ, चारैतिर ससुराली भएको मान्छे, मेरा लागि चुनावमा लड्न उत्तम क्राइटेरिया भएछ, विभिन्न दलमा मेरो आमन्त्रण हुन थाल्यो । अन्त्यमा मैले एउटा दलको सदस्यता लिएँ । अरू हेरेकोहेर्यै भए । चुनाव भयो । चारैतिर गुन्डा सालाहरूलाई तैनाथ गरियो … केके गरियो, चुनाव जितियो । चुनाव जितेर राजधानी आउने बेला कुनचाहिँलाई साथमा ल्याउने भन्ने चिन्ताले सतायो । सब तँछाडमछाड गरेर कुस्ती खेल्न थाले । मचाहिँ सबलाई छोडेर राती नै राजधानीतिर एक्लै हानिए ।

परम्पराअनुसार राजधानीमा सरकार बनाउने–ढाल्ने खेल सुरु भयो । म पनि कम्तीको खेलाडी कहाँ थिए र ? पढाइ पो कम थियो त लडाइ त कम थिएन नि उहिलेदेखि अहिलेसम्म कतिलाई लडाइयो–लडाइयो हिसाबै छैन । यस्तैमा आफू डेरा बसेकै घरकी बुढी कन्या भित्र्याइयो र हनिमुनका लागि सरकारी खर्चमा अमेरिकातर्फ लागियो । फर्केर घरज्वाइ भई उसकै दाइजोका घरमा बस्न थालियो तर उसको हालत पनि मेरोभन्दा कम रहेनछ, अनेकलाई खुसी राख्नुपर्ने । म मन्त्री हुने गाइगुइ चल्नथालेपछि ऊ मेरी एकलौटी हुन खोजी तर मचाहिँ घरज्वाइ भएर पनि नयाँ नयाँ कोरलीकै ध्याउन्नमा थिए ।

यत्तिकैमा मलाई दलबदल र मोटै रकमका साथ मन्त्री हुने अफर आयो । राष्ट्रको भलाइका लागि मैले त्यसलाई स्वीकार गरेँ । मेरा भागमा महिला तथा विज्ञान प्रविधि मन्त्रालय पर्‍यो । सुरुमा त अलि अप्ठ्यारो होला कि भन्ने चिन्ता भयो तर छिटै बानी परियो । मलाई पहिलेदेखि नै महिला मन्त्रालयको त राम्रै अनुभव भएकाले नारी उत्थानबारे भाषण गर्न खासै अप्ठ्यारो भएन । विज्ञान प्रविधि मन्त्रालय अलि अप्ठ्यारो भए पनि विज्ञानी नभएका मुलुकमा अर्काले लेखिदिएको भाषण भट्याउन मलाई केही गारो भएन । माननीय विज्ञान प्रविधि मन्त्री ल्याप्चेलाल बज्रस्वांठका नाममा गरिएका मेरा अनेक भाषणहरू टिभी, रेडियो, पत्रपत्रिका जताततै आउन थाले । पहिलेको लोकल ठर्रा ब्ल्याक लेबलमा परिणत भयो । प्रत्येक दिन नयाँ नयाँ ठाउँका पाँचतारेमा नयाँ नयाँ कोरलीका साथ भोजन र विदेश सफर हुन थाल्यो । मबाट आफ्नो काम सजिलै पट्याउन सकिने भएकाले विदेशमा समेत जताततै मेरो नाम फैलियो । अब राष्ट्रमा मात्र होइन, अन्तर्राष्ट्रमा समेत म माननीय ल्याप्चेलालका नामबाट चिनिन थालेँ । मेरो सारा चिन्ता दूर भयो ।

एक पटक सालालाई रातो पासपोर्ट दिँदा चर्चाको शिखरमा पुगेँ । मलाई पार्टीले कारबाही गर्‍यो र मन्त्रीबाट हटायो । म पनि के कम थिएँ र ? तुरुन्त दल बदल गरेँ र अरू थप दुई मन्त्रालयसहित गाभेर मन्त्री भए । जुनसुकै विषयमा धारा प्रवाह मनगढन्ते भाषण छाटें । जन्मोत्सवमा श्रद्धाञ्जली दिन पनि पछि परिन । अलिपछि प्रधानमन्त्री हुने इच्छा जाग्यो । दल फुटाए । बुढा पुराना जति पाखा लगाएर आफू दलको नेता बने। खत्र्याक खुत्रुक गरेर सरकार परिवर्तनतिर लागे । प्रधानमन्त्री बनिगए । मेरो इच्छा पूर्ण भयो । श्रीमती र कुनतिरकी हो सात पोइले छोरीलाई सामाजिक सेवाका निहुँमा अनेक गोरख धन्दा गराएर डलर कुम्ल्याउन लगाए । आफन्त जति कसैलाई पनि पछि पूर्वमन्त्री भनिने अवसर दिन बाँकी राखिन ।

सुरक्षाको चिन्ताले पुराना श्रीमतीपट्टिका सालालाई बडीगार्ड बनाए, अब सुरक्षाको चिन्ता पनि भएन, ढुक्क भए । प्रधानमन्त्री भएपछि नाफामा रहेका कम्पनी जति निजीकरण गरिदिए, आफन्तलाई ठेक्कापट्टा मिलाइदिए । अब संसारको जुनसुकै मुलुकमा गए पनि मलाई पैसाको चिन्ता हुन छाड्यो, जताततै बैङ्क खाता । पहिलेको लुरे फिस्टो अहिले गैंडेघ्याम्पो भएको छु । अनगिन्ती खाद्य–अखाद्यबाट बढेको यस पापी घ्याम्पाका कारण अहिले उति चलखेल गर्न पनि सक्तिन ।

विपक्षीहरूले चुरी फुरी देखाउन थालेपछि तिनलाई ठेगान लगाउन अनेक आयोग र कानुन बनाएर तर्साए … तर अन्त्यमा म आफूले खनेका खाल्डामा आफैँ जाकिए । अहिले मेरो बिल्लीबाठ भएको छ । बोलौँ राम्ररी जान्दिन, अरूलाई बोल्न लगाऔँ कसैको भरोसा छैन । त्यसैले चुप लागेर बसेको छु । त्यो पनि धेरै दिन टिक्ला जस्तो छैन, पार्टनरहरू धमाधम दोष जति मेरा टाउकामा थोपर्दै उम्कँदै गर्न थाले । राष्ट्र कङ्गाल बनायो भन्ने दोषारोपण पनि ममाथि नै थोपरियो । मैले त सर्व मङ्गल नै गर्न खोजेको थिए तर अरूले नै मलाई फसाए प्रभु आफू परियो हिसाब भनेपछि पिसाब आउने वर्गको मान्छे । मैले अरूले भने जति त भ्रष्टाचार गरेकै छैन । जान्नेले अलि हिसाब बिगारिदिएका मात्र हुन् । भने जति तिरेर उम्कौँ भने पनि त्यसैलाई इस्यु बनाएर जाक्लान् भन्ने चिन्ताले अहिले म सबभन्दा बढी ग्रस्त छु । मलाई कानुनले बनाएको होइन, मैले कानुन बनाएको हु, अतः मलाई त कानुन लाग्नु भएन नि प्रभु !

देशै पखाल्ने गरी पानी ल्याउन पनि खोजेकै हुं तर भाग्यले साथ नदिएपछि कसको के लाग्दो रहेछ ? आफ्नो स्वार्थ विपरीत काम कुरा गर्ने जतिलाई प्रतिगामी भन्दै ठोकेकै हुं, प्रजातान्त्रिक चुनावको नारा लगाएकै हु । कार्यकर्तालाई ठेक्कापट्टा पनि मिलाइदिएकै हुँ । परेका बेला हिरा बुद्धिजीवीको राय पनि लिएकै हुँ । अनेक तिक्डम गरेर मात्र होइन विज्ञापनमै भिडेर पनि पटक पटक सत्तामा पुगेकै हुँ । उही तरिकाले आफू पुग्दा अग्रगमन र अरू पुग्दा प्रतिगमन भनेर सडक जाम गरेकै हुँ । पजेरो पनि बाँडेकै हुँ । हिजोका करोडपतिलाई करोडपति बनाइदिएकै हुँ । पक्ष–प्रतिपक्ष सबलाई रिझाउन जे पनि गरेकै हुँ तर अहिले मेरा सिरमा कत्रो बज्र पात गर्‍यो प्रभु, यसबाट मुक्ति देऊ । अहिले मेरो सबभन्दा ठुलो चिन्तै यही हो ।

मैले राष्ट्रिय ढुकुटी खर्चेरै भए पनि कतै आफै र कतै मन्त्री सालामार्फत अनेकलाई अनेक व्यवस्था गरिदिएकै हुँ । सिटामोलसम्म नदेखेका झारफुके सांसदलाई हाछिउ आउँदा समेत उपचारका लागि सरकारी कोषबाटै खर्च मिलाई विदेश सयर गराएकै हु, सुत्केरी खर्चको बिल पनि भुक्तानी गरिदिएकै हु । चाडबाड आउने बित्तिकै बोका, खसी, राँगा, कुखुरा बाँडेकै हुँ । मैले आफू मात्र नखाएर सब कार्यकर्तालाई पुर्‍याएकै हुँ । आफू पक्षकालाई मात्र नभएर प्रतिपक्षलाई समेत खुवाएकै हुँ तर अहिले कुन ग्रह दशा बिग्रिएर हो, म मात्र घानमा परेँ । सारा चौपट्ट भयो प्रभु रक्षा गर ।

अं, एउटाले स्कुल पढ्दा लिएको दस रुपियाँ ऋण अझै तिरेको छैन, पछि अर्को एकजनाले अलि ठुलै रकम लिएर सुइक्याइदियो । आफ्ना नाममा राख्दा थाहा पाउ लाउन् भनी अरूका नाममा राखिदिएको त धेरैजसो फिर्तै भएन, माग्दा उल्टै पोल खोलिदिऊँ भनी थर्काउँछन्, तैपनि मैले ती सबलाई माफी मिनाहा गरिदिएकै हुँ तर मलाई मात्र यत्रो हन्डर किन प्रभु !

म त भाग्यमा विश्वास गर्ने मान्छे । रत्नपार्कका ज्योतिषीदेखि राष्ट्रज्योतिषीसम्म धाउन, टाउकामा अण्डा फुटाउनेदेखि चाकमा ठन्डा बर्साउनेसम्मका कुनै काम पनि बाँकी राखिन । मैले रत्नपार्क वरिपरि फुटपाथमा बसेर अरूको भाग्य र भविष्य बताउने ज्योतिषी स्वयंको भाग्य र भविष्य कसले हेरिदिने हो भन्ने तर्फ ध्यान दिइन । त्यो मेरो ठुलै भूल थियो । यस्तै अण्डा फुटाएर मन्त्री हुने भविष्यवाणी गर्ने हरिलट्ठक स्वयं किन मन्त्री भएन ? मन्त्री त अण्डा फुटाएर नभई दल फुटाएर हुने खेल हो भन्ने कुरा के थाहा त्यस बबुरालाई, तर यो कुरा त्यतिखेर मेरा भेजामा घुसेन, अहिले घुस्नुको अर्थ छैन । यस्तो दुखद अवसान त शत्रुको पनि नहोस् प्रभु !

अहिले उताका श्रीमतीमध्ये केही खुस्किए रे केही पोइल गए रे यतीकाले पनि छोडी हाली । छोराछोरी जताततै स्याउ स्याउंती छन् । कुन कुन हुन् पत्तो छैन … । आफूचाहिँ छिँडीको बासमा छु, कोही भेट्न पनि आउँदैनन् । अप्ठ्यारो परेका बेला कोही आफ्नो हुँदो रैनछ । सम्पत्तिमा सबैको हाइहाइ, विपत्तिमा कोही छैनन् दाजुभाइ भन्ने गाइनेको गीत ठिकै रहेछ । अहिले मेरो हालत त्यस्तै छ । अहिले म मरु कि बांचु भन्ने चिन्ताले ग्रस्त छु, प्रभु … खै के गरु । चिन्ताले चिता निम्त्याउँछ भन्ने कुरा साँच्चै रहेछ । अहिले म अपठित दार्शनिक भएको छु । लौ प्रभु मलाई रक्षा गर, यो सारा चिन्ताबाट मलाई सदाका लागि मुक्ति देऊ, म जे सुकै र जतिसुकै चढाउन पनि तयार छु ।

तपाईँ ठान्नु होला कस्तो व्यक्तिगत चिन्ताका मात्र कुरा गर्छ भनेर, कुरा त्यसो होइन मेरा सबै चिन्ता राष्ट्रिय सरोकारका छन् । म स्वयं राष्ट्रिय व्यक्ति भएपछि मेरा चिन्ता स्वतः राष्ट्रिय हुने नै भए । मैले त्रिअस्त सम्बन्धी चिन्तालाई पनि राष्ट्रिय चिन्ताकै रूपमा लिएको छु । के हो यो त्रिअस्त भन्नुहोला–त्यो हो मङ्गल, केतु र राहुअस्त । पहिलो अस्त भयो, अरू दुई अस्त हुन बाँकी नै छन् । यी तीनको अवसानबाट ठुलै राष्ट्रिय क्षति होला भन्ने मेरो ठुलो चिन्ताको विषय हो ।

पहिलो चिन्ता हो— अहंरोगले ग्रस्त मङ्गल अस्तबारे । केही अगि मात्र अचानक मङ्गल अस्त भयो, मङ्गल अस्त भएपछि यस देशको ग्रह दशा, साइत कुसाइत हेर्ने कोही नभएर सारा चौपट होला भन्ने चिन्ताले म ग्रस्त थिए तर मङ्गल अस्तसँगै रिपोर्टस क्लबमा भाषण गरेरै राष्ट्र भविष्य सुधार कार्यक्रम गर्ने राष्ट्र ज्योतिषीहरूको जमात नै तयार भएको देख्दा मेरो पहिलो चिन्ता हटेको छ भने दोस्रो र तेस्रो चिन्ता भने कायमै छ ।

दोस्रो चिन्ता हो— सम्मान रोगले ग्रस्त केतु अस्तबारे । आजीवन न्याउन्याउ गर्दै गीत गाएर राष्ट्रिय गाइने भई सारा सम्मान–अभिनन्दन र पुरस्कारको जरो बुटै उडाउने विग्रही केतुअस्त भएपछि वर्तमान राष्ट्रमै प्रमुख अतिथिको कार्यभार ग्रहण गरिदिने वृद्धको खाँचो हुने र कोरलीहरू निन्याउरिने चिन्ताबाट म निकै ग्रसित छु । वृद्धभत्तासहित अरू दुईचार थप भत्ता, लत्ता र बरु सत्ता नै दिएर पनि उनलाई चिरञ्जीवी तुल्याउने मेरो योजना पूरा हुनै पाएन । म खुस्किहाले अब के हुने हो ? भन्ने कुराले म चिन्तित छु ।

तेस्रो चिन्ता हो— कुर्सीरोगले ग्रस्त राहु अस्तबारे । जताको जस्तो भए पनि एउटा घुम्ने कुर्सी पाएपछि सारा रोग निको हुने नत्र अमेरिकातिर हानिँदै, देखा पर्दै, घुक्र्याउंदै पद हत्याउन सिपालु प्रकाण्ड कालकूटलाई मैले अनेक जालझेल गरी कुर्सी उपलब्ध गराएकै हुँ तर के गर्नु त्यो त सारै बैगुनी रहेछ । कीर्तिपुरे डाँडाको उचाइ बढाएर सगरमाथामा पुर्‍याएको ठान्ने राहुअस्त भएपछि नेपालीको केन्द्र नै भत्किने र कीर्तिपुरको डाँडो भासिएर झापापारि मिसिने हो कि अनि नेपालको प्रज्ञाचक्षु पट्ट फुटेर देशै अन्धकार हुने हो कि भन्ने कुराले मलाई अझै चिन्तित तुल्याइरहेको छ ।
यी तीनैलाई मैले व्यक्तिगत चिन्ता नभई राष्ट्रिय चिन्ताको विषय ठानेर तीनै ग्रह–विग्रह चिरञ्जीवी होउन्, यिनको अस्त कहिल्यै नहोस् भन्ने मेरो कामना थियो तर के गर्नु दैवको लीला मङ्गल अस्त भइहाल्यो, बाँकी दुईको अवस्था पनि गुरु गम्भीर छ भन्ने सुन्छु । यसै पिरले मेरोचाहिँ आधा मासु भइसक्यो ।

यी सब गथासाको चुरो कुरो के हो सुटुक्क भनौ — आफ्नो छोरो मर्नुभन्दा मितकै छोरो मर्नु बेस । यी दुई पनि अस्त भए त केही थिएन तर मेरै जहाज डुब्ला कि भन्ने चिन्ताले चाहिँ म मर्नु न बाँच्नुको दोसाँधमा छु । फेरि म धेरै वैध–अवैध सन्तानको पिता, यस्ता पातकी बाउको क्रिया नगर्ने, जुठो नबार्ने भन्ने सार्वजनिक घोषणा गरी धेरैजसो जङ्गल पसिसके रे ! यसै हो भने त खै के गर्ने ? यस्तै यस्ता राष्ट्रिय–अराष्ट्रिय चिन्ताले मेरो मुटु कुटु कुटु खाइरहेछ, अब त सकिन धेरै बेर पनि लाग्दैन होला, के गर्नु— रक्षा गर प्रभु ! कतै छौ भने रक्षा गर, नत्र चाइने केरे मत ठहरै हुने भए । बरु मेरा डन्ठे सालाको अदक्षतामा तु. प्रतिवेदन पेस गर्ने गरी उच्चस्तरीय राष्ट्रिय चिन्ता उन्मुलन आयोग गठन गर्ने व्यवस्था गरिदेऊ प्रभु । यहाँ आयोग बनाउन कुनै आइतबार पर्खनु पर्दैन, जहिले गरे पनि भइहाल्छ । त्यतिन्जेल भए पनि मेरो शान्ति भोग गर्ने इच्छा जीवितै छ । यति इच्छाचाहिँ जसरी पनि पूरा गरिदेऊ प्रभु । बरु जहाँको जतिको चेक उपहार पठाउन पनि मन्जुर छु, मर्जी होस् प्रभु ! नत्र म चिन्तैचिन्ताले मर्ने भए ।