अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

प्रथम अनेसास च्याप्टर सम्मेलनमा प्रमुख अतिथि हुंदा

प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल २०७५ कार्तिक १० गते ९:३३ मा प्रकाशित

(भाग १)

१. लसएन्जेलसतर्फ प्रस्थान र हलिउड भ्रमण
अनेसास केन्द्रको आयोजना र लसएन्जेलस च्याप्टरको संयोजनमा २०१६ मे २०–२२ मा प्रथम अनेसास च्याप्टर सम्मेलन र जुन ४–५ मा रजतजयन्ती कार्यक्रम गर्ने निर्णय पहिले नै गरिसकिएको थियो । अनेसासको २५ वर्षे इतिहासमा प्रथम पटक आयोजित यस ऐतिहासिक सम्मेलनको प्रमुख अतिथिका रूपमा म आमन्त्रित थिएँ । म सो कार्यक्रमका लागि मे १७ बेलुकी ९.१५ मा कतार एयरवेजको उडानबाट प्रस्थान गरेँ । ५.३० घण्टामा २०८८ माइल उडेर दोहा पुगियो । दोहामा केही समयको ट्रान्जिटपछि मेरो यात्रा अगाडि बढ्यो । त्यहा“बाट ८२९४ माइलको लामो यात्रा गर्नु थियो । त्यसका लागि १६–१७ घण्टा लाग्थ्यो । म मे १८ दिनको दुई बजेतिर लसएन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएँ र केही समयमै अध्यागमनका प्रक्रिया पूरा गरी बाहिरिएँ । विदेशी अध्यागमनमा प्राध्यापकलाई उति दुख दिदैनन् ।

त्यहाँ मलाई लिन च्याप्टर सम्मेलन संयोजन समितिका संयोजक शान्तिराम ढकाल, बिओटी सदस्य राम लामा, बलराम थापालगायतका व्यक्तिहरू अगि नै आइसकेका रहेछन् । फूलका गुच्छा, माला, खादासहितको भव्य स्वागत–सम्मान र सामान्य भलाकुसारीपछि उनीहरूले मलाई सोझै होटेलमा पुर्याए । केहीबेर गफगाफ र खानपिनपश्चात् एकछिन आराम गरियो ।

यो सम्मेलन सफल बनाउनका लागि पहिले नै प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, डा. श्याम कार्की, होमनाथ सवेदी, ऋषि ढकाल, भक्त थापा, मुकुन्द ढुङ्गाना, वेदभक्त जोशी, उमा कार्की थापा र राजेन्द्र सिवाकोटी रहेको सल्लाहकार समिति गठन गरिएको थियो । लसएन्जेलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालको संयोजकत्वमा सहसंयोजक डनबहादुर कार्की र सदस्यहरू गीता खत्री, सुमल गुरुङ, प्रकाश पौडेल, भीमसेन सापकोटा, प्रकाश नेपाल, गीता पन्थ, भगवती बस्नेत, भोला सिवाकोटी, कुसुम ज्ञवालीलगायत स्थानीय साहित्यकार, बुद्धिजिवी, कलाकार, समाजसेवी र व्यवसायीहरू गरी ५१ सदस्यीय समिति पनि गठन गरिएको थियो । यसैगरी व्यवस्थापन समितिका संयोजक राम लामा, आर्थिक समितिका संयोजक तिलक कार्की, स्वागत समितिका संयोजक सुशीला पाण्डे, महिला समितिका संयोजक तुलसा कार्की, सांस्कृतिक समितिका संयोजक इन्दिरा त्रिपाठी, टेक लामा, प्रचारप्रसार समितिका संयोजक प्रेम गुरागाईं, खाद्य समितिका संयोजक प्रकाशचन्द्र घिमिरे, यातायात व्यवस्थापन समितिका संयोजक नवीन पोखरेल, युवा समन्वय समितिका संयोजक विश्व, उत्तमजंग थापा, अनुषा कार्की रहेका थिए । मिडिया पार्टनरका रूपमा हिमाली पोस्ट, मेरो खबर, हिमालय खबर, खुला मञ्च, समुदाय मासिक, ए एन टिभी, बिआरटी नेपाल, हाम्रो इन्टरनेट रेडियोलगायत रहेका थिए । सम्मेलन सफल बनाउन यी सबै क्रियाशील थिए ।

च्याप्टरहरू बीच आपसी सहयोग र अनुभव आदानप्रदान, नेपाली साहित्यलाई विश्वव्यापीकरण, संस्थाको संस्थागत विकास, च्याप्टरको महत्व तथा च्याप्टरहरू बीच दूरी घटाएर दरिलो सम्बन्ध स्थापना र विकास आदि उद्देश्यबाट आयोजित यस कार्यक्रममा संसारभरि रहेका विभिन्न देशका च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहने यस कार्यक्रममा अन्यत्रबाट आउनेहरूको क्रम पनि निरन्तर थियो । कोलोराडोबाट अध्यक्ष पदम विश्वकर्मा, न्युयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अस्ट्रेलिया पर्थ च्याप्टरका अध्यक्ष गणेश घिमिरेहरू पनि आइपुगेका थिए, अरू आउने क्रम जारी थियो । पाहुनाहरूलाई बस्ने व्यवस्था राम्रै होटलमा गरिएको थियो । अध्यक्ष पदम विश्वकर्मा, न्युयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठ र म एउटा कोठामा थियौँ । बेलुका संयोजक शान्तिराम ढकालसमेत बसेर कार्यक्रमको विस्तृत रूपरेखा बनाइयो ।

मे १९ का दिन राम लामा र राखीले मलाई हलिउड घुमाउन लगे । पहाडी डाँडाकाँडामा निर्माण गरिएको हलिउड विचित्रकै ठाउँ रहेछ । त्यहाँ पूरै डुलेर सबै कुरा बुझ्नलाई त महिनौ लाग्ने रहेछ । हामीलाई केही घण्टामै ती सब डुलिसक्नु थियो । त्यहाँ थरीथरीका पिङ खेलियो, हिराहिरी चढ्ने बाइक चढियो र भुतघरदेखि अनेक थोक हेरियो । त्यहाँ घुमाउनाका लागि आन्तरिक बसको व्यवस्था गरिएको रहेछ । सुटिङस्थल पनि विचित्रविचित्र ढङ्गले बनाइएको रहेछ । विश्वका विभिन्न सहरहरूका नमुना घर पनि हेर्न लायकका थिए । ती नमुनाघर अगिल्तिरबाट मात्र घर देखिने पछिल्तिर खाली रहेछन् । जहाज दुर्घटनाको दृश्य देखाउनाका लागि त्यहाँ दुर्घटित जहाज नै राखिएको रहेछ । त्यहाँ हिराहिरी बस्ने ससाना चिटिक्क परेका घर पनि रहेछन् । यी सब ठाउँका बारे वर्णन गरेर साध्य नै रहेनछ ।

यीमध्ये धेरजसो ठाउँहरू सर्सर्ती घुमेर हामी राती राम लामाको घरमा आयौँ । निकै शान्त र सुरक्षित ठाउँमा रहेको उनको घर पनि निकै भव्य रहेछ । घरका कोठा पनि निकै सजिसजाउ । बुद्धका अनेक मूर्तिहरूसमेत राखिएका । त्यस रात त्यहीँ सुतियो ।

२. प्रथम अनेसास च्याप्टर सम्मेलनका गतिविधि
मे २० प्रथम अनेसास च्याप्टर सम्मेलन कार्यक्रमको पहिलो दिन थियो । त्यस दिन बेलुका नेपालीद्वारा सञ्चालित तारा हिमालयन कुजिन रेस्टुरेन्टमा आपसी परिचय, अतिथिहरूलाई स्वागत तथा अनेसासका गतिविधिबारे सामान्य छलफल र रात्रिभोजको कार्यक्रम थियो ।

पत्रकार पुरुषोत्तम ढकालले द हिमालयन भ्वाइस नामक अङ्ग्रेजी पत्रिका प्रकाशन गरेका रहेछन् । त्यसको विमोचन पनि त्यसै दिन बेलुका राखिएको रहेछ । विमोचनको प्रमुख अतिथिका रूपमा मलाई निम्ता गरियो । त्यहाँ कतिपयका आन्तरिक मनमुटावका कारण मलाई त्यहाँ नजान भनियो । पदमजीलाई पनि भनिसकिएको रहेछ । मलाई त्यहाँका अवैतनिक वाणिज्यदूत ऋषि ढकालले पनि पत्रिका विमोचनका लागि विशेष आग्रह गरेका थिए । एकातिर आउनुपर्छ भन्ने र अर्कातिर जानु हुँदैन भन्नेहरूका बीचको चपेटामा म परेँ । त्यहाँका मानिसको आन्तरिक मनमुटावमा मलाई पर्नु थिएन । मैले जाने निधो गरेँ र पदमजीलाई समेत लिएर म त्यहाँ पुगेँ । हामीलाई पु¥याउने काम राम लामाले गरेका थिए । आउँदैन कि भन्ने मान्छे ठीक समयमा पुग्दा आयोजकहरू सारै खुसी भए । त्यस कार्यक्रममा स्थानीय विभिन्न गोरागोरी र सुरक्षाकर्मी पनि आमन्त्रित रहेछन् । मैले त्यस कार्यक्रमका लागि आधा घन्टाभन्दा बढी समय दिन नसक्ने बताइसकेको थिएँ । उनीहरूले पनि यसलाई स्वीकार गरिसकेका थिए । पत्रिकाको विमोचन गरियो । निकै राम्रो साजसज्जाका साथ पत्रिका निकालिएको रहेछ । दुवै कार्यक्रम एकै ठाउँमा राखिएको भए पनि फरक नपर्ने रहेछ तर नेपालीहरूको वैयक्तिक अहं र चुर्के बानीले गर्दा त्यसो गरेको बुझियो । पत्रिका विमोचन गरिसकेपछि मैले आफ्नो मन्तव्य राखेँ । मैले सम्बोधनका क्रममा ‘तपाईंहरू सबै मिलेर बस्नुस् मिल्न सक्नु हुन्न भने झगडाचाहिँ नगर्नुस्’ भन्दा सबैले करतल ध्वनिका साथ समर्थन जनाए । पत्रिका प्रकाशन गर्न प्रारम्भ गर्नभन्दा पनि यसलाई निरन्तरता दिनु महŒवपूर्ण कार्य भएकाले पत्रिकाको भरसक निरन्तरताको कामना गरियो । वास्तवमा एउटा नेपालीले अमेरिकाजस्तो मुलुकमा अङ्ग्रेजी भाषामा पत्रिका निकालेर चलाउन सहज थिएन । अहिले त्यो पत्रिका बन्द भइसक्यो रे । विना दीर्घयोजना थालिएका कामको परिणति यस्तै हुन्छ ।

विमोचन कार्यक्रममा आफ्नो मन्तव्य राखिसक्नेबित्तिकै हामी सोझै अनेसासद्वारा आयोजित रात्रिभोज कार्यक्रममा आयौँ । त्यहा स्थानीय सङ्घसंस्थाका प्रतिनिधिहरूको बाक्लै सहभागिता थियो । त्यहाँ केहीले हाम्रो प्रमुख अतिथि अर्काको कार्यक्रममा नजानुपर्ने भन्ने गुनासो गरे । मलाई तिनीहरूको गुनासोसँग खासै सरोकार थिएन । एउटा नेपालीले आयोजना गरेको कार्यक्रममा म जानुपथ्र्यो गएँ, बस कुरो यत्ति हो ।

त्यस दिन पनि राम लामाले मलाई उनकै घरमा लगे । राती मैले राम लामासँग ‘अहिलेसम्म अनेसासमा सबैभन्दा ठूलो पुरस्कार पन्ध्र सय डलरको छ । तपाईंले पाँच सय डलरको सर्वोत्कृष्ट च्याप्टर पुरस्कार स्थापना गर्नुभएकै छ । तपाईं अर्काे त्योभन्दा ठूलो दुई हजार डलरको पुरस्कार स्थापना गरिदिनुहोस् न’ भनी प्रस्ताव राखेँ । मैले राखेको प्रस्तावलाई उनले आनेकाने तर्कवितर्क केही नगरी सहज रूपमा तत्काल स्वीकार गरे । भोलिपल्टको कार्यक्रममा यसको घोषणा गर्ने तय भयो र दुई हजार डलरको अनेसास राम लामा विशिष्ट साहित्य पुरस्कारको घोषणा गरियो । अनेसासका लागि यो ठूलै उपलब्धि थियो । त्यसै कार्यक्रममा ऋषि ढकाल, पुरुषोत्तम ढकाल, प्रेम गुरागाईँलगायत विभिन्न व्यक्तिले पनि विभिन्न नामका पुरस्कार स्थापना गर्ने कुरा गरे तर त्यसको फलो अप हुन नसक्दा ती पुरस्कार स्थापना हुन सकेनन् र कुरामा मात्र सीमित भए ।

गजबको सहर लसएन्जेलसबाट आकाश पनि निकै तल देखिँदो रहेछ, किन हो थाहा भएन । अन्तभन्दा त्यहाँ बसोवास गर्ने नेपालीहरू बढी सम्पन्न रहेछन् तर चुर्के बानीचाहिँ प्रायः उस्तै… । धनकारी मात्र होइन, राम लामाजस्ता कतिपय त निकै मनकारी पनि देखिए । व्यापारी भएर पनि साहित्यमा केही गरौँ भन्ने उनको भावना प्रशंसनीय लाग्यो ।

अर्काे दिन २१ मे बिहानै राम लामाको घरबाट होटेलमा गइयो । निर्धारित समयमै हामी कार्यक्रमस्थलमा पुग्यौँ । आयोजकहरूले हाम्रो भव्य स्वागत गरे । अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्व तथा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भयो । मैले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेँ । मैले धेरै ठाउँमा कार्यक्रमको उद्घाटन गरेको भए पनि त्यो मेरा लागि अलि पृथक् प्रकारको थियो । ठ्याक्कै पेस्तोलजस्तो देखिने लाइटरबाट बत्ती बालेर उद्घाटन गरेको मेरा लागि पनि नयाँ अनुभव थियो । साहित्यकारहरूका तस्बिरमा माल्यार्पण र दुवै देशका राष्ट्रियगानका साथमा कार्यक्रम अगि बढाइयो ।

उद्घाटन कार्यक्रममा अनेसासका पूर्वअध्यक्ष मोहन सिटौला, साहित्यकार कृष्ण धारावासी, वाणिज्यदूत ऋषि ढकाल, आर्टेिसया सहरका प्लानिङ कमिस्नर भक्त थापा, एएनएका वरिष्ठ उपाध्यक्ष डा.शम्भु ढुङ्गाना, डा.जित जोशी, दिल श्रेष्ठ, मुकुन्द ढुङ्गाना आदिले शुभकामना मन्तव्य दिएका थिए । अनेसास बोर्डअफ ट्रस्टीका अध्यक्ष श्याम कार्की र एएनएका अध्यक्ष रजर अधिकारीको शुभकामना सन्देश वाचन गरिएको थियो ।

यस कार्यक्रममा विगत दुई वर्षमा उत्कृष्ट कार्य गरेबापत नेपाल च्याप्टरलाई राम लामाद्वारा स्थापित नगद पाँचसय अमेरिकी डलरको अनेसास राम लामा पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कार मैले नै नेपाल ल्याएर नेपाल च्याप्टरका अध्यक्षलाई हस्तान्तरण गरिदिएँ । प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने यस पुरस्कारको निरन्तरताका लागि सम्झौतापत्रमा संस्थापकको तर्फबाट राम लामा र अनेसासका तर्फबाट पदम विश्वकर्माद्वारा हस्ताक्षर भयो । प्रमुख अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलबाट बोर्ड अफ ट्रस्टीका सदस्यहरू राम लामा, शान्तिराम ढकाल, एकराज पाण्डेलगायतलाई सदस्यता प्रमाणपत्र प्रदान गरियो ।

सोही समारोहमा प्रमुख अतिथिबाट गुणराज लुइटेलको जलेको मन (कविता सङ्ग्रह), निशा अर्यालको अनगिन्ती चोटहरू (कथा सङ्ग्रह) र राष्ट्रनिर्माता र राजनीति (लेख सङ्ग्रह) विमोचन गरियो ।

सोही दिनको दोस्रो सत्रमा अनेसासका विभिन्न च्याप्टरका प्रतिनिधिले आआफ्नो च्याप्टरको गतिविधि प्रस्तुत गरेका थिए । यसमा न्युयोर्कबाट राजेन्द्र श्रेष्ठ, अस्ट्रेलियाबाट गणेश घिमिरे, डल्लासबाट विजय भट्टराई, कोलोराडोबाट कपिल सुवेदी, बोस्टनबाट लालगोपाल सुवेदी, फ्लोरिडाबाट मीना शाक्य, न्युह्याम्प्स्यारबाट कृष्ण गिरी, अस्टिनबाट मोहन सिटौला, पोर्चुगलबाट वाईबी गुरुङ, लसएन्जेलसबाट शान्तिराम ढकाल, लसभेगसबाट कृष्ण कुसुमलगायतको प्रस्तुति रहेको थियो ।

कार्यक्रमको तेस्रो सत्र मोहन सिटौलाको सभापतित्वमा विश्व काव्य गोष्ठी सम्पन्न भयो । यसमा विभिन्नतिरबाट आएका र स्थानीय गरी चालीस जनाजति कविहरूले आआफ्ना रचना वाचन गरे । यस दिनको कार्यक्रमको सञ्चालन केन्द्रीय महासचिव गोवर्धन पूजा र लसएन्जेलस च्याप्टरका महासचिव तिलक कार्कीले गरेका थिए ।

त्यसै दिन बेलुका बुद्धपशुपतिनाथ फाउन्डेसनद्वारा आयोजित विशेष कार्यक्रममा राम लामा, ऋषि ढकाललगायतबाट मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरियो । अनेकौँ बौद्ध भिक्षुहरूका माझमा प्रमुख अतिथिका रूपमा उपस्थित हुँदा मलाई पनि रमाइलो लाग्यो । मैले नेपालमा जन्मिएका बुद्ध संसारभर पुगेकामा खुसी व्यक्त गर्दै यसबाट नेपालको पहिचान थप अभिवृद्धि हुने कुरा बताएँ । विभिन्न बौद्ध भिक्षुहरूलाई प्रशंसापत्र, प्रमाणपत्र तथा दक्षिणा प्रदान गरी कार्यक्रमको समापन गरियो र त्यहीँ खाना खाई होटलमा गएर सुतियो ।

कार्यक्रमको तेस्रो तथा अन्तिम दिन पहिलो सत्रमा प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले “नेपाली साहित्यको विकासमा अनेसास च्याप्टरहरूको भूमिका”, मोहन सिटौलाले “च्याप्टरहरूका न्यूनतम कार्यक्रमहरू”, पदम विश्वकर्माले “च्याप्टरहरूको संस्थागत विकास, कार्यक्रम, च्याप्टर संचालनविधि” डा. जित जोशीले “च्याप्टरहरूको क्षमता अभिवृद्धि”, दीपक सिम्खडाले “च्याप्टरहरूको संस्थागत विकास, व्यवस्थापन” विषयक कार्यपत्र÷अवधारणपत्र प्रस्तुत गरेका थिए भने तिनमाथि सहभागीहरूले गहनतम छलफल गरेका थिए ।

समापन समारोहमा अनेसास लसएन्जेलस च्याप्टरका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रथम अनेसास च्याप्टर सम्मेलनका संयोजक शान्तिराम ढकालले सम्मेलन सफल पार्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिए । मैले प्रमुख अतिथिको मन्तव्य व्यक्त गरिसकेको थिएँ । कार्यक्रम समापनका अवसरमा बिओटी सदस्य थपिने लर्काे लाग्यो । पदमजीले समापन भाषण गर्दागर्दै केही व्यक्तिले मञ्चबाट तल मलाई बोलाए । म तिनीहरू भए ठाउँ पुग्दा कतिपय झोक्किए पनि । उनीहरूले हामी पनि बिओटी सदस्य बन्छौँ तर अहिले तपाईंले नै घोषणा गरिदिनुपर्छ भने । मैले पदमजीलाई केही क्षण सभा विसर्जन नगर्न भनेँ । साथमा नाम टिप्ने कागज पनि नभएकाले न्याप्किनमा नाम टिपेर ल्याई मैले घोषणा गरिदिएँ । वातावरण रोमाञ्चित बन्यो । सबै खुसी भए । लसएन्जेलसबाट बोर्ड अफ ट्रस्टीका सदस्य बन्नेहरू एकराज पाण्डे, राम लामा, शान्तिराम ढकाल, डनबहादुर कार्की, बलराम थापा, ऋषि ढकाल, कृष्ण कोइराला, गोकुल पौडेल, रामबाबु पाण्डे र वेदभक्त जोशी हुन् । यीमध्ये केहीले तत्कालै नगद नै दिए, केहीले चेक काटेर दिए भने केहीले पहिले नै दिएका थिए । केहीले अर्काे दिन दिने बताए । यो सबै रकम मैले पछि कोलोराडोमा पदमजीलाई हस्तान्तरण गरिदिएँ ।

बोर्ड अफ ट्रस्टीका सदस्य बन्ने–बनाउने कार्यक्रम सकिएपछि अनेसास प्रथम च्याप्टर सम्मेलनमा निम्नलिखित ६ बुदे घोषणापत्र जारी गरी समापन गरियो:
(१) च्याप्टर सम्मेलनलाई निरन्तरता दिने,
(२) समान उदेश्य भएका सस्था बीच समन्वय गर्ने,
(३) प्रकाशित कृतिहरूको अभिलेख राख्ने,
(४) सस्थालाई आर्थिक रूपमा सबल बनाउने,
(५) विधानलाई सरलीकरण गर्ने,
(६) केन्द्रीय वेवसाइटलाई च्याप्टरसँग जोड्ने ।

कार्यक्रमको अन्त्यमा त्यहा“को सक्रिय संस्था नेपाल अमेरिका एकता समाजले स्थानीय बालबालिकासमेत सहभागी गराई सुन्दर सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । तीन दिने सम्मेलनको समापनपश्चात् सबै होटलमा गएर सुतियो ।

क्रमस:……..