अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

नाउँ फेरिपाउँ

प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल २०७५ मंसिर ७ गते १२:५३ मा प्रकाशित

अहिले हरेकतिर नाउँ फेर्ने प्रचलन बढ्दोछ । मपको रात्रि बैठकको निर्णय वा संसद्को दिवा घोषणाबाट अनेकको नाउँ फेरिएको छ । प्रजातन्त्र शिशु अवस्थामै पखाला लागी सुइँकिएकाले सबभन्दा पहिले प्रजातन्त्रको नाउँ लोकतन्त्रमा फेरियो । अर्थ उही भएं नि कहाँको पुरानो प्रजातन्त्र, कहाँको नयाँ लोकतन्त्र प्रजातन्त्र प्रतिगामीहरूले प्रयोग गर्ने शब्द भएकाले त्यसलाई फेरी लोकतन्त्र बनाइएको भन्ने सुनियो । कुरा बेठीक पनि थिएन । अग्रगामीले पश्चगामीजस्तो हुन पनि त भएन नि ठूलो परिवर्तनपछि काम धेरै फेरिन्छन् भने अत्यावश्यक कतिपय नाउँ पनि फेरिन्छन् । नाउँ राख्ने कामलाई न्वारान भनिन्छ र त्यो काम पुरेतबाट हुनेगर्छ । अब नाउँ फेर्ने कामलाई फेरान भनौँ र त्यो काम सर्वपक्षीय विशेष निर्णयबाट गरौँ ।

ठाउँ उही, माउ उही, काम उही, दाम उही, हाम उही केवल हाम गर्ने दुईचार बच्चा फेर्नु अनि कको ठाउँमा खल्याउनु, कको सट्टा खको चाकडी गर्नु र कले गरिरहेको भोजनभट्ट खलाई हस्तान्तरण गर्नु नै लोकतन्त्रको नाउँ र परिभाषा हो भने प्रभु मलाई यस्तो लोकतन्त्रभन्दा ठोकतन्त्र नै भएपुग्छ । हिजोका प्रतिगामी भनिएकाहरू आज नाउँ फेर्नेबित्तिकै घोर लोकतन्त्रवादी हुने र मजस्ता दीनदुखी जनताचाहिँ जहाँको तहीँ रहिरहने भए त्यस्तो परिवर्तन मलाई चाहिएन । यस्ता कुरा गरेबापत बरु मलाई प्रतिगामीमा नाउँ दर्ता गरी फाँसी दिए ढुक्क हुन्छ । राष्ट्रिय अस्मिता नै संकटग्रस्त भएपछि शान्तिको माला जपेर ज्योतिष हेराउँदै शासन लम्ब्याउनुको के अर्थ ? हिजोकाले देवीका नाउँमा बलि चढाउँदै देश भ्रमण गरे, माला थापे र राष्ट्रिय ढुकुटी सुकुटी पारे । आजका देवको नाउँ पुकारी उही रीतले विदेश भ्रमणमा मस्त रहे भने के फरक भयो र हिजो र आजमा ? सायद यो त लोकतन्त्र होइन होला ? शिशु छउन्जेल लोकतन्त्र पनि यस्तै चकचके हुन्छ कि त ?

हामीकहाँ धारा एकसय सत्ताईस, माघ उन्नाईस आदि अब त मिथ बनिसके । अन्तरिम रूपमा तिनका पनि नाउँ फेरिए । अहिले कतिपय त सनककै भरमा पनि भटाभट नाउँ फेर्न थालियो । संसारभर प्रसिद्धि प्राप्त गरिसकेका संस्थाहरूका पनि नाउँ फेरिए, फेरिँदा छन् । हामीलाई कतिपय नाउँसँग एलर्जी भयो, फेरियो तर नाउँ मात्र फेरियो, काम फेरिएन भने त्यस्तो फेराइको के नै पो अर्थ रहला र ? यो त बोतल फेर्नेजति पनि भएन, बोतलबाहिरको लोगोमा भएका केही शब्द मात्र फेरेर आमूलचूल परिवर्तन गरेको ठान्न थालियो । भित्री संरचना उही र उस्तै कुहिएको दुर्गन्धित भए पनि बाहिरको बोर्ड फेरी ठूलै परिवर्तन गरेको झ्याली पिटेर मख्ख परियो । श्रीपेच र दण्ड फेरियो, छेडपेच र डन्डा भित्राइयो । केही लाउकेहरूलाई नाउँ फेर्ने जागिर दिइयो पनि । ठीकै छ अब पुरानाजतिलाई सुइँक्याइदिउँ नयाँ नयाँ विस्तार गरौँ हिजोका पुरानाजति सब नयाँ बनाउन लाग्दा बाउआमा, लोग्नेस्वास्नी, छोराछोरीसमेत अब नयाँ बनाउनु पर्ला । यसो गर्दै जाँदा एकदिन आफ्नो पालो पनि आउँछ नि ।

आफु त सानैदेखि पढ्नमा लद्दुलाल भएकाले जतिपटक जाँच दिए पनि पास हुन नसकेपछि बुर्जुवा शिक्षा बहिष्कारको नारा लाउँदै नाउँ फेरी अन्डरग्राउन्ड भइयो । गाउँबाट सहर पसियो । चिचिला कचिला सुम्सुम्याउँदै बसेकै घरकी बुढी कन्या उछिट्ट्याइयो । अलि पछि खुला भइयो । स्वच्छ छविमा नाउँ दर्ता गराइयो, मन्त्रीसन्त्री भइयो । कतैका र कतैकी केही बाँकी राखिएन । अनेक पटक नाउँ फेरियो । अब एकपटक फेरि फेर्नु पर्या छ । उहिले त धेरैथोक भ्याइयो भने अब त मजस्ता चुपिचन्डाललाई यस्ताउस्ता पड्काउन कति बेर लाग्छ र ?

अहिलेको नाउँ फेर्ने लहरमा प्रभु मेरो पनि नाउँ फेरिदिनु पर्‍यो । प्रतिगामी कालमा उन्नाईसअगि राखेको मेरो नाउँ तु. फेर्ने आका गरी घोषणा, अध्यादेश वा के ल्याउनु पर्छ ल्याइदिनु पर्यो । सर्वप्रथम मेरो नागरिकताको प्रमाणपत्र फेरिपाउँ । मेरो नागरिकतामा प्रतिगामीसँग जोडिएको नाउँ पशुपतिनाथ नेपाल छ । अब फेरेर बिहारीलाल नेपाल बनाइपाउँ । मेरी ठाहिँली श्रीमतीको नाउँ अहिले राजमती भारती छ । अब लोकमती नेपाली बनाइपाउँ । उताको नागरिकता यताको बनाइपाउँ । मैले नयाँ नागरिकता लिन यताउताका मिलाएर साक्षी तयार गरिसकेको छु । कतिले लिइसके अब म मात्र बाँकी छु । यसपछि त उता हुँदा उतैको, यता हुँदा यतैको, जताततैको । क्या मज्जा ।

यहां पढ्न नसकेर बुर्जुवा शिक्षा बहिष्कार भन्दै भित्रभित्रै लुकेर मित्रराष्ट्रतिर हान्निई ल्याएको एउटा सर्टिफिकेटमा भएको नाउँ पनि परिवर्तन गरिदिनु पर्यो । नयाँ नागरिकतासँग मिल्ने गरी मेरा भएका शैक्षिक प्रमाणपत्रको नाउँ र श्रेणी पनि फेरिपाउँ । नयाँ नागरिकता अनुसार बिहारीलाल नेपालका नाउँमा मेरो पुरानो सर्टिफिकेट नयाँ गरिपाउँ । पहिलेका प्रतिगामी कालमा दिइएको तृतीय श्रेणी अब प्रथम श्रेणीमा परिवर्तन गरिपाऊँ, प्रभु लोकनारायण नमः ।

दक्षिणायन इसाराबमोजिम मन्त्री बनी लोकतन्त्र जोगाउनाका लागि कम्मर कसेर रामनामी पीताम्बरका साथ अगि बढेको म अहिले नागरिक समाजको स्वघोषित अध्यक्ष बनिसकेको मान्छे । सर्टिफिकेटको त खास काम छैन, तैपनि मलाई पुरानास“ग घृणा भएकाले नै नयाँ नाउँ राखेर आफ्नो पहिचान बनाउने विचार गरेको हुँ । हाललाई मैले आफ्नो र श्रीमतीको पछिल्लो थरचाहिँ कायम राख्ने निधो गरेको छु । मेरो थर देशसँग अनि श्रीमतीको चाहिँ देशवासीसँग मिल्ने खालको भएकाले त्यो सुन्दा धेरै ठाउँ मान्छेहरू हाँस्ने गरेको पीडा छुट्टै छ । तैपनि योचाहिँ अहिलेलाई नफेरी कायमै राख्ने विचार छ । कुनै दिन सांसद् वा मन्त्री भएपछि सनक चढ्यो भने त्यो पनि फेर्न बेर लाउँदिन । त्यतिबेलासम्म नफुटे हामी आठै भाइ मिलेर निर्णय गरौँला । त्यो कामचाहिँ पछिको पहिलो बैठकसम्मका लागि थाती राखौँ ।

हुन त यो फेर्ने चलन सारै नयाँ होइन । कुरा फेर्ने त हाम्रो जन्मजात संस्कार नै हो । मन्त्री भएसि थर फेर्ने प्रचलन पनि पुरानै हो । उहिल्यैका थर गोत्र पत्ता नलागेर सिंह भनिएका मरिचहरू मन्त्री हुनेबित्तिकै श्रेष्ठ बनेकै हुन् । देउपाहरू पनि देउवामा रूपान्तरण भएकै हुन् । लाउतीले पनि साउती मारेकै हुन् । त्यति मात्र होइन गैरेहरू डाँडे र पातकीहरूजति प्रधान पनि त भएकै हुन् नि । मातृ देवहरूले पनि प्रसाद जोड्न थालिसके । यसैले थरै फेर्न पनि मन्त्री हुनुपर्ने स्थिति छ । मन्त्रीले थर फेरेपछि लाउकेहरू स्वतः फेरिइहाल्छन् ।

अब सुनामीको प्रचण्ड बादल बर्साई अग्निदहनका साथ दीन देवहरूको चैतन्यका लागि कृष्णहरू मिलेर रामराज्य ल्याउँ । पुरानाजति सबैको नाउँ फेरौँ, नयाँ नाउँबाट चिनियौँ । प्रतिगामीसँग मिल्ने जति नाउँ सब फेरौँ । वर्णमालाबाट त्यस्ता वर्ण नै झिकौँ, र्याकौँ र नवनव सिर्जना गरौँ । भित्र हस्ताक्षर गरेर बाहिर आई निर्णयको मसी नै सुक्न नपाउंदै विरोध गर्ने भएसि अब ‘निर्णय’ शब्द नै फेरिदिउँ । साँच्चिकै राम्रो गर्ने भए चाकडीबाट जे पनि हुने भएकाले अब त्यो शब्द मात्र होइन नेपाली वर्णमालाबाट ‘च’ नै झिकिदिउँ । सकेसम्म हाम्रो थरचाहिँ जस्तै सनक चढे पनि र देशीविदेशी जोसुकैले भने पनि भरसक नफेरौँ । बाँकी नाउँ जति सबका सब फेरौँ ।

पुरानो संसदको नाउँ व्यवस्थापिका संसद् अनि सांसद्को नाउँ विधायक बनाएर ठूलै परिवर्तन गरिसकिएकै छ । अब भ्रष्टाचारको नाउँ दानदातव्य राखौँ, मन्त्रीको नाउँ हन्त्री राखौँ, मन्त्रालयको नाउँ घिचुवालय, विद्यालयको नाउँ सिध्यालय, विश्वविद्यालयको नाउँ भागबन्डालय, शौचालयको नाउँ ढुकुवालय- कुरुवालय, मुत्रालयको नाउँ झुत्रालय, एकेडेमीको नाउँ लाउके भर्तीकेन्द्र, राजदूतको नाउँ राँकेभूत, जिएमको नाउँ एमजी, सिडिओको नाउँ भिडियो बनाए हुन्छ । यस्तै पुलिसको नाउँ फुलिस… । सुरुमै संशोधनको सर्त राखेर पारित गर्ने र लागू हुन नपाउँदै वैयक्तिक सनकका आधारमा पलपलमा फेरबदल गरिरहने अन्तरिम संविधानलाई खन्तरिम साउनेधान राखिदिए हुन्छ । अहिलेका कालु पाँडे जति सेतु आँडे बनाइदिए हुन्छ । यस्तैयस्तै कसकसको केके फेर्ने भन्नेबारे सबै आठै ग्रह मिलेर एकरात बालुवाघाटमा छलफल गरौँला ।

हामीलाई ‘राज’ जोडिएका शब्दसँग सारै घृणा भएकाले त्यस्ता शब्द खोजीखोजी फेरौँ । नत्र हिजो तिनै संस्थाबाट ग्रहण गरेको भोजनभट्ट सम्बन्धी भेद खुल्न सक्छ यसैले यी काम रातारात गरौँ । राजधानीलाई लोकधानी, राजमार्गलाई लोकमार्ग, राजपथलाई लोकपथ, राजपत्रलाई लोकपत्र, राजदूतलाई लोकदूत, राजस्वलाई लोकस्व, राजालाई लोका, राज्यलाई लोक्य आदि तुरुन्तै गरौँ । यस्ता पुराना शब्द कोशमा पनि नराखौँ । मेरा ससुरा राजमानलाई लोकमान, मामाससुरा राजेन्द्रलाई लोकेन्द्र, काका हरिराजलाई हरिलोक अनि पुत्नेछोरो राजबहादुरलाई लोकबहादुर बनाइहालौँ । यिनका नागरिकता र सर्टिफिकेट पनि फेरिदिऊँ । राजकीय शब्दलाई लोककीय बनाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई नेपाल लोककीय प्रज्ञा प्रतिष्ठान बनाऔँ । यस्ता शुभकार्यमा पटक्कै ढिलो नगरौँ, तुरुन्ता तुरुन्ती गरिहालौँ ।

आजको नारीवादी युगमा पुरुषहरूलाई सारै गाली गरिसकियो । अब त्यहाँ पनि फेरौँ । नारीलाई आजैदेखि पुरुष र पुरुषलाई नारी भन्न थालौ“ । त्यसो भए गालीसाली पनि कम, कामकाज शून्य । प्रतिशतको कुरा पनि बन्द …। राजा र्याँकौँ, रानी ल्याऔँ । राजालाई रानी बनाई नारीको सम्मान गरौँ । काम थालनीको तरखर भइसकेको छ । कानुन बनाइहालौँ । ढिलो नगरौँ ।

हरेकको नाउँ फेर्नका लागि एउटा शब्दकोश बनाउन थालौँ । छिटो गरौँ । त्यो काम पनि पुरानो एकेडेमीको ढुकुवा लिंडेपतिलाई वा लाउके भर्ती केन्द्रका नयाँ हवल्दारलाई जिम्मा दिऔँ । त्यसो गरेसि दुईचार लाउकेले जागिर पाउँछन् । त्यसमा विशेषज्ञताको कसी सदस्यता बनाऊँ । कसैको सदस्यता लिएका जति विशेषज्ञ नलिएका जति अल्पज्ञ… बस ।

उहिल्यै जङे सानाले पाँचलाई थर्काएर तीन जोडे । अहिलेका ज्ञानी ठान्ने बुद्धु्रहरूले वीर भनिने का“तरहरूको जरोबुटै उखेलेर ठूलै सिकार गरी पुरानो पाँचमा संशोधन गरे । सत्तामा पुगेपछि जोड्ने र फेर्ने क्रम पुरानै भए पनि अहिले फेर्ने काम अलि बढ्तै हुन थालेको छ । विश्वप्रसिद्ध पुराना नाउँहरू पनि प्रतिगामी भन्दै फेरिए । अहिले नेपालको नाउँ पनि ‘नयाँ नेपाल’ भएको छ । नया नेपाल भनेको तेईसे, चौबीसे, एकाउन्ने, बाउन्ने बनाउन खोजेको त होइन होला । यस नयाँको अभिप्राय अब भोजनभट्टको पालो पुरानाको होइन, नयाँको हो भन्ने मात्र भए त केही भन्नु छैन । नामले नभएर कामैले साँच्चै नयाँ भए त कुरा ठिकै छ ।

सडकका कुकुर बिरालाहरू सिंहदरबार छिर्नेबित्तिकै आपसमा मित लगाएर भोजनभट्टमा जुटने चलन पनि उति नयाँ होइन । अब सिंहदरबारको नाउँ पनि पुरानिएकाले नयाँ नाउँ स्यालगुफा राख्नु उपयुक्त हुन्छ । एक पुस्ता त के सात पुस्तासम्म मुद्दा टाँगिदिने र जनतालाई अनावश्यक दुख दिने कामको प्रकृति हेर्दा न्यायालयलाई खायालय र सर्वाेच्चको नाउँ सर्वनीच राख्नु बेस हुन्छ । उच्च पदासीनहरू जनताका माग एक हप्तामा पूरा हुने वचन दिन्छन् तर वर्षौं बितिसक्दा पनि पूरा हुँदैन । अब कति दिनको एक हप्ता हुन्छ भन्न पनि गारो भइसकेकाले हप्ता शब्दै पनि फेरिदिनु पर्यो ।

फेरानसम्बन्धी यी दुईचार प्रस्ताव मात्र हुन् । धेरैतिर धेरै थोक फेर्नु छ । यसका लागि म बिछट्टै सिपालु छु । भएको संरचना विनिर्माण गर्न र नाम फेर्न मलाई नाउ“ फेरान आयोगको अदक्ष बनाएर केही समय मेरो बेरोजगारी हल गरिदिए मेरो मात्र होइन तपाईंहरूको पनि कल्याणै हुनेछ ।

यी सब गन्थनको चुरोचाहिँ के भने अरूको जे गरे पनि मेरो प्रतिगामी नाउँ चाहिँ आजैदेखि फेरिपाउँ भन्ने हो । यत्रा थोक सब फेरिएपछि प्रतिगामी कालमा राखिएको मेरै मात्र नाउँ नफेरेर किन कायम राख्नु ? अतः तत्कालका लागिचाहिँ मेरो प्रचलित नाउँ फेरेर मेरो मनोकाङ्क्षा पूरा गरिपाउँ प्रभु । म बहत्तर घन्टासम्म नित्य तिम्रो नाउँ जपिरहन्छु । समय बढाउनु परे आठै ग्रहको आपसी सहमतिमा पछि पुनर्विचार गरौँला ।