अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

एनआरएनए अमेरिका: कोलोराडो च्याप्टरको अध्यक्षमा कुमार जङ्ग कार्कीको उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७५ फागुन ९ गते २३:११ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका, कोलोराडो च्याप्टरको आसन्न निर्वाचनको लागि वर्तमान उपाध्यक्ष कुमार जङ्ग कार्कीले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । विगत १२/१३ बर्षदेखि कोलोराडोका विभिन्न सामाजिक, साहित्यिक र खेलकुद संस्थाहरुमा सक्रियरुपमा सहभागी कार्कीले एनआरएन कोलोराडो च्याप्टरमा दुई कार्यकाल काम गरिसक्नुभएको छ ।

हाल च्याप्टरको उपाध्यक्ष तथा एनआरएन हेल्प डेस्क कोलोराडो च्याप्टरको संस्थापक संयोजक रहनुभएका उहाँले अध्यक्षमा उम्मेद्वारी दिनुभएको हो ।  उम्मेद्वारी घोषणा पछि अध्यक्षका प्रत्यासी कार्कीले बिआरटी नेपालसँगको कुराकानीमा, कोलोराडोमा प्रस्तावित नेपाली कम्यूनिटी सेण्टरको प्रोजेक्टको लागि सक्रिय रूपमा लागि परेको र सबैको अपनत्व बोध हुने गरी एनआरएनको मूल प्रवाहमा ल्याउनको निमित्त प्रयासरत रहेको बताउनुभयो । एनआरएनलाई राम्रो एनआरएन बनाउन बिधि र प्रक्रियामा सुधारका साथ अझ पारदर्शिता अपनाउनु पर्ने उल्लेख गर्दै कार्कीले एनआरएनको अभियानमा लाग्दा ’हामी भूतपूर्व नेपाली होइनौ, एक पटकको नेपाली सधैँको नेपाली हौ’ भन्ने कुरालाई व्यावहारिक अनि कानुनी तवरले स्थापित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । भावी पुस्ताको नेपालसँगको सम्बन्धलाई अटुट र ताजा  बनाई राख्न एनआरएनले अहम भूमिका खेल्नु पर्छ भन्ने मान्यतामा आफु रहेको कार्कीले बताउनुभयो ।

कर्मभूमि अमेरिकामा अल्पसंख्यकमा रहेका नेपाली अमेरिकनहरूको हक र हितको सुरक्षार्थ एनआरएनले एक्यवद्धता जाहेर गरेर अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै कार्कीले एनआरएन जस्तो गरिमामय ग्लोबल संस्थाले स्थानीय संस्थाहरूसँग प्रतिस्पर्धी नभई सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो । संस्थाको च्याप्टरको अध्यक्षको उम्मेदवारीको घोषणा सेवा गर्ने प्रतिबद्वताका साथ भएकोले सबैसँग उहाँले सहयोगको आग्रह गर्नुभएको छ ।

नेपालको ओखलढुङ्गामा जन्मनुभएका कार्की सन् २००४ देखी डेनभर कोलोराडोमा रहनुभएको छ । नेपालमा रहँदा देखि नै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यमा संलग्न कार्कीले त्रिभुवन विश्वबिद्यालयबाट मानविकी सङ्कायमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

च्याप्टरको नयाँ कार्यकालको लागि कोलोराडो राज्यमा उम्मेदवारीको घोषणा सुरु भएसंगै कोलोराडो च्याप्टरका सचिव आर सी पन्त र बोर्ड अफ डाइरेक्टर नवराज न्यौपानेले बिआरटी नेपाल मार्फत यसअघिनै च्याप्टर अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू