अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

धरानमा वरिष्ठ गायक दीप श्रेष्ठलाई अभिनन्दन

बिआरटीनेपाल २०७५ फागुन ५ गते ११:३७ मा प्रकाशित

धरान, वरिष्ठ गायक दीप श्रेष्ठलाई धरानमा अभिनन्दन गरिएको छ । सङ्गीत क्षेत्रमा लागेको ५० औँ वार्षिक उत्सवका अवसरमा उनलाई अभिनन्दन गरिएको हो । 

शनिवार राती विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित दशहरा हलमा आयोजित कार्यक्रममा प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले अभिनन्दनपत्र, नेपाली ढाका टोपी र दोसल्ला पहि¥याएर अभिनन्दन गरे । प्रदेशका सभामुख प्रदीप भन्डारी, धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भन्डारी सुवेदी लगायतले पनि गायक श्रेष्ठलाई फुल, माला र खादा लगाएर अभिनन्दन गरे । अभिनन्दनपछि बोल्दै मुख्यमन्त्री राईले अहिलेसम्म राज्यले दीप श्रेष्ठ जस्ता कलाकारको पहिचान र कदर गर्न नसकेको बताउँदै भने, ‘दीप श्रेष्ठले धरान र प्रदेशको मात्र नभई देशकै इज्जत राख्नु भएको छ । बल्ल अब देशले एउटा सकारात्मक बाटो लिएको छ र समृद्धिको बाटोमा बल्ल पुगेको छ र हिमाल ,पहाड र तराइको सहिष्णुता जोड्ने दीप श्रेष्ठ जस्ता व्यक्तित्वहरूको सम्मान आवश्यक छ भन्नुहुँदै आगामी फागुन अन्तिममा यो प्रदेश न . १ को धरानमा आयोजना हुने ऐतिहासिक हुने चलचित्र महोत्सवमा प्रदेश सरकारले पनि सम्मान गर्ने छ ।’ 

नेपाल क्लब हङकङको आयोजना, सिल्भर इन्टरटेन्मेन्टको व्यवस्थापन, धरान उपमहानगरपालिकाको विशेष सहयोग र टुवोर्गको प्रायोजनमा भएको अभिनन्दन कार्यक्रममा धरानका सङ्गीत, व्यवसाय, राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तित्वहरुकामाझ अभिनन्दित गायक श्रेष्ठले ‘म पत्थरको देउता होइन’,‘भन्थिन् मेरी उनी’,‘हुँ यात्री म एउटा’,‘कति कमजोर रहेछ भाग्य’,‘जति हाँसौँ भन्छु’,‘मुटुको ढोका’, मेरो आँखामा’, ‘हर रात सपनीमा’, ‘मेरो सपनाको सहारा’, ‘साईली बरी चिया बारीमा’, ‘म त दूरदेखि आएँ’ र ‘बितेका कुराले’ गीत गाए । गायक श्रेष्ठलाई उनकै श्रीमती गायिका सोफिया गुरुङ श्रेष्ठ र गायिका तायाहाङ्मा राईले गायनमा साथ दिए । आफू जन्मे, हुर्केको ठाउँमा अभिनन्दित हुँदा गायक श्रेष्ठले खुसी व्यक्त गर्दै भने,‘आफ्नै घरआँगनमा सम्मानित हुन पाउँदा सबैभन्दा धेरै खुसी लाग्दो रहेछ ।’ 

२०२५ साल पुस १ गते धरानबाट नाटक लिएर गएको टोलीमा रहेका दीपले तत्कालीन राजा महेन्द्रका अगाडि ‘म पत्थरको देउता होइन’गीत गाएपछि त्यसको भोलिपल्टै रेडियो नेपालमा उनका दुई गीत रेकर्ड भएका थिए । त्यसपछि उनी निरन्तर सङ्गीत क्षेत्रका सक्रिय छन् । संगीतयात्राको ५० वर्ष पुगेको अवसरमा गत महिना उनले हङकङमा प्रस्तुति दिएका थिए । 

सोही कार्यक्रममा आयोजकको तर्फबाट कार्यक्रमका सभापति तथा हङकङ नेपाली महासङ्घका पूर्वअध्यक्ष प्रदीप थापाले धरानमा निर्माण भएको आसरा सुधार केन्द्रका लागि १ लाख रुपैयाँ प्रदान गरेका थिए । 

गायक श्रेष्ठको अभिनन्दको अवसरमा शनिवार बिहान धरानमा अभिनन्दन पदयात्रा पनि गरिएको थियो । धरान सङ्गीत प्रतिष्ठान र सेवक अभियानले संयोजन गरेको अभिनन्दन पदयात्रामा गायक श्रेष्ठका दम्पत्तीलाई खादा, मालाले सम्मान गरी नगर परिक्रमा गराइएको थियो । प्रदेश सांसद सावित्री श्रेष्ठसहित धरानका सङ्गीतकर्मी, पदयात्रीहरूसहितको टोलीले गायक श्रेष्ठका गीतहरू घन्काउँदै धरानको पुतलीलाईन, भानु चोक, महेन्द्र पथ, छाताचोकहुँदै सिंहदेवी चोकसम्म परिक्रमा गराइएको थियो । 

प्रतिक्रिया