अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

कन्यार्थु – रण काफ्ले, असम (भारत)

रण काफ्ले २०७५ माघ २ गते २२:२० मा प्रकाशित

(लघुकथा)

दु:ख पाउँदा फलानाले र सु:ख पाउँदा भाग्यले नै भन्ने गर्छन् र पनि यो घरजोड़े काम चैँ गर्नै पर्ने हुन्छ। मोई माग्न जाँदा ढुङ्ग्रो लुकाएर पनि हुँदैन। अर्काकी छोरी आफ्नो घर ल्याएर रत्याउनु छ। साइनो केलाएर कन्यार्थु जाँदा धेरै चप्पल चुँडाई सकिएको हुन्छ।

आज नयाँ घरे घरजोड़े काइँलाले बिर्जुको लागि केटी हेरेको पनि धेरै साल भयो फेला परेको छैन। मङ्सिरको जाडोमा परेवाको झोल खान पाउनु राम्रै हो। तर एउटी केटी बिर्जुका लागि फेला नपार्नु सारै खेल ठट्टा पो भयो । भन्छन् लगन न आएर नै यस्तो भएको भनेर बुढा पाका हरू । कोही ठाउँ सबै ठिक ठाक भए पछि पनि भत्किन्छ। घरमा बनाएका गहना पुराना भए । जन्ते खसी बुढो भयो । परिवारको रहर खल्लो भयो। बिर्जु लाई पनि झर्को नै लागिसकेको थियो।

एक दिन वर्षा मास । अषाढ़मा पनि धेरै लगन भएको पात्रोमा पुरेतबाट बुझेर कन्यार्थु बाटो लागे । घरजोड़े काइँलाले बिर्जुको निराश मनलाई धेरै हरियाली पार्दै हिँडे । वसन्तले नौलो पालुवा फेरे झै यसपालि निकै आशा बोकेर भरपर्दो घरको सूचनाले उपयुक्त वर लिएर ब्रह्म पुत्र पारि पुगेका थाए । समय त्यस्तै बेलुकीपखको थियो । सिमसिमे झरी परि नै रहेको थियो । कच्ची सडकका खोपिल्टामा परेको पानी भरिएर बाटो चिप्लो भएको थियो । अचानक बिर्जुको जुत्ता लाएको पाव चिप्लिएर हिलोमा लटपट्टिएछ । दुवै एउटा हुने खाने घरको तगारोमा पुगेका थिए । रात बास बसेर बिहानी पख कन्या हेरेर जुरे छिनोफानो गरी फर्कने कन्यार्थु त घरको बराण्डोनै नटेकी साँझमा फर्केछन् छिमेकीको घर । बिहान फर्कने बेलामा कन्याका बुबाले छिमेकमा पुगेर माफी माग्दै भने छन् “हजुर मेरो भुल भयो” । “एक चोटि कन्या नहेरे पनि घरको बराण्डो टेकेर जाई दिनु होस म धन्य हुने छु”। कन्याका बुबाको कुरामा साथ दिदी घरजोड़ेले बारम्बार बिन्ती गर्दा पनि बिर्जु मानेनन् । किनकि त्यो साँझ बिर्जुले आफूले नगरेको अपवादलाई सहनु परेको थियो । अनुहारै नहेरी भित्रैबाट साँझका पाहुनालाई कन्याका बुबाले चिच्च्याएर भनेका थिए “जाड़ँखाएर आएको होलान् बाटैबाट फिर्काई दे”। कन्याकी आमाले भन्दै थिइन “नराम्रो नपाउनु होला राति खाएर माते पछि यो मान्छे यस्तै हो”। कन्या चैँ दुवैलाई हातको टर्सको ज्योतिले स्वागत गरिनै रहेकी थिइन त्यो रात ।

प्रतिक्रिया