अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

बलिउड आइटम गर्ल सन्नी लियोन नेपाली फिल्ममा

बिआरटीनेपाल २०७५ मंसिर १९ गते ११:५७ मा प्रकाशित

बलिउड आइडल गर्ल सन्नी लियोनले पछिल्लो पटक एक नेपाली फिल्ममा समेत आफ्नो नृत्य प्रस्तुत गरिन् । सम्पूर्ण छायाङ्कन लन्डनमा गरिएको फिल्म ‘पासवर्ड’को आइटम गीतमा सन्नीले कम्मर मर्काइन् । उक्त गीतको छायाङ्कनमा मात्रै निर्माण टिमले पाँच करोड नेपाली रुपैयाँ खर्च्यो ।

फिल्ममा समावेश हुने ‘सन्नी हो नाम मेरो…’ बोलको गीतमा उनले आइटम डान्स पस्कँदा उनलाई बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन गरे । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खान देखि शाहरुख खान, अक्षय कुमार जस्ता बलिउड स्टारका फिल्महरूमा नृत्य निर्देशन गरिसकेका छन्, कहलिएका स्टारलाई नचाएका छन् ।

अर्जुन पोखरेलले सङ्गीत भरेको उक्त गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिम लिएर लन्डन पुगेकी थिइन् । नेपाली फिल्ममा हालसम्मकै सर्वाधिक बजेटमा निर्माण गरिएको उक्त गीतमा सन्नीलाई २ सय बढी डान्सरले साथ दिएका छन् । भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्नीसँगै फिचर छन् । भिडियो छायाङ्कनका केही अचल दृश्यहरू निर्माण टिमले सार्वजनिक गरेको छ ।

सन्नीले दुई करोड भारतीय रुपियाँमा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन् । साढे चार मिनेटको गीतमा कोरियोग्राफी गर्न सात जनाको टिम सहित विष्णुदेभा सन्नीसँगै लन्डन पुगेका थिए । फिल्म टिमले लुक्स आउट नगर्ने भन्दै फिल्ममा समावेश अन्य नेपाली कलाकारहरूको तस्बिरहरू भने ‘रिभिल’ गरेको छैन ।

फिल्मका निर्देशक सम्राट् बस्नेतले ‘पासवर्ड’को कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्नीलाई नृत्य गर्न भारतबाट लन्डन झिकाएको बताए । २ दर्जनबढि फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राट्को लागी यो फिल्म ठूलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हुनेछ ।

ए बी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । यो फिल्मलाई विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाङ्कन छ भने विक्रम जोशी (विक्की), अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रवीण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।

प्रतिक्रिया