अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 20:58

बाल गुरुजी र अध्यात्मको यात्रा

विनोद रोका २०७५ मंसिर २ गते ९:१३ मा प्रकाशित

मैले बाल गुरुजीलाई भेटेको छैन । मेनुकाले भरखरै भेटिन उहाँको निवाशस्थानभच गएर गुरुजीसँग फोटो पनि खिचाइन। अनि मलाई १५ पटक फोन गरिछन् मेसेन्जरबाट गुरुजीको दर्शन गराउनका लागि। तर म ध्यानमा रहेको हुँदा उठाउन सकिन। ध्यानबाट निस्किएपछि मैले कलव्याक गरे। र भिडियोबाट उहाँको दर्शन पाए अनि आफ्ना भावहरू व्यक्त गरे । उहाँले आशीर्वाद दिनु भो । मेरा हर्षका आशु बगे । मैले आफूमा उहाँको औराले स्पर्श गरेको अनुभव गरे ।

चिन्नेहरू सोध्नुहुन्छ तपाईँ ऊहालाई भेटेर मन्त्र वा आशीर्वाद लिन कहिले जानुहुन्छ भनेर । मेरो चिनारी ऊहालाई नभएकै अवस्थामा कलियुगको आदित्य ज्योति पथ किताब राजुजीबाट मैले न्युर्योकमा पाएको छु । त्यो किताबमा उहाँले आफ्नो हस्ताक्षरमा “विनोदजी प्रेम भाव सहित अर्पित” भनी सही गर्नु भएको छ। मैले यसलाई आश्चर्य पनि मानिन। किनकि आध्याममा विश्वास गर्ने व्यक्तिहरूले यस्ता घटनालाई सामान्य रूपबाट ग्रहण गर्छन् । ब्रम्हज्ञानी गुरुहरूमा यो विशेषता हुन्छ नै । त्यसमा पनि बाल गुरु जसले ५ वर्षको उमेरदेखि ९ वर्षको उमेरका बिचमा दिएका महर्षिका जस्ता ज्ञानामृत र बुद्धत्वको गहिराई मा पुगेका ज्ञानीलेझै दिने ध्यानका गहिराईकन अनुभूति हेर्दा लाग्छ उहाँको चेतनाले स्पर्श नगरेको के र को होला ।

मेरो हालसम्मको बुझाइले के निष्कर्ष दिन्छ भने म शरीर, मन, र बुद्धि होइन । अनि के हुत ? भन्ने जिज्ञासा ऊठनु स्वाभाविकै हो । अहिलेसम्म पढेका अनि सुनेका पूर्वीय दर्शनका शास्त्र र गुरुहरूको भनाई वा अनुभवले दिने परिभाषामा कसैले जीवको स्वरूप शून्य हो भन्छन् कसैले चैत्यन्य हो भन्छन् । जो न कहिले जन्मन्छ नत मर्दछ । जन्मने मर्ने त शरीर हो । जुन अतृप्त संस्कारको कारण वा प्रारब्धले गर्दा हुने गर्दछ । अनि यो चैतन्य वा शून्यको अनुभव आफैले आफैमा गर्न सकिन्छ । चैत्यन्य वा शून्यको अनुभव गर्ने गुरुहरूले आफू भित्र गरेको अनुभव वा सत्य मेरो लागि सत्य भएर पनि सत्य होइन। जबसम्म मैले त्यो आफूमा अनुभव गर्न सक्दिन। यो आफैमा घटित हुने प्रकृयाको साक्षी आफै नभै कन कसरी विश्वास गर्नु र ?

यो आध्यामीक बाटोमा हिडने क्रममा मेरा धरै गुरुहरू हुनु भएको छ । मेरो मस्तिष्कमा जसको भनाइले छाप छोड्यो ऊहा पनि मेरो गुरु हो । म सबैलाई विश्वास गर्छु । धोखा दिने वा ठग्नेले पनि केही शिक्षा नै दिएका छन् । यद्यपि यसबाट केही आर्थिक नोक्सानी र मानसिक तनाव भयो होला । तर जीवन गएको छैन । यसै क्रममा एक जना गुरुजीले मलाई एक दिन भन्नु भयो तपाईँ त जुन गुरु आए पनि विश्वास गरेर सहयोग गर्नु हुन्छ । गुरुहरू कस्ता हुन उनीहरूको बारेमा बुझ्नु पर्छ । ऊहालाई मैले भने गुरु कसैले कसैलाई राम्रो भन्दैनन् अनि को संंग कसका बारेमा बुझ्नु र । मैले ऊहालाई भने मेरो यही बानी हो गुरुजी जसले गर्दा तपाईँलाई पनि विश्वास गर्छु यद्यपि कतिजनाले तपाईँलाई पनि विश्वास नगर्नु भन्छन् ।

मेरो के विश्वास छ भने गुरुहरूबाट गरिने र हामीद्धारा देखिने चमत्कारका कुराहरू भनेका केटाकेटीलाई पढाउने वा सही बाटो देखाउने क्रममा दिइने मिठाई हुन। त्यस्तै गुरुले गर्ने वा गुरुद्धारा गरिएका चमल्कारी कार्य भनेको धर्मको बाटोमा हिडन प्रेरणा दिने प्रलोभन वा विश्वास हो । गीतामा कर्म गर फलको आस नराख भनिएको नियममा म विश्वास गर्छृ। मैले बुझेको धर्म भनेको पनि धारणा गर्ने कुरा हो । जसरी नहिँडी पुगिँदैन त्यसरी नै धर्मका नियमलाई आचरणमा ल्याई हृदयलाई प्रेममयी नबनाए सम्म गुरुले पनि मद्दत गर्न कठिन हुन्छ भन्ने ठान्दछु। अनि साधकले धर्मको आचरण ईमान्दारीका साथ गर्दै जाने हो भने गुरुले आफै आएर वा संयोग मिलाएर मार्गदर्शन गर्नुहुन्छ । मेरो अनुभव त्यस्तै छ । रजनिशले भनेझै गुरु भनेको एउटा क्याटलिटिक एजेन्ट हो जसले शिष्यमा रहेको दियो जलाउने कला सिकाई दिन्छ । तर तेल हाली दिँदैन। भएको तेल देखाई दिन्छ । बाटो देखाई दिन्छ । काँधमा बोकेर हिडदैन । जस्तोकी कालो बादलमा रहेको पानी बर्सनलाई बिजुलीको चमक नभई बर्षदैन ।

त्यसैले बालगुरुलाई सशरिर भेटेर दीक्षा नलिई छोड्दिन भन्ने हतारमा पनि छैन। उहाँले किताबमा पनि भन्नु भएको छ “तिमी मसँग स्वर्गमा उडन चाहन्छौ भने आफ्नो हृदयलाई सफा गरी त्यसमा धड्कनका सकारात्मक लय भर…” जुन म गरी रहेकै छु विश्वासका साथ । यदि मलाई यो कामको सिलसिलामा मार्ग निर्देशन वा सहयोगको जरुरत पर्‍यो भने गुरुले आफै संयोग मिलाउनु होला । वा आफ्नो औराबाट मलाई ध्यानको समयमा सम्प्रेषण गर्नु होला । म पौराणिक हिलिंकको विद्यार्थी पनि भएकोले मलाई यो विज्ञानमा विश्वास छ । किनकि औरा मार्फत टाढा टाढाका व्यक्तिहरूमा सकारात्मक वा नकारात्मक भावहरू सम्प्रेषण गर्न सकिन्छ । हेईन भने मैले आफ्नो हृदय नै सफा नगरिकन ऊहासंग कसरी उड्ने ? म के माग्न जाने ? के सोध्न जाने ? पाठै नपढी गएको विद्यार्थीलाई गुरुजीले के सिकाउने अनि के दिने ? बालगुरुजी अहिलेसम्म केवल २७ जनालाई मात्र दीक्षा दिनु भएको र दीक्षा पाउनका लागि नाम लेखाउनेहरूको लामो लिस्ट छ । एहाद्धारा लिखित पुस्तक पढ्दा दीक्षा दिइएका शिष्यहरूलाई पनि १ प्रतिशत पनि दीक्षाको पालना गर्न नसकेको गुनासो गर्नुहुन्छ रे। अब म यो लाइनमा सङ्ख्या बढाउन मात्रै हतार गरेर किन जानु हृदय सफा नगरिकन ।

यो हृदय सफा गर्ने बाटोमा म बिस्तारै हिँड्दै छु। मेरो मान्यता के छ भने ढिलो हिँडे पुगिन्छ कुदेमा भन्न सकिन्छ । यो बाटोको लम्बाइ कति छ र गन्तव्यमा कहिले पुगिन्छ सायद कसैले भन्न सक्दैन । त्यसैले ईमान्दीका साथ धर्मले बताएको नियममा हिडने कार्य साधकको हो। मलाई लाग्छ यो यात्राको गन्तव्यमा त्यही दिन पुगिन्छ जुन दिन पुगिन्छ । न यो गन्तव्य टाढा छ न त यो नजिक छ । जुन दिन मनको चाहा र बिचार सकिन्छ मलाई लाग्छ त्यसै दिन गन्तव्य पनि हराऊ छ । अनि पुग्ने बिलाऊ छ पुगिने भित्र जसरी बरफ पानीमा हराऊ छ ।

मैले काठमाण्डौमा रहँदा जीवनको पिडादायीक अवस्थामा संर्घष गरिरहेको थिए। यसै बेला एक जना मित्रबाट विपश्यनाको १० दिवसिय शिविरमा भाग लिने सल्लाह पाए सन १९९३ मा । त्यही बेला पुज्युगुरु सत्यनारायण गोयन्काज्यु काठमाण्डौमा आउनु भएको रहेछ र मैले उहाँको उपस्थिति रहेको शिविरमा दीक्षा ग्रहण गर्ने अवसर पाए । त्यसपछि तिन वटा शिविर लिए । सती पठन लिन्छु भन्ने समयमा १९९८ मा म न्युर्योक आए । अनि निरन्तर यो साधना गरी रहे र यहाँ पनि एउटा शिविर लिए ।

मलाई सत्तिपठन लिन नपाएकोमा केही पुगेन जस्तो लागेको थियो । किनकि मन्त्र, चक्र र कुण्डलीनी जस्ता प्रकृयाहरुलाई विपश्यना भित्र प्रयोग गर्दा के होला ? भन्ने जिज्ञासा जाग्दथ्यो । यही बिच न्युर्योकमा स्वामी बालकृष्ण काठमाण्डौबाट आउनु भो । उहाँको लागि कार्यक्रम गरियो । उहाँको सुन्दा मलाई लाग्यो मैले खोजेको जस्तै गुरु पाए । सायद धेरैले त्यस बेला ऊहासंग दीक्षा लिएनन् । मैले पनि त्यो वर्ष लिइन । किनकि केही साधक साथीहरूले उहाँको उचाइ र औरामा शङ्का उठाए । अर्को बर्षपनि ऊहा न्युर्योक आउनु भो । र मलाई भन्नु भो साधना गर्ने शिष्यहरू हुदैनन । किनकि मान्छेलाई केही नगरी चमत्कारी परिणाम दिने गुरु चाहिन्छ ।

उहाँले भनाइलाई निरन्तरता दिँदै भन्नु भो मलाई लागेको त्यो तपाईँ एकजनाले यो साधनाको दीक्षा लिनुहोला भनेर न्युर्योक पसेको हु। उहाँले विपश्यना साधनाको चर्चा गर्दै आफ्नो जीवनका घटेका चमत्कारीक घटनाहरू सुनाउनु भो । बुद्धको देहावसान पछि त्यही धर्मका अनुयाहीहरुले महायान, हिनयान र बज्रयान आदि शाखाहरू बनाएको अनि ती शाखामा ध्यानसँगै मन्त्र तन्त्रको प्रयोग हुने गरेको दृष्टान्त दिँदै त्यो सम्प्रदायमा प्रचलित अतियोगको अध्ययन गर्ने सुझाब दिँदै आफुद्धारा गरिएको साधना वैदीक धर्ममा आधारित रहेको जानकारी दिनु भो ।

मैले उहाँले भनेका विषयमा अध्ययन गरे । अनि मलाई लाग्यो गुरु मेरै लागि आउनु भएको रहेछ। र दीक्षा लिए । यसपछि पनि गुरु डा. रमानन्द गिरी, आत्मानन्द गिरी, नेपाली बाबा, साईबहिनी र अन्य धेरै गुरुजी घरमै आएर मेरा कतिपय धार्मिक जिज्ञासाहरू मेटाई दिनु भएको छ । शीरडी र पुटृवर्ती जाने सौभाग्य मिलेको छैन । तर साइभक्तहरूको सङ्गत र भजन मण्डलीमा पुगेर साईकृपा पाएको छु। केही साइभक्तहरू त बाबाले सपपनामा तपाईकहा जाऊ भनेर आएको पनि भन्ने गर्नुहुन्छ। मैले जिस्कँदै भन्ने पनि गरेको छु ख्वै मलाई त त्यसो भन्नु भएन। उनीहरूको विश्वासले चिताएको काम पुगेको पनि देखेको छु । किनकि श्रद्धा र सवारीले मान्छेलाई परिणाम दिने हो ।

त्यस्तै रजनिश, सदगुरु, बेन प्रभु, र अन्य गुरुहरू पनि धेरै हुनुहुन्छ। गुरु जीवित वा मृत जो पनि हुन सक्छ। किनकि ऊन्का औराहरु चारैतिर छरिएका छन् । उनीहरूले बोलेका अनि लेखेका आधारबाट महसुस गर्न सकिन्छ । पंडीत श्रीराम शर्माज्यूले यही कुरालाई आफ्ना कृतिहरूमा भन्नु भएको छ। योगीको आत्मकथा आदिमा पनि यस्ता धारणाहरू छन् । मैले राजु जी र पन्थीदाईको सङ्गतबाट यही बसेर गायत्री परिवारसम्म पुग्ने अवसर पाएको छु । मेरो दिनचर्यामा गायत्री मन्त्र अनि योग जोडिएको छ ललित शंकर योगीजीले सिकाई दिएको आसन सँगै । यसरी मलाई आवश्यक परेको बेला व्यक्तिगत वा अन्य माध्यमबाट धेरै गुरुहरूले मार्ग दर्शन गराउनु भएको छ। ऊहाहरु प्रति म आभारी छु ।

मैले कुनै गुरुहरूले भनेका कुरामा विरोधाभास देखेको छुईन। ऊहाहरुले आ आफ्नो भाषामा पानीको परिचय दिनुह्ुन्छ तिर्खा मेटाउनका लागि । शब्द फरक छन् पानी एउटै । पाउने भनेको सुख, शान्ति र आनन्द केवल साधानहरु फरक । हिडने हो भने जुन बाटोबाट गए पनि पुगिन्छ । हेईन भने गुरुले देखाएका बाटाहरूको जानकारी केवल पाण्डीत्यताको लागि मात्र हुन्छन् । मलाई लाग्छ सबै गुरुले भन्न खोजेको विषय एउटै हो जसलाई शब्दले बाँध्न सक्दिन । स्वस्थानीको कथामा भनिएमmै हजार जिब्रा भएको शेषनागले पनि वर्णन गर्न नसक्ने त्यो निराकार र आकारमा रहेको । दिन पक्ष देखिदा रात पक्ष नदेखिने समस्त चैत्यन्य स्वरूपको व्याख्या कुन गुरुले शब्दमा भन्न सक्ला र । कतिपय गुरुजीहरूले धर्ममा विवाद छ भन्नुहुन्छ । तर म शिव, कृष्ण, अष्टाबक्र, बुद्ध, कवि र, महावीर, मोहम्मद, ईशु, साइ, रजनिश, र सदगुरु आदिले धर्मका एसेन्सका बारेमा भनेका कुरामा म कुनै विवाद देख्दिन। सायद यो मेरो अल्पज्ञानको कारणले पनि होला। र विवाद देखिने हदसम्मको ज्ञान पनि ममा नआओस कहिले ।