अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

किन लगाइयो ‘दि भ्वाइस अफ नेपाल’ मा सधैँ एउटै ड्रेस ? यस्तो छ भित्री खुलासा

बिआरटीनेपाल २०७५ भदौ ३१ गते ९:५१ मा प्रकाशित

काठमाडौँ, हाल निकै चर्चामा रहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल कार्यक्रममा एकै किसिमको ड्रेस किन लगाइयो भनेर विभिन्न किसिमको चर्चा बजारमा आइरहेको छ ।

के साँच्चीकै टिभिएस अपाचे दि भ्वाइस अफ नेपालका निर्णायकहरू र कार्यक्रमका होस्टेल खर्च घटाउनका लागि नै एउटै ड्रेस पटक पटक लगाएका हुन् त ? यो प्रश्न हरेक नेपालीले गरिरहेका छन् । यही विषयमा कार्यक्रमका होस्ट सुशील नेपालले एउटै ड्रेसको बारेमा मिडियाहरूमा नयाँ खुलासा गरेका छन् ।

उनले कार्यक्रमको अवधिमा अरू ड्रेस नभएर वा खर्च घटाउन नभई कार्यक्रमको थिमअनुसार नै भएको खुलासा गरेका हुन् । उनका अनुसार टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल कार्यक्रमको तोकिएको एपिसोडमा एउटै प्रकारको ड्रेस लगाउनु पर्नेछ ।

‘ड्रेसको बारेमा बजारमा धेरै हल्ला आएका छन् तर कार्यक्रम अन्तराष्ट्रियस्तरको भएको हुँदा गुणस्तर कायम गर्न एउटै किसिमको ड्रेस लगाएका हौँ, हामीले अहिलेको ब्लाइण्ड अडिसन राउण्डभर एउटै ड्रेस लगाउने छौँ भने यसपछिको ब्याटल राउण्डमा पनि त्यस्तै एकै प्रकारको ड्रेस लगाउने छौँ,’ उनले भने ।

उनका अनुसार यसको लागि छुट्टै कस्ट्यूम डिजाइनर राखिएको छ र उसले एकै प्रकारको सयौँ ड्रेस उपलब्ध गराउँछ । ड्रेस छनौटमा पनि निकै लगानी र मेहनत गरेको उनले जानकारी दिए ।

पछिल्लो दिनहरूमा हरेक नयाँ एपिसोड प्रसारणसँगै दर्शकहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको र कार्यक्रममा रोचकता दिन सफल भएको उनको भनाई छ ।

टिभिएस अपाचे दि भ्वाइस अफ नेपालमा शनिवारको एपिसोडमा पनि प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । जसमा केही प्रतियोगीहरू निर्णायकको छनौटमा पर्न सफल भए र उनीहरूले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये एक हुन बर्ता गन्धर्व, जो पहिलो महिला सारंगीवादक हुन, आफ्नो गायनकलाले सबै निर्णायकहरूलाई मन्त्रमुग्ध पारेकी उनलाई प्रमोद खरेलले आफ्नो पोल्टा पारे । हाल चलिरहेको ब्लाइण्ड अडिसनबाट कुल ४८ जना ब्याटल राउण्डमा प्रवेश गर्नेछन् जसमा प्रतियोगीहरूले एक आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

अहिले चलिरहेको ब्लाइण्ड अडिसनबाट दीप श्रेष्ठ, सनुप पौडेल, अभय सुब्बा र प्रमोद खरेल मध्ये कसको टिम सशक्त र उत्कृष्ट हुन्छ भन्ने थाहा पाउन अझै केही कुर्नुपर्ने हुन्छ ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रूपमा सञ्चालन भइरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गीत सङ्गीतको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ । फोटो: WAVE

प्रतिक्रिया