अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

कोलोराडोमा हाजिरीजवाफ अभियानको चौथो शृङ्खला सम्पन्न

बिआरटीनेपाल २०७५ असार १७ गते १५:१० मा प्रकाशित

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालद्वारा कोलोराडोमा रहेका मिडल स्कुल स्तरका नेपाली बालबालिकाका लागि लक्षित गरी सञ्चालन हुँदै आएको प्रतियोगितात्मक हाजिरीजवाफ अभियानको चौथो शृङ्खला हिजो जुन ३० तारिख शनिवारका दिन ब्रूम्फिल्ड लाइब्रेरीमा सम्पन्न भएको छ । परिक्षणको रूपमा सञ्चालित पहिलो चरणको यो शृङ्खलामा बुद्ध , लालीगुराँस, पशुपति, सगरमाथा र देवकोटा गरी ५ समूहमा कक्षा ६ देखि ८ सम्म अध्यनरत २० बालबालिका प्रतियोगी छन् । चौथो चरण सम्म आइपुग्दा बुद्धको २८०, लालीगुराँसको ३७५, पशुपतिको ३२५, सगरमाथाको २७० र देवकोटाको ४१५ स्कोर रहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष श्री पदम विश्वकर्माको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष विनोद त्रिपाठीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संयोजक आकाश राईले गर्नुभएको थियो । आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि श्री विश्वकर्माले अत्यन्त उत्साहित रूपमा सहभागी सम्पूर्ण बालबालिकाहरूलाई धन्यवाद दिदैं कार्यक्रमको निरन्तरताको लागि शुभकामना दिनुभयो ।

यो क्विज़ क्याम्पेनको सम्पूर्ण प्रारूप विद्वान द्वय डा. विजय राज शर्मा र मुकुन्द अधिकारीले तयार पार्नु भएको हो । कोअर्डिनेटर आकाश राई रहनु भएको यस कार्यक्रमको क्विज़ मास्टर गीता चक्रबर्ती र डिजाइनर प्रज्ञा गहतराज हुन् ।

“गुरुकुल क्विज़ क्याम्पेन” नाम दिइएको यो अभियानको मुख्य उद्देश्य अमेरिकामा रहेका नेपाली बालबालिकालाई नेपालको इतिहास, भूगोल, संस्कृति आदिको बारेमा खोज, अध्यन, अनुसन्धान गर्न उत्प्रेरित गर्दै निम्नतम जानकारी हासिल गराउनु हो । नेपाली बालबालिका र युवायुवतीहरूमा नेपालीत्वको पहिचान जगाई राख्न रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालले वर्षै भरी विभिन्न कार्यक्रम सञ्चालन गर्दछ ।

प्रतिक्रिया