अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

टेलि श्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजन छिट्टै नै प्रस्तुत हुने

बिआरटीनेपाल २०७५ जेठ २२ गते ९:३२ मा प्रकाशित

सर्च फर कमन ग्राउण्ड – नेपाल (सर्च)ले टेलि श्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजन छिट्टै नै प्रस्तुत गर्दैछ । हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन २ लाई नुमाफुङ चलचित्रबाट प्रसिद्धि कमाएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् ।

लोकप्रिय अभिनेत्री गौरी मल्ललाई फेरि पनि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्‍न सकिनेछ। आशा सिंह एक जनमुखी, बौद्धिक तथा प्रतिबद्ध नेतृ हुन् जसले नयाँ संविधानलाई लागू गर्ने कार्य सफलतापूर्वक सम्पन्‍न गर्नु र सङ्घीय संरचनामा नागरिक र सरकारको सहकार्यलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हो

“प्रधानमन्त्री आशा सिंहले आफ्नो कार्यभार सम्हालेकी छिन्, र यसपालि उनी गठबन्धन सरकारको नेतृत्व गर्दै छिन्”, अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीको शैलीमा भनिन् । आफ्नो भूमिकाकाबारे अझ प्रष्ट्याउँदै उनी भन्छिन्, “सिंहदरबारको दोस्रो श्रृंखलाको अंश बन्न पाउँदा म निकै उत्साहित छु, र त्यो पनि देश साँच्चिकै वृहत् राजनीतिक परिवर्तनको बाटो भएर अगाडि बढिरहेको बेलामा ।

निकै राम्रोसँग अध्ययन र अनुसन्धान गरी तयार पारिएको स्क्रिप्टले नागरिक र नेतृत्वकर्ताहरूका लागि रोडम्यापका रूपमा कार्य गर्नेछ ।” यो  दोस्रो श्रृंखलाले सिंहदरबारको पर्खालभित्र हुने राजनीतिक दृश्यहरूलाई दर्शकसामू ल्याउनेछ र चुनौतीको सामना गर्दै परम्परागत सोच बदलेर  अगाडि बढ्न चाहने एक महिला प्रधानमन्त्रीको राजनीतिक यात्राका आरोह अवरोहहरूलाई उजागर गर्नेछ ।

सर्चले गरेको पछिल्लो सर्वेक्षणका अनुसार ६६.७० लाख दर्शकले सिंहदरबारको पहिलो श्रृंखला हेरेका छन् र ८६% भन्दा धेरैले पहिलो श्रृंखला हेरिसकेपछि देशमा महिला प्रधामन्त्रीलाई स्वीकार गर्न आफू तयार रहेको बताएका छन् । १३ भागको श्रृंखलाले वर्तमान समयको राजनीतिलाई प्रतिबिम्बित गर्दछ र देशलाई सकारात्मक बाटोतर्फ अगाडि बढाउनका लागि अघि सरेकी देशकी पहिलो महिला प्रधानमन्त्रीले सामना गर्नु परेका चुनौतीहरूलाई केलाउने प्रयत्‍न गर्नेछ । यो श्रृंखलाले सङ्घीयता, असल शासन, समावेशीकरण तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका अधिकार जस्ता महत्त्वपूर्ण मुद्दाहरूलाई पनि अगाडि सार्नेछ ।

अमेरिकी सहयोग नियोग (युएसएड)को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड – नेपालले उत्पादन गरेको यो टेलि श्रृंखला यही   प्रसारण गर्ने लक्ष राखिएको छ । श्रृंखलाको दोस्रो सिजनमा कलाकारहरू गौरी मल्ल, रमेश रञ्जन झा, प्रमोद अग्रहरि, हेमन्त चालिसे, आलोक थापा, प्रकाश घिमिरे, बादल भट्ट आदि प्रमुख भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया